आयोगको भूमिकाप्रति एमालेको असन्तुष्टि

धाँधली र ‘बुथ क्याप्चर’ भएका ठाउँमा दोहोर्‍याएर निर्वाचन गरिएन : अध्यक्ष ओली

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा धाँधली भएको आरोप लगाएको छ । सत्ता गठबन्धनले चुनावमा घेराबन्दी, धाँधली र बुथ कब्जा गरेको एमालेको आरोप छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले धाँधलीबीच पनि सबै चक्रव्युह तोडेर एमाले लोकप्रिय मतमा पहिलो भएको बताउनुभयो । मंगलबार काठमाडौंमा एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष ओलीले जनताको सार्वभौम अधिकार हनन गरेर आफ्नो पार्टीको हातबाट विजयी खोसिएको दाबी गर्नुभयो । ‘घेराबन्दी धाँधली र बुथ क्याप्चरका बीचमा हामी लोकप्रिय मतमा पहिलो भयौँ । राज्यशक्तिको चरम दुरुपयोग भयो,’ उहाँले भन्नुभयो, ‘सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भयो । जनताको सार्वभौम अधिकार हनन गरियो । यो जनताको सार्वभौमसत्ता माथिको प्रहार हो । लोकतन्त्र र संविधान माथिको प्रहार हो ।’

अध्यक्ष ओलीले आयोगले समेत निष्पक्ष भूमिका खेल्न नसकेको आरोप लगाउनुभयो । ‘बुथ क्याप्चर’ भएको ठाउँमा दोहो¥याएर निर्वाचन गराउन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको उहाँको आरोप थियो । मरेका मान्छेहरूले मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउने काम नगरेर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको उहाँले जिकिर गर्नुभयो । ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन । धाँधली भएका र बुथ क्याप्चर भएका ठाउँमा दोहो¥याएर निर्वाचन गरिएन,’ उहाँले भन्नुभयो, ‘यदि यस्ता कुरालाई रोक्न सकिएन भने जनताको विश्वास लोकतान्त्रिक अभ्यासप्रति वितृष्णा बढदै जान्छ । र विस्तारै प्रणालीप्रति नै यो विश्वास कमजोर हुँदै जान्छ ।’

सरकारमा नजाने
एमाले सरकारमा नजाने पक्षमा देखिएको छ । एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । सत्तारूढ गठबन्धन सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै आफ्नो पार्टी त्यसको विरुद्धमा रहेको उहाँले बताउनुभयो । आफ्नो पार्टी सत्ता वा प्रतिपक्षी जहाँ रहे पनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने अध्यक्ष ओलीको भनाइ थियो । ‘सरकार केका लागि ? को प्रधानमन्त्री ? को राष्ट्रपति हुने ? यस्तै कुरामा सरकार गठन अड्किएको छ ।

गठन हुँदा पनि यस्तै कुराको लेनदेनबाट सरकार गठन हुने हो,’ उहाँले भन्नुभयो, ‘एमाले बाहेकका दलहरू नेताका स्वार्थ, लोभ र पदीय आकांक्षाका बन्धक बनेका छन् । त्योभन्दा बाहिर जान सक्दैनन् । किनभने उनीहरूसँग विचार, उद्देश्य र गन्तव्य छैन,’ उहाँले भन्नुुभयो, ‘देशको अवस्थाप्रति चिन्ता छैन । सरकार गठनको यस्तो अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यासप्रति हाम्रो पार्टी नेकपा (एमाले) पूर्णरूपमा असहमत छ, विरुद्धमा छ । यस्तो कुराहरूमा हाम्रो पार्टी जाँदैन ।’

पार्टी, संसदीय दलको नीति र निर्णयअनुसार चल्न सांसदहरूलाई निर्देशन
अध्यक्ष ओलीले पार्टी, संसदीय दलको नीति, निर्णय र निर्देशनअनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभयो । सच्चा जनप्रतिनिधिको रूपमा संसद्भित्र र बाहिर पनि वैचारिक रूपमा स्पष्ट र योजनाबद्ध ढंगले अघि बढ्न सचेतसमेत गराउनुभयो । पार्टीले देश र जनताको हितबाहेक अरू केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरूले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने उहाँले बताउनुभयो । ‘हाम्रा नवनिर्वाचित जनप्रतिनिधिले संसद्मा र बाहिर कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा अत्यन्तै गम्भीरतापूर्वक ध्यान दिनु र क्रियाशील हुनु जरुरी छ । त्यसका लागि अध्ययनशील भई योजनाबद्ध ढंगले काम गर्न आग्रह गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘दृढता र स्पष्टताका साथ प्रस्तुत हुन, टिम स्पिरिटमा दल र पार्टीका निर्णय, नीति, अनुशासन, आदेश र निर्देशनअनुसार चल्ने दृढ अभ्यासमा कायम रहन आग्रह गर्दछु । किनभने दल र पार्टीले देश र जनताको हितबाहेक अरू केही पनि सोचेको हुँदैन ।’

संसदीय दलको नेतामा ओली निर्विरोध
एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन हुनुभएको छ । मंगलबार बसेको नवनिर्वाचित सांसदहरूको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन हुनुभएको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरूलाई जानकारी गराउनुभयो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्ष ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिटमा जित हात पारेको छ । प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको थियो ।

मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताउनुभएको छ । तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको उहाँको जिकिर थियो । मंगलबार एमालेले बोलाएको नवनिर्वाचित सांसदहरू सँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका गतिविधिहरू भइरहेको दाबी गर्नुभयो । राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रूपमा स्थापित भइरहेको उहाँको भनाइ थियो । ‘आज संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका आशंकाका काला बादलहरू मडारिने खालको स्थिति उत्पन्न भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले चुनावअघि भनेका थियौँ, गठबन्धन समस्याको समाधान होइन । चुनावपछि मुलुकको राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरू सुरु भएका छन्, त्यसले नेकपा एमालेका मान्यताहरू सही रहेका छन् भन्ने प्रमाणित गरेको छ । राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रूपमा स्थापित भइरहेको छ ।’ महासचिव पोखरेलले सबै दलहरू मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरे पनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?