अधिकारी ‘हृयुमन राइट्स डिफेन्डर्स अवार्ड’ बाट सम्मानित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले आफ्नो ३१औँ साधारणसभा मनाएको छ । नवलपरासी (पूर्व) गैंडाकोटमा एम्नेस्टीले एक कार्यक्रमको आयोजना गरेर साधारणसभा सम्पन्न गरेको थियो । साधारणसभाबाट यो वर्ष द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी सम्मानित हुनुभएको छ । अधिकारी एम्नेस्टी नेपालका तत्कालीन सम्मानित सदस्य स्वर्गीय मुक्तिनाथ अधिकारीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ । स्वर्गीय अधिकारीलाई तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले २०५८ साल माघ ३ गते निर्ममतापूर्वक हत्या गरेका थिए । अधिकारीले आफू जस्तै मानव अधिकार उल्लंघनमा परेका नेपालका दशौँ हजार पीडितको सत्य, न्याय र परिपूरणको अधिकारका लागि अथक र अनवरत प्रयास गरेको भन्दै उहाँलाई एम्नेस्टी नेपालले हृयुमन राइट्स डिफेन्डर्स अवार्ड, २०२२ बाट सम्मान गरेको छ । सम्मानका साथै एम्नेस्टी नेपालले उहाँलाई २१ हजार नगद पुरस्कारसमेत प्रदान गरेको छ ।

उद्घाटन सत्रमा एम्नेस्टी नेपालले आफ्ना कर्मचारी चक्रकुमार प्रधानलाई पनि संस्थामा उहाँले गरेको लामो सेवाका लागि दीर्घसेवा कदर पत्रसहित पुरस्कृत गरेको छ । उहाँलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइएको छ । साधारणसभाको उद्घाटन सत्रमा बोल्दै माननीय बद्रीप्रसाद पाण्डेले नेपालको संविधानमा व्यवस्था भएबमोजिम जनताको अधिकारको संरक्षण र प्रवद्र्धनका लागि उक्त संवैधानिक प्रावधानहरूलाई व्यवहारमा रूपान्तरण गर्ने सवालमा नयाँ कानुनी संयन्त्र तर्जुमा गर्नेलगायतका कर्ममा सक्रियतापूर्वक संलग्नता दर्शाउने प्रतिबद्धता जनाउनुभयो । नेपाल जेसिसका अध्यक्ष भण्डारीले एम्नेस्टी नेपालको मानव अधिकार अभियान कार्यको प्रशंसा गर्दै उक्त मानव अधिकार अभियानहरूमा भविष्यमा सहकार्य र साझेदार हुन आफू र नेपाल जेसिस प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा एम्नेस्टी नेपालका पूर्वअध्यक्षहरूले न्यायपालिकाले सजाय सुनाएका अपराधीलाई उन्मुक्ति दिन र गम्भीर आपराधिक मुद्दामा फसेका अन्यलाई जोगाउने उद्देश्यले फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने उद्देश्यका साथ कामचलाउ सरकारले विवादास्पद अध्यादेश ल्याउनुको नियतमाथि प्रश्न उठाएका थिए ।

एम्नेस्टी नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारका उद्देश्य प्राप्तिका लागि संस्थाको उद्देश्य सार्थक एउटा बलियो रणनीतिक ढाँचा तय गरी एम्नेस्टी नेपालको मानव अधिकार आन्दोलनलाई अझ सबल र सशक्त बनाउने लक्ष्यका बारेमा चर्चा गर्नुभयो । विगत केही वर्षदेखि सुरू भइरहेको आन्तरिक सांगठनिक सुधारलाई अझ थप सुदृढ बनाउनका लागि पनि सबैलाई साथ र सकारात्मक योगदान गर्न उहाँले आग्रह गर्नुभयो ।

बन्द सत्रको समापनपछि एम्नेस्टी नेपालको सहयोगमा तयार पारिएको ‘डेथ्स अन एक्सप्लेन्ड’ शीर्षकको वृत्तचित्र प्रदर्शन गरिएको थियो । वृत्तचित्रले कसरी गन्तव्य देशहरूमा नेपाली आप्रवासी श्रमिकहरूको मृत्युलाई ‘प्राकृतिक कारणहरू’लाई उल्लेख गरी ती मृत्युका वास्तविक सत्य उपलब्ध नगराई सामान्यीकरण गर्ने गरिएको छ भन्ने कुरामाथि प्रकाश पारेको छ ।

एकदिने उक्त साधारणसभा कार्यक्रममा एम्नेस्टी नेपालका भोटिङ डेलिगेट्स, नेसनल बोर्ड तथा अपिल कमिटीका सदस्य, कर्मचारी, पूर्वअध्यक्ष, पर्यवेक्षक र अन्य विशिष्ट अतिथिहरूसमेत गरी करिब तीन सयजना सहभागीहरूले सहभागिता जनाएका थिए । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य माननीय बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी उद्घाटन सत्रमा जेसिस नेपालका अध्यक्ष लालमणि भण्डारी पनि विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?