बीमा दाबी भुक्तानी पनि शाखाबाटै गर्न निर्देशन

Read Time = 2 mins

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी पनि प्रदेश तथा शाखा कार्यालयबाटै गर्न बीमा कम्पनीलाई निर्देशन दिनुभएको छ । सोमबार वीरगञ्जमा आयोजित बीमासम्बन्धी अन्तरक्रियामा उहाँले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्या बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने दाबी गर्दै ऐनले प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेकाले बीमासम्बन्धी सबै विषयमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरूले निर्जीवन बीमाअन्तर्गत बालबालिकाको बीमामा समस्या देखिएकाले जीवन बीमालेख निर्देशिका २०७८ संशोधन गर्नुपर्ने, बैंकहरूले मुद्दती खातामा लगानी गरेपछि मात्र बीमा व्यवसाय बीमकलाई दिने व्यवस्थाले गर्दा बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयलाई पर्याप्त अधिकार प्रत्यायोजन नभएको, बीमा अभिकर्ताका लागि तालिमको व्यवस्था नभएको, सरकारी निकायले बीमा प्रयोजनका लागि कागजात दिन आनाकानी गर्ने गरेको, कृषि बीमाको सिफारिस लिँदा झमेला हुने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुंगेल (अधिकारी) तथा प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?