काठमाडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक, अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि कार्यविधि, २०७९ जारी गरेको छ । कार्यविधि आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।
कोषले मंगलबार ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’, ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ जारी गरेको हो । नयाँ व्यवस्थासँगै अब अनौपचारिक स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा आबद्ध हुन सक्नेछन् ।
नयाँ व्यवस्था आगामी वैशाख १ गतेदेखि पूर्णरूपमा लागू हुने कोषका कार्यकारी अधिकृत कपिलमणि ज्ञवालीले जानकारी दिनुभएको छ । कार्यविधिअनुसार स्वरोजगार व्यक्तिको हकमा न्यूनतम आधारभूत तलबको तीन गुणासम्म रकममा ३१ प्रतिशत योगदान गर्न सक्नेछन् । स्वरोजगार तथा अनौपचारिक श्रमिकलाई पनि कोषले औषधि, स्वास्थ्य र मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना ल्याएको छ । जसमा स्वरोजगार श्रमिकले औषधि उपचारमा एक प्रतिशत, दुर्घटना योजनामा १.४ प्रतिशत, आश्रित योजनामा ०.२७ प्रतिशत र वृद्धास्था योजनाका लागि २८.३३ प्रतिशत योगदान गर्नुपर्नेछ ।
अनौपचारिक र स्वरोजगार क्षेत्रबाट आबद्ध श्रमिकले कोषबाट औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजनाअन्तर्गत एक वर्षमा एक लाख रुपैयाँसम्म उपचार खर्च, श्रीमतीको मातृत्व सुविधामार्फत् मासिक ९८ दिनको नौ हजार तीन सय ८५ रुपैयाँ र शिशु स्याहारमार्फत् न्यूनतम आधारभूत तलबको नौ हजार तीन सय ८५ रुपैयाँ पाउनेछन् । दुर्घटना तथा अशक्तता सुरक्षा योजनामार्फत् योगदानकर्ताले दुर्घटनामा परेमा सात लाख रुपैयाँसम्मको उपचार खर्च र अशक्तता भएमा मासिक न्यूनतम तलबको ६० प्रतिशत अर्थात् पाँच हजार छ सय ३१ रुपैयाँ पाउनेछन् ।
आश्रित परिवार सुरक्षा योजनामार्फत् योगदानकर्ताले काजक्रिया खर्च २५ हजार रुपैयाँ, आश्रित श्रीमान्/श्रीमतीले मासिक ४० प्रतिशतका दरले तीन हजार सात सय ५४ रुपैयाँ र स्वरोजगारको हकमा औसत तलबको ४० प्रतिशत र सन्ततीले २१ वर्षसम्म शैक्षिक वृत्तिमार्फत् ४० प्रतिशतसम्म रकम पाउनेछन् । योगदानकर्ताले अग्रिमरूपमा योगदान गरेमा १० प्रतिशतसम्म छुट पाउनेछ भने लगातार तीन वर्षसम्म सामाजिक बीमाका योजनाको उपयोग नगरेमा २० प्रतिशतसम्मको रकम निवृत्तभरण योजनामा हस्तारन्तरण हुने, सुरक्षा योजनाको निरन्तरता र कर्जा तथा सापटी व्यवस्था व्यवस्था पनि रहेको छ ।
त्यस्तै, कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई छुट्टै व्यवस्था गरेको छ । प्रारम्भिक योजनामा सीमितमात्राको सामाजिक सुरक्षा कोषको योजनामा आबद्धता भएका योगदानकर्ताले दुर्घटना र अशक्तता, आश्रित परिवार, अवकाश एवं वृद्धावस्था सुरक्षा योजनाको व्यवस्था गरेको छ । जसमा योगदानकर्ताले दुर्घटना तथा अशक्तता र आश्रित परिवार र अवकाश एवं वृद्धावस्था सुरक्षा योजना गरी मासिक दुई हजारदेखि २८ हजार एक सय ५५ रुपैयाँसम्म योगदान गर्न सक्नेछन् । श्रमिकले मासिक दुई हजारभन्दा माथि योगदान गरेमा दुर्घटना र अशक्तता सुरक्षा योजनअन्तर्गत व्यवस्था गरेको सुविधा पाउनेछन् ।
दुर्घटना उपचार खर्च वार्षिक एक लाख रुपैयाँ, अशक्तता पेन्सन मासिक ६० प्रतिशतका दरले पाँच हजार छ सय ३१ रुपैयाँ, न्यूनतम पारिश्रमिकका आधारमा नौ हजार तीन सय ८५ रुपैयाँ आजीवन पेन्सन पाउनेछन् । जसमा सञ्चालक समितिले तोकेअनुसार मुद्रास्फीति पनि समायोजन हुँदै जानेछ । तर, उक्त योजनाबाट सुविधा पाउन १२ महिनामा नौ महिना योगदान गरेको हुनुपर्नेछ । योगदानकर्ताले काजक्रियाका लागि २५ हजार रुपैयाँ, श्रीमान्/श्रीमतीले आजीवन तीन हजार सात सय ५४ रुपैयाँ पेन्सन, सन्ततिले २१ वर्षसम्म ४० प्रतिशत दरले रकम पाउनेछन् ।
त्यसैगरी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत वैदेशिक रोजगारी समय अवधि सकिएपछि एकमुष्ट रकम वा पेन्सन सुविधा रहेको छ । जसमा एक सय ८० महिनाको योगदान रकम जम्मा भई योगदानकर्ताको उमेर ६० वर्ष भइसकेपछि पेन्सन हालको पेन्सन सूत्र जम्मा भएको रकम भाग एक सय ६० प्लस बीमाको समायोजन गरिनेछ । योगदानकर्ताले अग्रिम योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थाका साथै खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट रेमिट्यान्स पठाएको प्रमाण पेश गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने, दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत सुविधा नलिएमा २० रकम छुट हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच