एउटै निर्वाचन क्षेत्रबाट तीन महिला प्रतिनिधिसभामा

हिमालय टाइम्स
Read Time = 5 mins

यज्ञराज जोशी/हिटा
धनगढी । कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभामा तीनजना महिलाहरूले प्रतिनिधित्व गर्ने भएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलालाई नै जिताएको यस क्षेत्रका नागरिकले आफ्नो प्रतिनिधिको रूपमा प्रतिनिधिसभामा समानुपातिकका रूपमा थप दुई महिला पनि पाएका छन् । यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुनुभएको थियो । यस्तै, समानुपातिकतर्फबाट नेकपा माओवादी केन्द्रले रूपा स्वसी चौधरी र नेपाली कांग्रेसले ईश्वरी न्यौपानलाई यस क्षेत्रमा प्रतिनिधिसभामा पठाउने भएको छ ।

प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवै जनाले यसअघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिई सक्नुभएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्लो महिला हुनुहुन्छ ।

समानुपातिकतर्फ सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा प्रमुख दलमध्ये नेपाली कांग्रेसले डा. आरजू राणा देउवा (डडेल्धुरा) र ईश्वरी न्यौपाने (कैलाली) र माओवादीले स्वसी चौधरीलाई (कैलाली)बाट सिफारिस गरेको छ ।

अर्को प्रमुख दल एमालेबाट भने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सुदूरपश्चिमबाट महिलाको सिफारिस शून्य रहेको छ । एमालेबाट प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार रहेका गौरी ओली, डोटी र निरुदेवी पाल, कञ्चनपुरबाट पराजित हुनुभएको थियो । यसअघि संविधानसभाको सदस्य रहिसक्नु भएकी कांग्रेस नेत्री राणा हाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

यस्तै, संविधानसभा सदस्य रहनुभएकी कांग्रेस नेत्री न्यौपाने भने २०७४ को निर्वाचनमा कैलाली-१ बाट प्रत्यक्ष निर्वाचनमा पराजित हुनुभएको थियो । माओवादी केन्द्रकी रूपा स्वसी पहिलो संविधानसभा सदस्यमा सोही क्षेत्रको प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट प्रत्यक्ष चुनावमा निर्वाचित रेशमलाल चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरी कारावासको फैसला सुनाएपछि सो क्षेत्रका जनताले सांसदविहीनताको महसुस गरेका थिए ।

हालै सम्पन्न निर्वाचनबाट भने क्षेत्र नं १ ले प्रतिनिसभामा तीनजना सशक्त महिलाको उपस्थिति देखिएको छ । आ-आफ्नो पार्टीभित्र प्रभावशाली नेताका रूपमा हेरिने तीनै जना महिला एकैपटक, एकसाथ संघीय संसद्मा चुनिँदा यस क्षेत्रको विकास, महिला सशक्तिकरण, सामाजिक रूपान्तरणमा टेवा पुग्ने विश्लेषण गरिन थालिएको छ । ‘पाँच वर्ष जनप्रतिनिधिविहीन जस्तै रहेको क्षेत्र नं १ मा एकैपटक तीनजना सशक्त महिला प्रतिनिधिसभामा पुग्नुलाई उपलब्धि मान्न सकिन्छ,’ नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले भन्नुहुन्छ ।

सुदूरपश्चिम प्रदेशबाट यसपटक प्रतिनिधिसभामा २० जना सांसद बन्ने भएका छन् । राजनीतिक दलहरूले समानुपातिकतर्फ निर्वाचन प्रणालीबाट चार जनालाई प्रतिनिधिसभा सदस्यमा चयन गरेपछि २० जनाको संख्या पुगेको हो । सुदूरपश्चिम प्रदेशबाट पहिलो हुने निर्वाचन प्रणालीमार्फत १६ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । दलहरूले आफ्नो भागमा परेको सिटअनुसार समानुपातिक तर्फबाट सांसद बन्नेहरूको सूची निर्वाचन आयोगमा बुझाइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?