‘जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेमाथि कारबाही हुन्छ’

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 9 mins

खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहको संयोजकत्वमा ९ साउनमा सदरमुकाम दिक्तेलबजारका फार्मेसी र क्लिनिक अनुगमन गर्दा अवैध रूपमा भिडियो एक्सरे गरेको पाइएको थियो । त्यसपछि पनि अवैध भिडियो एक्सरे नरोकिएको, क्लिनिक र फार्मेसीमा फर्मासिष्ट वा फार्मेसी सहायक नभेटिएको र बिनाज्ञान, बिनासीप मानव स्वास्थ्यमाथि नै खुलमखुला क्लिनिक र फार्मेसीमा खेलबाड भइरहेको पाइएपछि भद्रगोल स्वास्थ्य क्षेत्रका विषयमा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारसँग हिमालय टाइम्सका लागि खोटाङ संवाददाता चिसाङ शेर्पाले गर्नुभएको कुराकानीको सम्पादित अंश:-

सदरमुकाम दिक्तेलको फार्मेसी र क्लिनिकमा अवैध भिडियो एक्सरे कहिले बन्द हुन्छ ?
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ९ साउनमा अनुगमन भएको थियो । त्यो अनुगमनपश्चात् २१ साउनमा जिल्ला प्रशासन कार्यालयमा प्रजिअका रूपमा हाजिर भएँ । र, त्यो रिपोर्ट हेरेँ, रिपोर्टमा धेरैजसो कुराहरू सुधार गर्नुपर्नेछ । केही कुराहरूको सामान्य सुधार गर्दाखेरी हुन सक्ने खालका छन्, केही कुराहरू व्यवस्थित गर्नुपर्ने खालका छन् र केही कुरा बन्द नै गर्नुपर्ने खालका छन् । सुधार गर्नुपर्नेलाई सुधार गरेर जानुपर्‍यो भनेका छौँ । भिडियो एक्सरेलाई स्वास्थ्य सेवा विभाग र प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर, के गर्नुपर्ने हो, सरोकारवाला निकाय, उपभोक्ता संरक्षण मञ्चका पदाधिकारीहरूसँग सल्लाह गरेर एक्सनमा जान्छौँ ।

अवैध रूपमा चलेका भिडियो एक्सरे मेसिन जफत गर्ने आँट छ प्रशासनसँग ?
अवैध रूपमा त गर्न पाइएन नि । कानुनको शासनमा अवैध भएपछि त्यसलाई नियन्त्रण गर्ने हाम्रो दायित्व हो । अवैध नै हो भनेर हाम्रो अनुगमन टोलीले भन्यो भने त्यसलाई नियन्त्रणमा लिन्छौँ ।

प्रशासनकै अघि मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड हुन्छ, प्रशासन जहिल्यै मौन ?
प्रशासन मौन हुँदैन । प्रशासनले आफ्नोतर्फबाट अनुगमन गर्ने, सचेत गराउने र कार्यान्वयन गराउनका लागि कमी कमजोरी छ भने प्रशासनको आवश्यक पनि छ भने सहयोग पनि गर्ने कामहरू हुन्छ । समन्वय, सहकार्य र चेतावनी दिने काम र अन्त्यमा कारबाही गर्ने काम पनि प्रशासनले गर्छ । हामी मौन बस्दैनौँ । यसअघि अनुगमन भइसकेकाले यसलाई मैले गम्भीरताका साथ लिएको छु । फेरि अन्तर्वार्ता दिँदा तपाईंले उठाएका कुराहरू के हुन्छ त्यो कुरा स्पष्ट भन्छु । सामान्य सुधार गर्नुपर्ने र व्यवस्थित गर्नुपर्ने कुराहरू व्यवस्थित गर्छौँ । अवैध ढंगबाट सञ्चालन भएकालाई नियन्त्रण गर्नुपर्नेमा हामी गम्भीर रूपमा लिन्छौँ । नेपालको संविधानको स्वास्थ्यसम्बन्धी हकको बर्खिलापको कुरामा एक्सनमा जान्छौँ ।

यसको मतलब प्रशासन मौन बस्दैन ?
प्रशासन मौन बस्दैन, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई पनि छैन ।

औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, दिक्तेलबजारका क्लिनिक र फार्मेसीमा फर्मासिष्ट वा फार्मेसी सहायक नै छैनन् नि ?
स्वास्थ्यसम्बन्धी ऐनले दर्ता गर्नुपर्ने, नवीकरण गर्नुपर्ने, दर्ता गर्दा तोकिएका मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । फर्मासिष्ट वा फार्मेसी सहायक कुन तरिकाको हुनुपर्ने विभागसँग र प्रदेश स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर छ कि छैन, बुझ्छाँै । यदि छैन भने त्यस्तालाई बन्द गराउँछौँ ।

पटक-पटक अनुगमन हुन्छ, कार्यान्वयनचाहिँ किन हुँदैन ?
कार्यान्वयन हुनुपर्छ, हुन्छ । तपार्इंलाई थाहा छ म आएको एक महिना भयो । केही विषयहरूमा बसेर छलफल गरेका छौँ । छलफल गरेका कुराहरूलाई हामीले अनुगमन पनि गरेका छौँ, कार्यान्वयन भयो कि भएन भनेर त्यो कार्यान्वयनको पनि अनुगमन गरेका छौँ । त्यसैले कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन गराउनुपर्छ । म प्रजिअ र जिल्लाका सबै कुराहरूको व्यवस्थापक पनि हो । त्यसैले मैले कार्यान्वयन गर्ने र गराउने दुवै काम गर्नुपर्छ । विगतका दिनहरूमा त्यस्तो भयो होला त्यो मलाई थाहा भएन तर हुन नसक्ने कुराहरू तपाईंलाई स्पष्ट भनौँला, यी कुराहरूमा हाम्रोतर्फबाट सम्भव छैन, पहल गर्छौँ भनौँला । नसकिने कुराहरूको हकमा बेग्लै हो, कार्यान्वयन हुन्छ ।

अन्त्यमा, विकासे कामहरू लथालिंग छ, तपाईंबाट कस्तो अपेक्षा गर्ने ?
जिल्लावासी आशावादी हुनुस् भन्छु । हाम्रो अहिले तीन तहको सरकार छ । आफ्ना-आफ्ना कार्यक्रमहरू छन् । कार्यक्रम सञ्चालन गर्न आ–आफ्ना संयन्त्र छ । काम गर्नलाई आफ्नो-आफ्नो पुँजी छ । काम गर्ने जनशक्ति छ । यति हुँदाहुँदै पनि तपाईंले भनेजस्तो समयमा कामहरू सम्पन्न नभएका, जिम्मेवार निकाय (ठेकेदार)हरूले समयमा काम सम्पन्न नगरेका जनगुनासाहरू प्रशस्तै छन् । तपाईंले सोधेजस्तै मलाई पनि चाङका चाङ गुनासाहरू आएका छन् । प्रजिअको काम जनताको जिउधनको सुरक्षा गर्नुका साथै शान्ति सुव्यवस्था कायम गर्नु, विकास निर्माणका कामहरूमा समन्वय, सहकार्य र सहयोग गर्ने कुराहरू पनि पर्छ । त्यसैले मेरो सहकार्य, समन्वय र सहयोग रहन्छ । कामहरू कहाँनेर अड्केको छ, कहाँनेर गर्नुपर्ने थियो, के गर्नुपर्ने, कहिले गर्नुपर्ने, कति गर्नुपर्ने, कसले गर्नुपर्ने थियो र किन भएन भन्ने कुराहरू जिल्ला समन्वय समिति प्रमुख र स्थानीय तहसँग कुरा गरेको छु । म आएपछि ऐंसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिका गएर अध्यक्ष, वडाध्यक्षसँग छलफल गरेको छु । लथालिंग अवस्थाको कहाँ गर्नुपर्ने, कसले गर्नुपर्ने, कहिले गर्नुपर्ने, कति गर्नुपर्ने र किन भएन भन्ने कुराको खोजीमा छु । यो निरन्तर छ । सुधार गर्दै जान्छौँ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
चाम्लिङ
चाम्लिङ
2023-09-24 4:32 pm

100% सहि गर्नु भयको छ पत्रकार ज्यु ले एस्ता खाल्को अबैधानिक सामग्री हरु जफत गरेर लाइसन क्यान्सिल गर्नु पर्छ विशेष प्रसासन को ध्यानाकर्षण हुन जरुरी छ | अझ प्रगती को कामना पत्रकार ज्यु👍️👍️❤️

रिलेटेड न्युज

छुटाउनुभयो कि ?