चर्को व्याजदरविरुद्ध विराटनगरका उद्योगी व्यवसायी आन्दोलित : दिनभर राष्ट्र बैंकको गेटमा धर्ना

Read Time = 3 mins

-निर्मल ढुंगाना
विराटनगर । सरकार र राष्ट्र बैंकले उद्योगी र व्यवसायीको माग सम्बोधन नगरेको भन्दै विराटनगरका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

बैंकको चर्को व्याजदर र प्रतिकुल आर्थिक नीतिका विरूद्ध सडकमा ओर्लिएका उद्योगी व्यवसायीले आन्दोलनलाई अझ सशक्त र अनिश्चित बनाउने उद्घोष समेत गरे ।

बिहीबार बिहान मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ र विराट व्यापार संघसहित विभिन्न वस्तुगत संघ संस्थाले संयुक्त रुपमा विरोध जुलुसहित राष्ट्र बैंकको मुल गेटमा धर्ना दिए ।
आज विराटनगर बजार बन्द गर्नेसम्मको कार्यक्रम तय भएता पनि साना व्यापारीले पसल बन्द गरेनन् । केही व्यापारी आन्दोलनमा सहभागि भएतापनि अन्य व्यापारीले कारोबार संचालन गरेका थिए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भन्नुभयो, ‘हामीले बिहीबार सरकार र राष्ट्र बैंकलाई दवाव दिन बजार बन्द गर्ने निर्णय गरेपनि व्यवसायीलाई दवाव दिएनौं, यो आन्दोलन उद्योगी र ठूला व्यापारीको मात्र होइन्, यो आन्दोलन आम सर्वसाधारणको पनि हो, हामीलाई आशा छ, सबै क्षेत्रबाट आन्दोलनमा ऐक्यबद्धता हुन्छ । हाम्रा पाँच सुत्रीय माग सम्वोधन नहुञ्जेलसम्म आन्दोलन रोकिँदैन।’

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्र बैंकको धर्नालाई नरोकिने गरी अनिश्चित बनाइएको अध्यक्ष रिजालले स्पष्ट पार्नुभयो ।

परिसंघ प्रदेश नं. १ अध्यक्ष भीम घिमिरेले उद्योगीको माग सम्बोधनका लागि सरकारलाई बारम्बार अनुरोध गरेपनि सरकार र राष्ट्र बैंकले नसुनेकाले आन्दोलन जस्तो अलोकप्रिय कदम चाल्न बाध्य भएको बताउनु भयो । सम्बन्धित पक्षले माग सम्बोधन नगरेसम्म राष्ट्र बैंकको गेटबाट नहल्लिने समेत उहाँले भनाइ थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?