मुम्बईमा नेपाललाई १० स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक प्राप्त गर्न सफल भएको मुम्बईबाट प्रतियोगिता रेफ्री एवं नरहरिपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी दिनुभयो । मिक्स मार्सल आर्ट फेडेरेसन इण्डियाको आयोजनामा पुस ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधिसहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भएको टोली नेतासमेत रहनुभएका मानन्धरले जानकारी गराउनुभयो ।

नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम कातातर्फ स्वर्ण जित्न सफल भएको हो । पुरुषतर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्की जुनियर व्यक्तिगत कातामा स्वर्ण जित्न सफल हुनुभएको थियो ।

यसैगरी श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मितिल टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जित्यो । श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमितेतर्फ स्वर्ण जित्नुभयो । श्रीजना महताराले क्याडेट व्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमितेतर्फ रजत जोड्नुभयो । नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर व्यक्तिगत कातामा रजत प्राप्त गर्नुभयो । नेपालका लागि स्वर्ण जोड्ने क्रममा टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुनियर व्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल हुनुभयो ।

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाइ थापा मगर रहनुभएको थियो । च्याम्पियनसिपमा नेपाल, भारत र रसियाका गरी ४२५ खेलाडीहरूको सहाभागिता रहेको थियो ।

सोही प्रतियोगिताका दौरान भएको प्रशिक्षक सेमिनारमा नेपाली कराँतेका वरिष्ठ प्रशिक्षक हिरासिंह डंगोलले भारतका सिनियर तथा जुनियर प्रशिक्षकहरूलाई प्रशिक्षण प्रदान गरेको मुम्बईबाट प्रशिक्षक डंगोलले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?