माघदेखि तरलता सहज हुने दाबी

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मुलुक विदेशी मुद्राको संकटोन्मुख अवस्थाबाट सहज अवस्थामा आइसकेको भन्दै वित्तीय क्षेत्रमा तरलताको अवस्थासमेत हुँदै गएको दाबी गर्नुभएको छ । समृद्धि फाउण्डेशनद्वारा बिहीबार राजधानीमा आयोजित कार्यशालामा उहाँले विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलनलगायतका चिन्ताको अवस्था मुक्त हुने पुगेको र निजी क्षेत्रले सहज ऋण पाउन सक्ने गरी माघदेखि अवस्था थप सहज बन्ने दाबी गर्नुभएको हो ।

पुस लागेसँगै एसएलएफको माग शून्यप्रायः रहेको भन्दै उहाँले माघदेखि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमता बढ्ने जिकिर गर्नुभयो । ब्याजदर स्थायित्वका लागि राष्ट्र बैंकले बेलैमा निश्चित मापदण्ड तोकिदिएकाले अवस्था थप खराब हुनबाट जोगिएको उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्यमी व्यवसायीलाई मात्र समस्याको भार थोपरिएको भन्दै अवस्था तत्काल सहज बनाउने पहल थाल्न आग्रह गर्नुभयो । चर्को ब्याजदर, चालु पुँजी कर्जा निर्देशिकाको असामयिक कार्यान्वयन, आयात प्रतिबन्धजस्ता व्यवस्थाले निजी क्षेत्र र मुलुकको अर्थ व्यवस्थामै प्रतिकूल असर पारेको उहाँको भनाइ थियो ।

राष्ट्र बैंकले दिएको पुनर्कर्जा सुविधा फिर्ता, स्थानीय निकायको बचत निक्षेपमा गणना गर्न नपाइने, सरकारले नै बाध्यकारी बनाएर आन्तरिक ऋण उठाउन लागेको र कर भुक्तानीको समय जस्ता कारणले तरलताको अवस्था सहज नहुने देखिएको उहाँले दाबी गर्नुभयो ।

होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले पर्यटन क्षेत्रमा पछिल्लो समय केही सुधार देखिए पनि त्यसलाई दिगो र अझै प्रगति उन्मुख बनाउन पर्यटन क्षेत्रमा दिँदै आएका पुनर्कर्जा सुविधा तथा अन्य सहुलियत अझै केही समय आवश्यक पर्ने बताउनुभयो ।

पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारीले अर्थतन्त्र राजनीतिक अस्थिरताको शिकार भएको भन्दै राजनीतिक नेतृत्वले कर्मचारी व्यवस्थापन तथा नीतिगत स्थायित्वमा नै नकारात्मक दबाब सिर्जना गर्ने गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?