विराटनगरमा पनि नाडाको विरोध प्रदर्शन

Read Time = 6 mins

विराटनगर । नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन प्रदेश १ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याजदरविरुद्ध विराटनगरमा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको छ । नाडा प्रदेश १ का अध्यक्ष सञ्जयकुमार श्रेष्ठको नेतृत्वमा भएको कार्यक्रममा विराटनगर क्षेत्रलगायत प्रदेश १ मा सञ्चालित विभिन्न अटोमोबाइल्स व्यवसायीको सहभागिता थियो ।

नाडा प्रदेश १ र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बिहीबार एकसाथ काठमाडौंमा र विराटनगरमा संयुक्त विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका क्रममा अटोमोबाइल्स व्यवसायीले हातमा कालोपट्टी, कालो ब्यानर र प्लेकार्ड बोकेर विराटनगरको महेन्द्रचोकमा शान्तिपूर्ण धर्ना दिएका थिए ।

बैंकिङ क्षेत्रको सहयोगबिना अटोमोबाइल्स क्षेत्र चल्नै नसक्ने भएकाले त्यसको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले ७.५ प्रतिशतसम्म ब्याजदर बढाएर १६.५ प्रतिशतसम्म पुर्‍याएको व्यवसायीले गुनासो गरेका थिए । मुलुकको मुख्य आर्थिक क्षेत्र उद्योगधन्दा र व्यवसाय नै धरासायी बनेको बेलामा बैंकिङ क्षेत्र भने अर्बौंको नाफामा रहनु दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ थियो ।

नाडा प्रदेश १ का अध्यक्ष सञ्जयकुमार श्रेष्ठले राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहनरूपमा समीक्षा गर्नुपर्ने र संस्थागत निक्षेपको ब्याजदर चार प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ । कार, जिप र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयात खुला भए पनि एलसी खोली ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनुपर्ने उहाँको भनाइ छ ।

सवारीसाधन आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायी मारमा परेको भन्दै उहाँले नगद मार्जिन पुरानै अवस्थामा ल्याउनुपर्ने र ८० प्रतिशत फाइनान्सिङ बनाउनुपर्ने बताउनुभयो । नाडाका केन्द्रीय उपाध्यक्ष सुवास आचार्यले राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधार नगरे अर्थतन्त्रलाई कसैले जोगाउन नसक्ने भन्दै उद्योगी व्यवसायीको विरोध मत्थर पार्न मात्रै स्प्रेडदरमा सामान्य संशोधन गरिएको आरोप लगाउनुभयो । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्दै स्प्रेडदरलाई ४.४ प्रतिशतबाट चार प्रतिशतमा कायम गरे पनि त्यसले समस्याको समाधान दिन नसक्ने भएकाले स्प्रेडदर कम्तीमा पनि तीन प्रतिशत कायम गर्नुपर्ने उहाँको माग छ ।

नाडाका सचिव मनोजविक्रम शाहले सरकारले गाडी आयात गर्न दिने निर्णय गरे पनि प्रतिबन्धअघि लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने बताउनुभयो । सरकारले गाडी आयात खुलाए पनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने उहाँको भनाइ छ ।

राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मार्गदर्शन २०७९ तत्कालका लागि स्थगित गर्नुपर्ने, शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतितपत्र खोल्नुपर्ने व्यवस्था पहिलेकै अवस्थामा ल्याउनुपर्ने, बैंकको तरलता अभाव सहज बनाउन सिडी रेसियो पुनरावलोकन गर्नुपर्ने, बैंकबाट सवारीसाधनको हायर पर्चेज कर्जा स्वीकृतिपछि जारी गरिने डेलिभरी अर्डर(डिओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने, बैंकबाट निजी सवारीसाधनको हायर पर्चेज कर्जा प्रवाह प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशत कायम गरिनुपर्ने, पुनर्कर्जा नवीकरण गर्ने म्याद एक वर्ष थप गरिनुपर्ने, कोरोना तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्नेलगायत नाडाको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?