६९ वर्ष पुरानो क्याम्पस जीर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

विवेक खड्का/हिटा
दाङ । ६९ वर्ष पुरानो दाङको महेन्द्र बहुमुखी क्याम्पस दाङको भवन जीर्ण अवस्थामा पुगेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको क्याम्पसको अधिकांश भवनहरू जीर्ण भएका छन् । कक्षा कोठाका भित्ता चर्किएका छन् भने झ्यालहरूमा टुटफुट भएका छन् । क्याम्पस प्रशासनका भवनदेखि विद्यार्थी पढ्ने भवनहरू जीर्ण भएका छन् । वैकल्पिक भवन नहुँदा तिनै जीर्ण भवनमा पठनपाठन भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । ‘२०१५ माघ ९ गते क्याम्पस स्थापना भयो’-क्याम्पस प्रशासन प्रमुख अनन्त पुनले भन्नुभयो, ‘क्याम्पस स्थापना भएपछि २०१६ मा भवन निर्माण भएको थियो त्यसपछि केही भवन बने पनि विद्यार्थीको चापले नयाँ भवनमा विद्यार्थीलाई समेट्न सकिएन, त्यही भएर अहिले पनि पुरानै भवनमा विद्यार्थी पढ्न बाध्यछन् ।’

क्याम्पसको भवन मर्मतसम्भार र नयाँ भवनका लागि पटक-पटक शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयलाई भनिए पनि सुनाइ नभएको क्याम्पसको दाबी छ । अहिले संघीय सरकारको सहयोगमा एउटा एकतले भवन त बनेको छ, तर त्यसमा सबै विद्यार्थीलाई राख्न नसकिने अवस्था छ ।

‘नयाँ भवन निर्माणको लागि प्रपोजल पेश गर्ने तयारीमा छौँ’- प्रशासन प्रमुख पुनले भन्नुभयो, ‘आशा गरौँ यसपटक हुन्छ कि ?’ जीर्ण भवनमा पढाउँदा र पढ्ने विद्यार्थीलाई समेत तनाव सिर्जना हुने गरेको उपप्राध्यापक दिनेश भट्टराईले बताउनुभयो । ‘जीर्ण भवनले विद्यार्थी भयभित हुन्छन्’, भट्टराईले भन्नुभयो, ‘शिक्षा लिने ठाउँ नै ढुक्कसँग बस्ने अवस्था छैन विद्यार्थीले कसरी सिक्छ ?’ ‘यस क्याम्पसबाट हजारौँ मानिसले आफ्नो जीवन बदले तर क्याम्पसको जीवन बदल्न खासै कसैले ध्यान दिएनन्’- भट्टराईले भन्नुभयो, ‘साबिक राप्ती अञ्चलकै पुरानो र ठूलो क्याम्पसको गरिमा बढाउन अब सबैले सुविधासम्पन्न भवन बनाउन ध्यान दिनुपर्छ ।’

क्याम्पस प्रशासनको भवन पनि जीर्ण छ । जीर्ण भवनबाट क्याम्पस प्रशासनले सेवा दिँदै आएको छ । महेन्द्र बहुमुखी क्याम्पस प्रशासनमा २७ जना कर्मचारी छन् भने ८२ जना प्राध्यापक र उपप्राध्यापक रहेको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावले एउटै कोठामा चारजना बसेर सेवा दिँदै आएको प्रशासनले बताएको छ ।

पाँच हजारभन्दा बढी विद्यार्थी
क्याम्पस प्रशासनका अनुसार महेन्द्र बहुमुखी क्याम्पस दाङमा पाँच हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । दाङ, सल्यान, रुकुम, प्युठान, रोल्पाका अधिकांश विद्यार्थीहरू प्लस टुपछि स्नातक पढ्न यहीँ आउने गरेको क्याम्पस प्रशासन प्रमुख अनन्त पुनले बताउनुभयो । बिहानी सत्र र दिवा सत्र गरेर दुई सिफ्टमा क्याम्पसमा पढाइ हुने गरेको छ । मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञानको पढाइ भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । त्यसैगरी स्नातकोत्तरमा राजनीति शास्त्र, नेपाली, अंगे्रजी र एमबिएस पढाइ हुने भए पनि सुरक्षित भवन अभावमा विद्यार्थी फर्केेर जाने समस्या देखिएको प्रशासनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?