अन्धकार अधिकारी चौरमा बल्यो केन्द्रीय लाइन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । अधिकारीचौर गाउँमा विद्युत पुगेको १४ वर्ष अगाडि विद्युत पुगेको थियो । बुढाथोक लघु जलविद्युत आयोजनाबाट सुरु–सुरुमा उज्यालो पाएका स्थानीयले वर्षौंदेखि खर्बाको समयमा अन्धकारमा बस्दै आएका थिए । हिउँदमा मर्मत गर्ने र बर्खामा भूजीखोलाले हाड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए । अधिकांश रातहरु अँध्यारोमा बिताएका स्थानीयले अब त्यो नियती भोग्नु पर्ने छैन ।

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्क लगायतका गाउँहरुमा केन्द्रीय प्रशारण लाइन बिस्तार गरेको छ । गाउँमा केन्द्रीय लाइन बल्न थालेपछि स्थानीय दंग परेका छन् । वि.सं. २०६५ सालमा बुढाथोक लघु जलविद्युत आयोजना संचालनमा आएपछि गाउँमा विद्युत त पुगेको थियो तर बाह्रै महिना बाल्न भने स्थानीयले पाएका थिएन् । केन्द्रीय विद्युत जडान भइसकेको हुँदा अब बर्खामा पनि बिजुली बत्ति बाल्न पाइने स्थानीय शालिकराम कँडेल बताउनुहुन्छ ।

विद्युत प्राधिकरणको तीन महिनादेखि लगातारको प्रयासले गाउँमा केन्द्रीय लाइन आइपुगेको कँडेल बताउनुहुन्छ । उहाँले स्थानीय हाइड्रोपावर हरेक वर्ष बाढीले बगाउँदा आफूहरु अन्धकारमा बस्न बाध्य भएको सुनाउनुभयो । कँडेलले पटक–पटक बाढीले नहर तथा विद्युत गृह बगाउँदा यस क्षेत्रका हजारौँ नागरिकहरुले वर्षौँदेखि दुःख पाएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ– “हिउँदभरी बनाउन लाग्थ्यो, बर्खा लागेपछि बगाई दिन्थ्यो, अब त बढीले बगाउला भन्न पनि परेन, ठूलै मेसिनहरु चलाउँदा पावर नपुग्दा भन्न पनि परेन, अब त गाउँमा पनि केन्द्रीय लाइन आयो, हामीहरुलाई धेरै खुसी लागेको छ, अब अँध्यारोमा टुकी, दियालो बालेर बस्न पर्ने छैन, कहिले काँही बिग्रिने कुरा त स्वभाविकनै भयो ।”

गत असोजमा आएको बाढीले ६० किलोवाटको बुढाथोक लघुजल विद्युत आयोजनाको नहरसहित टंकीमा ठूलो क्षति पु¥याएको थियो । केन्द्रीय लाइनले स्थानीयलाई अँध्यारोबाट उज्यालोमा फर्काइको बुढाथोक लघुजल विद्युत आयोजनाका अध्यक्ष नरेन्द्र कुँवरले बताउनुभयो । उहाँले भूजीखोलाले वर्षेनी विद्युत नरह तथा गृहमा क्षति पु¥याउँमा स्थानीय अन्धकारमा बस्न बाध्य हुनुका साथै लाखौँको नोक्सान हुने गरेको बताउनुभयो ।

“यो जलविद्युत आयोजना संचालनमा आएको चौध वर्षभन्दा बढी भयो, धेरै मेहनत र दुःखले घरघरमा बिजुली पुगेको थियो, तर बाढी पहिरोले हैरान बनायो, असोजमा पनि पहिरोले नहर र ट्याङ्कीमा ठूलो क्षति पु¥यायो, अहिले मर्मत गरि रहेका छौँ,” अध्यक्ष कुँवरले भन्नुभयो– “अब धेरै सहज हुने भयो, गाउँमा बर्खामा पनि बिजुली बल्नेभयो, अब जनताले दुःख पाउने छैनन्, यो लघु जलविद्युत पनि निर्माण भइरहेको छ, अब केही समयमै संचालनमा आउने छ ।”

