विश्वकप उपाधि जित्ने सपनाको नजिक मेस्सी

Read Time = 9 mins

दोहा । अर्जेन्टिना कतारमा जारी २२औँ फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राती भएको पहिलो सेमिफाइनल खेलमा साबिक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौँपटक हो । सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो । अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गर्नुभयो । अर्जेन्टिनाले ३४औँ मिनेटमा पेनाल्टी गोलमार्फत् सुरुवाती अग्रता लिएको थियो ।

मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको उत्साह जगाउनुभयो । डिबक्सभित्र क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले अल्भारेजलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गर्नुभयो ।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११औँ गोल हो । मेस्सीले यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोड्नुभएको हो ।

जारी विश्वकपमा पाँच गोल गर्नुभएका मेस्सी गोल्डेन बुटको समेत दौडमा हुनुहुन्छ । मेस्सीसँगै गोल्डेन बुटको दौडमा रहनुभएका फ्रान्सका युवास्टार केलियन एमबाप्पे पाँच र ओलिभर गिरोडले चार गोल गर्नुभएको छ ।

पाँचौँपटक विश्वकप खेलिरहनुभएका मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडी जर्मनीका पूर्वमिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमानसमेत बराबरी गर्नुभएको छ ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाका लागि अल्भारेजले ३९औँ मिनेटमा गोल गर्दै टोलीको अगता दोब्बर बनाउनुभयो । उहाँले काउन्टर प्रहारमा क्रोएसियाका रक्षकलाई छल्दै जाली चुमाउनुभएको थियो ।

त्यसपछि ६९औँ मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई सजिलै फाइनलमा लग्नुभयो । उहाँले दोस्रो गोल मेस्सीको पासमा गर्नुभएको हो । बल पोसेसनमा अब्बल देखिएको क्रोएसियाले गोल फर्काउन भने सकेन ।

पहिलो हाफमा आक्रामक देखिएको क्रोएसिया अर्जेन्टिनाको पेनाल्टी गोलपछि दबाबमा रहृयो । ६१ प्रतिशत बल पोसेसन राखेको क्रोएसियाले अन्ततः गोलरहित हार खेप्यो । साबिक उपविजेता क्रोएसियाको दोस्रोपटक फाइनल पुग्ने लक्ष्य सफल भएन ।

‘जारी विश्वकप मेरो अन्तिम यात्रा हुनेछ’
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने बताउनुभएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएपछि मेसीको सो भनाइ आएको हो । मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भन्नुभएको छ, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु ।’

अर्को विश्वकपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उहाँले बताउनुभएको छ । ‘अर्कोका लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु । यसरी समाप्त गर्न यो सबैभन्दा राम्रो हो,’ उहाँले भन्नुभएको छ । ‘हामी कठिन परिस्थितिहरूबाट गुज्र्यौं । आज हामी केही शानदार अनुभव गरिरहेका छौँ’, उहाँले भन्नुभएको छ ।

विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने अर्जेन्टिनी खेलाडीमा मेस्सी
अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले विश्वकपमा ११ गोल गर्दै कीर्तिमान बनाउनुभएको छ । उहाँले अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनुभएको हो । पाँचौँपटक विश्वकप खेलिरहनुभएका मेस्सीले कतार विश्वकपमा मात्रै पाँच गोल गरिसक्नुभएको छ, जुन फ्रान्सका फरवार्ड एम्बापेसँग बराबरी हो ।

गोल्डेन बुटको दाबेदारमा मेस्सी, एम्बाप्पे र जिरुड
कतार विश्वकपमा गोल्डेन बुटको दाबेदारमा लियोनल मेस्सी, केलियन एम्बाप्पे र ओलिभर जिरुड दौडमा रहनुभएको छ । फ्रान्सका एम्बाप्पे अर्जेन्टिनाका मेस्सी र फ्रान्सकै जिरुड यो दौडमा हुनुहुन्छ । कतार विश्वकप सुरु हुनुअघि विश्व चर्चित एक दर्जन खेलाडीलाई गोल्डेन बुटको दाबेदारका रूपमा हेरिएको थियो ।

समूह चरणका खेल सकिँदासम्म पनि पोर्चुगलका ब्रुनो फर्नान्डेजदेखि स्पेनका अल्भारो मोराटासम्म गोल्डेन बुटको दौडमा हुनुहुन्थ्यो । तर, अहिलेसम्म आइपुग्दा प्रमुख तीन खेलाडीमात्र यसका दाबेदार देखिनुभएको छ । अघिल्लो संस्करणको विश्वकपमा इंग्ल्याण्डका कप्तान हृयारी केनले गोल्डेन बुट जित्नुभएको थियो ।

विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन् । गोल संख्या बराबर भए पेनाल्टी सुटआउटमा गोल गरेका अथवा गोलको अवसर सिर्जना गरेका आधारमा दिइनेछ ।

रोनाल्डोले तत्काल सन्यास नलिने
पोर्चुगलका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने हुनुभएको छ । कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोको सन्यास घोषणा आउने अनुमान गरिएको थियो ।

पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग १-० गोलले पराजित भएको थियो । रोनाल्डोले २०२४ को युरोकप खेल्ने विश्वास लिनुभएको छ । रोनाल्डोले पोर्चुगलका लागि १९६ खेलमा ११८ गोल गर्नुभएको छ । रोनाल्डो हाल क्लबविहीन हुनुहुन्छ । म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डो फ्री एजेन्टमा रहनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?