कांग्रेस संसदीय दलको नेता बन्न देउवा र गगनकाे उम्मेदवारी लगभग कन्फर्म, अरू को-को ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा गठिन समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य हुनुहुन्छ । समितिको बैठकले दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले भन्नुभएको थियो– बुधबारसम्म संसदीय दलको नेताका लागि चुनाव हुन्छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन सम्पन्न गर्न समिति गठन गरेसँगै अब कांग्रेसमा दलको नेता को बन्ला भन्ने चासो बढेको छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्री हुने उल्लेख छ ।

अहिलेसम्म कांग्रेसमा दलको नेताका आकांक्षीमा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री थापा मात्र देखिनुभएको छ । नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री बन्ने इच्छा राखे पनि दलको नेताका विषयमा केही बोल्नुभएको छैन । त्यसैले चुनाव हुने दिनसम्म कोइरालाले कसलाई समर्थन गर्लान् भन्ने चासो देखिएको छ । संस्थापन इतर समूहमा कोइराला र महामन्त्री थापामध्ये एकजनालाई दलको नेता बनाउने प्रयास भइरहेको छ । तर, कोइरालाले आगामी महाधिवेशनमा सभापतिको चाहना राखेकाले यसपटक उहाँ दलको नेतामा नउठ्ने बताइन्छ । तर उहाँले महामन्त्री थापालाई समर्थन गर्ने कि नगर्ने भन्ने खुलिसकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री हुने इच्छा राख्नुभएको छ । उहाँले केही दिन अघि मात्र बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटघाट गर्नुभएको थियो । भावी राष्ट्रपतिमा पनि उहाँको नाम चर्चामा छ । कांग्रेस भित्रैबाट राष्ट्रपति भए उहाँको प्रबल सम्भावना रहेको कांग्रेसकै नेताहरुले बताउने गरेका छन् । तर, गठबन्धनबीच भागबण्डा हुँदा राष्ट्रपति अर्को दलको भागमा पर्ने उनीहरु स्वीकार्छन् ।

स्रोतका अनुसार कोइरालालाई प्रधानमन्त्री देउवाले नयाँ सरकारमा परराष्ट्रमन्त्रीको अफर गर्नुभएको छ। सोही कारण कोइराला यसपटक दलको नेतामा देउवातिर खुल्ने सम्भावना धेरै रहेको नेताहरूको अनुमान छ । गत वर्ष सम्पन्न महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट चुनावमा जानुभएको थियो । कोइराला सभापतिमा पराजित भए भने थापा महामन्त्रीमा अत्यधिक मतका साथ विजयी हुनुभएको थियो।

यदि कोइरालाले थापालाई समर्थन नगरे कांग्रेस संसदीय दलको नेतामा देउवा नै भारी बहुमतका साथ विजयी हुने अनुमान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकारको दाबी गर्न १० पुससम्मको समय दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?