स्थानीय शिवराज कँडेलले स्थानीय हाइड्रोपावर समय–समयमा बिग्रँदा साना तथा मझौला उद्योगीहरु समस्यामा पर्ने भन्दै अब उनीहरुलाई ठूलो राहत मिल्ने बताउनुहन्छ । झण्डै तीन महिनादेखि अन्धकारमा रहेका अधिकारीचौर क्षेत्रका हजारौँ नागरिक केन्द्रीय लाइनले घर उज्यालो बनाउँदा खुसी बनेको कँडेलको भनाई छ ।

“हामीहरु स्थानीय विद्युतको भरमा वर्षौँदेखि अलमलियौँ, कहिले बल्छ, कहिले जान्छ, धेरै दुःख पाएका थियौँ, गाउँमा विद्युत नहुँदा यस ठाउँका नागरिकहरु अन्धकारमा बस्नुका साथै सूचना संचारको पहुँचबाट महिनौँ टाढा हुनु परेको थियो” कँडेल भन्नुहुन्छ– “अब त्यो समस्या पूर्ण रुपमा हट्नेमा हामीहरु विश्वस्त छौँ, अब एउटा मोबाइ चार्ज गर्न घण्टौँ टाढा पुग्नु पर्ने अवस्था हट्ने छ, गाउँमा कुटानी पिसानी गर्न पाइने छ ।”
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले यहाँका नागरिक महिनौँदेखि अन्धकारमा बस्दै आएको हुँदा तत्काल यहाँको समस्या समाधान गरेको बताउनुभयो । उहाँले अधिकारीचौ, भैँसीखर्क, नाथुरीमा विद्युत बलिसकेको भन्दै प्याङ्खोला, मस्ती, चौर लगायतका ठाउँमा जडान भइरहेको बताउनुभयो ।

यी गाउँहरुमा पनि केही दिनमै केन्द्रीय लाइन बल्ने मरासेनी बताउनुहुन्छ । यहाँ विद्युत बिस्तार गर्दा ५० लाख बढी खर्च भइसकेको उहाँको भनाई छ । यस वर्ष बागलुङमा विद्युत प्राधिकरणबाट एक करोड र नेपाल सरकारबाट ९३ लाख विनियोजन भएको भन्दै जिल्लाको सबै ठाउँमा काम तीव्र रुपमा भइरहेको मरासेनी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो– “यस क्षेत्रमा मात्रै होइन, जिल्लाभर काम भएको छ, जिल्ला सदरमुकाम तिरको भेगमा विद्युतीकरण भइसकेको छ भने अब पश्चिम बागलुङमा मात्रै विद्युत विस्तार गर्न बाँकी छ, यस क्षेत्रमा पनि पर्याप्त बजेट प¥यो भने आगामी दुई वर्ष भित्रमा विद्युतीकरण भइ सक्ने छ, हामीहरु त्यो हिसाबले काम गरि रहेका छौँ ।”

उहाँले अहिले अधिकारीचौर क्षेत्रमा काम भइरहेको भन्दै केही हप्ता अगाडि मात्रै यहाँको २५० घरमा केन्द्रीय लाइन बलेको जानकारी दिनुभयो । पश्चिम बागलुङका लागि गलकोटमा सभ स्टेशन निमार्ण गरेर सुचारु गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सभ स्टेशन निर्माण भइरहको बताउनुभयो । यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पु¥याउने गरि काम तीव्र गरिमा गरि रहेको उहाँको भनाई छ ।

गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले यस क्षेत्रमा केन्द्रीय प्रशारण लाइन बिस्तारका लागि आफू विगतदेखि लागेको बताउनुभयो । भौगोलिक विकटताका कारण यतिका समयसम्म निसी, भूजी र तमान क्षेत्रमा विद्यतीकरणका लागि आफूले पटक–पटक मन्त्रालय तथा प्राधिकरणका निर्देशकसँग आग्रह गर्दै आएको बताउनुभयो । अहिले गाउँमा केन्द्रीय लाइन बल्न थालेपछि यहाँका नागरिकमा खुसी छाएको बताउनुभयो । दूर दराजका गाउँहरुमा विद्युत पु¥याउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?