बालबालिकामा आत्महत्या दर विकराल

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर विकराल रहेका देखिन्छ । कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका ११९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् ।

आर्थिक वर्ष २०७/७७ मा ३५ जना, आर्थिक वर्ष ०७७/७८ मा ४१ र ०७८/७९ मा ३५ र चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म आठजना बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठअनुसार बालबालिकामा अत्महत्या दर डरलाग्दो भएकाले यसको न्यूनीकरणका लागि सबै सचेत हुनुपर्ने छ । यसतर्फ अभिभावक र सरोकारवाला सचेत रहनु पर्नेमा जोड रहेको छ ।

बालबालिकामा आत्महत्या बढ्नुको कारण सामाजिक सञ्जाल, लागुऔषध दुव्र्यसनी, पारिवारिक कलह, कतिपय चाहेको कुरासमेत नपाउँदा आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको मनोविमर्शकर्ता बताउँछन् । आवाज संस्थाका अनुसार बालबालिकामा उमेर बढ्दै जाँदा शारीरिकसँगै मानसिक रूपमा पनि सोच परिवर्तन हुँदै जान्छ । यसको सकारात्मक र नकारात्मक प्रभावले सही गलत छुट्टाउन नसक्दा र आफ्ना कुरा अरूसमक्ष राख्न नसक्दा आत्महत्या रोज्ने गरेको पाइएको छ ।

बालबालिकामा पारिवारिक अवस्थाले पनि असर गरेको, बालबालिकाले आफ्ना कुरा भन्न नपाउँदा, बुझ्ने र संरक्षण गर्ने अभिभावक नहुँदा आत्महत्याको बाटो रोज्ने गरेको पनि अर्को कारण रहेको छ । विद्यालयमा बालबालिकाका कुरा सुन्ने, समस्या पहिचान गरेर मनका कुरा राख्ने गोप्य र सुरक्षित वातावरण सिर्जना गर्नुपर्नेतर्फ पनि सचेत हुनुपर्ने भएको छ ।

आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । बालकको तुलनामा पनि आत्महत्या गर्नेमा बालिकाको संख्या बढी छ । प्रहरीको तथ्यांकअनुसार तीन वर्षको अवधिमा ५१ जना बालकले आत्महत्या गर्दा ६८ जना बालिकाले आत्महत्या गरेका छन् । प्रत्येक वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्ने बालकको भन्दा बालिकाको संख्या बढिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?