शपथ पछि नवनिर्वाचित सांसदको स्वागतमा जलपान

रासस
Read Time = 2 mins

काठमाण्डौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो ।

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

महासचिव डा गौतमले शपथपत्रमा हस्ताक्षर तथा सङ्घीय संसद्को प्रतीक चिह्न ‘लोगो’ लगाउन आग्रह गर्नुभएको थियो । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ६५ सांसद छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?