अतिक्रमण गरिएका सडक तथा फुटपाथ खाली गराउँदै नगरप्रमुख साह

बाराको सदरमुकाम कलैया स्थित कलैया बजारको सडक तथा फुटपाथ खाली गराउँदै नगरप्रमुख विनोद प्रसाद साह । तस्बिरः सञ्जिवकुमार मिश्र

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । लामो समय देखि कलैया बजार क्षेत्रका सडकहरु अतिक्रमणका चपेटामा परेर साँगुरिएको थियो । सडक साँगुरिदा सर्वसाधारणहरुलाई किनमेल र आवत जावत गर्न समस्या हुँदै आएको थियो । कलैया बजार क्षेत्रको सडक अतिक्रमणमा परेको गुनासाहरु बढेपछि कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साह सडक र फुटपाथ अतिक्रमण खाली गराउन मंगलबार सरसफाईकर्मीसँगै आफू पनि लाग्नुभयाे ।

सडक तथा फुटपाथ अतिक्रमण खाली गराउँदा कतिपय ठाउँमा विवादको समेत सामना गर्नु परेको नगरप्रमुख साहले बताउनुभयो । काम गर्ने क्रममा साना तिना समस्या तथा विवादहरु आउनु स्वभाविक हो, उहाँले भन्नुभयो,‘हामीले कसैको निजी सम्पति खाली गराएका होइनौ । निजी सम्पति पनि लिन खोजेका होइनौ तर सर्वसाधारणलाई आवत जावत गर्नका लागि बनाइएको सडक फुटपाथ अतिक्रमण गरी व्यापारीहरुले मनोमानी गरेको कारण बाध्य भएर खाली गराउनु परेको छ ।' पटक पटक लिखित तथा मौखिक रुपमा समेत सूचना प्रवाह गरी फुटपाथ तथा सडक अतिक्रमण नगर्न नगराउन आग्रह गर्दा समेत ब्यापारीहरुले अटेरी गरेको कारण सरसफाईकर्मी लिएर आफै सडक तथा फुटपाथ खाली गराउन आएको उहाँले बताउनुभयो ।

कलैया बजारको सडक र फुटपाथ मात्र होइन बजार भित्र आउन जानको लागि बनाइएको बाटो समेत व्यापारीहरुले अतिक्रमण गरेर व्यापार व्यवसाय संचालन गरेको कारण खाली गराउनु परेको उहाँले बताउनुभयो ।

आफ्नो निहित स्वार्थको लागि र दुई चार पैसा कमाउनको लागि नगरवासी तथा सर्वसाधारणहरुलाई दुःख दिने यहाँका व्यापारीहरुको नियति बनिसकेको छ । हामी सडक फुटपाथ खाली गराउँछौं उहाँले भननुभयो,‘तर खाली गराएको एक दुई दिनसम्म ठीक रहन्छ । त्यसपछि फेरि जस्ताको त्यस्तै । कम से कम व्यापारीहरुले पनि आफूले पाएको ठाउँ भित्र बसिदिने हो भने यो समस्या नै आउने थिएन ।'

विशेष गरि ब्यापारीहरुले पाउने शेड भित्र बस्नु पर्नेमा त्यसो नगरी शेड वरिवरि रहेको बाटो समेत अतिक्रमण गरि व्यापार व्यवसाय संचालन गर्ने गरेको कारण नगरवासीहरुलाई किनमेल गर्न र आवत जावतमा समेत समस्या हुँदै आएको छ । हरेक व्यापारी व्यवसायीले आफूले पाएको शेड वा ठाउँको परिधि भित्र रही आफनो व्यापार व्यवसाय संचालन गर्न उहाँले अनुरोध गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?