लघु निर्जीवन कम्पनीले आठ क्षेत्रमा लगानी गर्न पाउने

Read Time = 5 mins

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु निर्जीवन बीमा कम्पनीलाई पनि लगानीका क्षेत्र र सीमा तोकेकोे छ । लघु निर्जीवन कम्पनीले विभिन्न आठवटा क्षेत्रमा लगाउने गर्न पाउनेछन् । नयाँ व्यवस्थाअनुसार घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक मूल्यांकन गर्नुपर्नेछ भने बीमकको निर्देशनअनुरूप कुल लगानीका आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्नेछ । कुनै कारणले मूल्य घटबढ भई वा गाम्ने तथा गाभिने प्रक्रियाले निर्देशनबमोजिम न्यूनतमभन्दा कम र उच्चतम्भन्दा बढी लगानी भएको देखिन आएमा त्यसरी सीमा नाघेको तीन कार्यदिनभित्र लगानीलाई सीमाभित्र ल्याइसक्नुपर्नेछ ।

तर, मुद्दती निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्क नभएसम्म सो रकम बराबरको लगानीबमोजिम भएको मानिनेछ । बीमकले लगानी गर्नुपर्ने बंैक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको र सीमाभन्दा बढी निस्क्रिय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारबाहीमा नपरेको हुनुपर्नेछ ।

बीमकले लगानीपूर्व लगानी नीति तयार गर्नुपर्नेछ । लगानी नीतिमा बीमकको लगानीमा रहनसक्ने अन्तरनिहित जोखिम र सोको व्यवस्थापन, सम्पत्ति दायित्व तथा तरलता व्यवस्थापन, लगानीका प्रक्रियागत व्यवस्था र अख्तियार प्रत्यायोजन, लगानीसँग सम्बन्धित आन्तरिक नियन्त्रण लगानी, लगानीका सम्बन्धमा सञ्चालक समिति तथा उच्च व्यवस्थापनसमक्ष पेश गर्नुपर्नेछ । लगानी गर्दा भुक्तानी गर्न बाँकी दाबीबराबरको रकम दुई वर्ष वा सोभन्दा कम अवधिको मुद्दती निक्षेपमा लगानी गरेको हुनुपर्नेछ ।

बीमकले सहायक कम्पनीमा लगानी गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्नेछ । लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा राष्ट्र बैंकको बचतपत्र, ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा कुल लगानीको २५ प्रतिशत लगानी गर्नुपर्नेछ ।

त्यस्तै, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको बंैक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशतसम्म लगानी गर्नुपर्नेछ । लगानी गर्ने बैंक कम्तीमा पाँच वर्षसम्म सञ्चालनमा आई आफ्नो हिसाबकिताबको नियमित लेखापरीक्षण गराई कम्तीमा तीन वर्षसम्म नाफामा रहेको हुनुपर्नेछ । बीमकले विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्नुपर्नेछ । वित्तीय संस्थामा भने कुल लगानीको पाँच प्रतिशतसम्म लगानी गर्न पाइनेछ ।

बीमकले बंैक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर ऋणपत्रमा कुल लगानीको ३० प्रतिशत लगानी गर्न सक्नेछन् तर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुने गरी लगानी पाइने छैन । साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनियमय बजारमा सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशत लगानी गर्न सकिनेछ भने धितोपत्र बोर्डबाट इजाजत पत्रमा प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्न सकिनेछ । नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनामा कुल लगानीको बढीमा पाँच प्रतिशतसम्म मात्रै लगानी गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?