मुस्ताङ-घोडेपानी जाने बाटोमा स्तरीय होटल सञ्चालन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । विश्वप्रसिद्ध राउण्ड अन्नपूर्णअन्तर्गत मुस्ताङ र म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जाने बाटोमा स्तरीय होटल सञ्चालनमा आएको छ । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर म्याग्दीका युवा व्यवसायी राजु हमालले ३५ करोड रुपैयाँ लगानी गरेर भुरुङ तातोपानीमा होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याउनुभएको हो ।

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भुरुङ तातोपानीमा पर्यटकलाई उच्चस्तरको सुविधासहितको होटल सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सुविधा पुगेको छ ।

होटल सञ्चालनमा आएपछि मुस्ताङ, घोडेपानी, पुनहिललगायतका पर्यटकीय स्थलहरूको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुविधा पुगेको विश्वास गरिएको छ । म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सेवा दिन आफूले ठूलो लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताउनुभयो । होटलमा रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितका ५७ वटा कोठाहरूको व्यवस्था गरिएको छ ।

करिब आठ रोपनी क्षेत्रफलको जग्गा व्यवस्थापनसहित तीन वर्षको अवधिमा होटललाई आवश्यक पर्ने ६ तलाको भवन निर्माण गरेको उहाँले बताउनुभयो । हमालले यसअघि सदरमुकाम बेनीमा फेन्सी व्यवसाय गर्दै आउनुभएको थियो । होटलमा एक दिनमा करिब दुई सयजनालाई राख्न सकिने क्षमता रहेको छ । म्याग्दी र मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्नका लागि होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताउनुभयो ।

लगानीअनुसारकै स्तरीय सेवा र सुविधा ग्राहकलाई उपलब्ध गराएको सञ्चालक हमालले बताउनुभयो । पार्किङसहित दृश्य अवलोकनका लागि कृत्रिम झरनालगायतका आकर्षक भौतिक संरचनाहरू निर्माण गरिएको छ । होटलमा १५० जना क्षमताको सेमिनार हलको व्यवस्था छ । होटल परिसरमै मसाज, क्याफे र लोकलमार्ट सञ्चालन गरिएको छ । होटलका सबै कोठाहरूबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृंखलाको अवलोकनसमेत गर्न सकिने सुविधा रहेको छ ।

लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरि क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोलसुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताउनुभयो । ठूलो होटल खुलेपछि तातोपानीका पर्यटन व्यवसायीहरू उत्साहित बनेको उहाँको भनाइ छ ।

म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकहरूका लागि यो होटलले निकै ठूलो सुविधा लिएर आएको शेरचनले बताउनुभयो । बेनी-जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पर्यटकहरूलाई आरामदायी सुविधासहितको होटल सञ्चालनमा आएपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरू उत्साहित बनेको उहाँले बताउनुभयो । होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारमा सानाठूला होटलमा गरी एक रातमा करिब एक हजारजनालाई राख्न सक्ने क्षमता विस्तार भएको छ ।

पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी-जोमसोम-कोरला सडकमा पर्ने यस होटलका कारण प्राकृतिक तातोपानीको कुण्डमा आउने पर्यटकहरूको चाप बढ्ने र पर्यटकहरूको बसाइ व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । म्याग्दीको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले करोडौं लगानी गरेर आफूले होटल सञ्चालन गरेको सञ्चालक हमालले बताउनुभयो । होटलमा ६० जनालाई रोजगारीसमेत दिएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?