कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, विश्वासको मतबारे छलफल हुने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

आज बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट लिने विश्वासको मतबारे निर्णय गर्नेछ ।

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाइसक्नु भएको छ ।

प्रचण्डले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिनुभएको थियो । तर, नेपाली कांग्रेससँग प्रचण्डले नयाँ गठबन्धन बनाएपछि फागुन १३ र १५ गते क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्ड फेरि विश्वासको मत लिन लाग्नुभएको हो ।

वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मतबारे बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बस्ने बताइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच विपक्षी दलको विषयमा विवाद छ । सरकार छाडेपछि एमालेले विपक्षी बेन्चमा बस्ने निर्णय लिइसकेको छ भने सरकारमा सहभागी नहुन्जेल कांग्रेसले पनि विपक्षी बेन्चमै बस्ने अडानमा छ ।

दुई ठूला दलबीचको विवादबीच चैत ५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ । तर, उक्त बैठकमा विपक्षी बेञ्चमा कांग्रेस वा एमाले कुन दल बस्ने भन्नेमा अन्योल छ ।

यस विषयमा पनि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने सरकारमा सहभागी हुन अगाडि नै कांग्रेस सत्ता पक्षको कुर्सीमा बस्नुपर्ने धारणा सार्वजनिक गरिसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?