रग्बीको सेमिफाइनल समीकरण पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यू-१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया नौ अंकसहित विजेता तथा भारत पाँच अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे ।

समूह ‘बी’ बाट युएइ नौ अंकसाथ विजेता तथा दक्षिण कोरिया सात अंकसाथ उपविजेताको हैसियतले सेमिफाइनलमा पुगे । सेमिफाइनलमा भारतको भेट युएइसँग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ ।

समूह ‘ए’ मा रहेको नेपालले भारतसँगै समान पाँच अंक जोडे पनि स्कोर अन्तरका आधारमा पछि पर्‍यो । नेपालले भारतलाई १२-१० ले पराजित गरेको थियो । नेपाल थाइल्याण्डसँग १५-७ तथा मलेसियासँग ३४-० ले पछि पर्‍यो । पुरुषमा आठ टिम सहभागी छन् ।

नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्याण्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्नेछन् । प्लेटमा नेपालले ताइपेइ तथा थाइल्याण्डले बंगलादेशविरुद्ध खेल्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलाको राउण्ड रोविन लिगमा भारत र थाइल्याण्डले समान तीन-तीन खेल खेल्दै समान सात-सात अंक जोडेका छन् । पाँच टिम सहभागी राउण्ड रोविनमा दुवैको एक-एक खेल बाँकी छ । समान दुई-दुई खेल खेलेका युएइ, नेपाल र मलेसियाको क्रमशः ६ अंक, दुई अंक र दुई अंक रहेको छ । नेपाल थाइल्याण्डसँग ३९-० र युएइसँग ४१-० ले पराजित भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?