आयुशको अपराजित यात्रा कायमै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका आयुशमान हजुर घले २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को ब्वाइज सिंगल्सको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा अपराजित यात्रालाई कायम राख्दै क्वाटरफाइनलमा आयुशले हङकङका यु हिन वोङलाई ६-१ र ६-२ को सोझो सेटमा पराजित गर्नुभयो । सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी हुनुहुन्थ्यो । बाँकी ६ को चुनौती सकिएको छ ।

ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले यमनका हमुद इयादलाई ६-३ र ६-३, भारतका सिद्धार्थ जिबुले बंगलादेशका मोहम्मद अलिफ होसेनलाई ६-१ र ६-१ तथा भारतका भिभान मिर्धाले हङकङका चुन हेइ काइसन फुङलाई ६-० र ६-४ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो ।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा शीर्ष तीन स्थानको पदक नेपाली खेलाडीले निश्चित गर्नुभएको छ । चारै खेलाडी सेमिफाइनल पुगेसँगै नेपालको शीर्ष तीन स्थानको पदक पक्का भएको हो । क्वाटरफाइनलमा चारै नेपाली खेलाडीले भारतीय खेलाडीलाई पाखा लगाए । नेपालबाट आठ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेकोमा चार बाहिरिसके ।

प्रशंसा मोक्तानले प्रेरणा सन्ट्रालाई ६-० र ६-०, शिभाली गुरुङले तनिशा भत्नागरलाई ७-५ र ६-३, आद्या पौडेलले सान्भी रेडी भ्युन्द्यालालाई ६-३, १-६ र ७-६(३) तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६-४ र ६-४ को सेटमा पाखा लगाउनुभयो । सेमिफाइनलमा प्रशंसाको भेट शिभालीसँग हुनेछ भने आद्याले स्वस्तिकाविरुद्ध खेल्नुहुनेछ ।

ब्वाइज डबल्समा बंगलादेशका अलिफ होसेन र मुन तुसार, हङकङका फुङ र छियोङ मोरिस ताङ, भारतका सिद्धार्थ र भिभान, भारतकै सञ्जय गिरिश र किशोर श्रीराम तथा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुदले क्वाटरफाइनलमा स्थान पक्का गर्नुभयो ।

गल्र्स डबल्समा नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडीले नेपालकी प्राज्ना मानन्धर र अमेरिकाकी नाला जोस्फिल मास्केलाई ६-१ र ७-५ ले पन्छ्याउँदै फाइनलमा पुग्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?