नेपालमा फेरि बढ्दै छ कोरोना संक्रमण, तीन महिनापछि एकजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएको छ । कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै दैनिक संक्रमित हुनेहरूको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार १०६ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मंगलबार ४७६ पिसिआर र एक हजार ९६० एन्टिजेनगरी कुल दुई हजार ४३६ जनाको परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो । पिसिआरतर्फ ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । ४६९ जना संक्रमितमध्ये २४ जना संस्थागत आइसोलेसनमा, १३ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा रहेका छन् । काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्षमा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् ।

तीन महिना पछाडि एकजना कोभिड संक्रमितको ज्यान गएको छ । वीर अस्पतालमा उपचाररत एक वृद्धाको मंगलबार ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित ती वृद्धा ७० वर्षीया हुनुहुन्थ्यो । यसअघि गत पुस २३ गते कोरोनाबाट एकजनाकोे ज्यान गएको थियो । तीन महिनापछि मंगलबार एकजनाको ज्यान गएको हो ।
नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ । केही दिनअघि गरिएको अनुवांशिक अध्ययनमा नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी १.१६ देखा परेको थियो ।

मन्त्रालयले अझै केही दिनसम्म संक्रमण बढ्ने देखिएको जनाएको छ । कोरोना संक्रमण बढिरहेकाले भाइरस विरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गर्नुभयो । अहिले काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?