सरकारी वकिलहरू व्यावसायिक र क्षमतावान् हुन आवश्यक छ : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सुरु भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले फौजदारी शासन कायम गर्न देशको विद्यमान कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले कानुनबमोजिम आफूले सम्पादन गर्नुपर्ने काम कुनै पनि किसिमको दबाब, प्रभावमा नपरी निष्पक्ष, स्वतन्त्र र व्यावसायिक रूपमा सम्पादन गर्न सरकारी वकिलहरूलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘कानुनबमोजिम आफूले सम्पादन गर्नुपर्ने कार्यहरू कुनै पनि किसिमको दबाब, प्रभावमा नपरी निष्पक्ष, स्वतन्त्र र व्यावसायिक रूपमा सम्पादन गर्न सबै सरकारी वकिलहरूलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री देउवाले अपराधसंहिता लगायतका नयाँ फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन गर्न र नागरिकका अधिकारको सुनिश्चितता गर्न महान्यायाधिवक्ताको कार्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सरकारवादी हुने मुद्दामा अभियोजन नेपाल सरकारविरुद्ध परेका कानुन विवादको प्रतिरक्षा गर्दै व्यावसायिक दायित्व निभाउन पनि सरकारी वकिलहरूलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले सरकारी वकिलहरू व्यावसायिक र क्षमतावान् हुन आवश्यक रहेको पनि बताउनुभयो । सरकारी वकिलको सेवा तथा सर्तसम्बन्धी कानुन निर्माणका लागि सरकारले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधासम्पन्न गराउन जरुरी : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताउनुभएको छ । शुक्रबार महान्यायाधिवक्ताको कार्यालयको ७२औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अपराध कार्यहरूमा नयाँ प्रविधिको प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गरेर अनुसन्धान र अभियोजनमा पनि नयाँ प्रविधिको प्रयोग हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले नयाँ किसिमको अनुसन्धान र अभियोजनका लागि संस्थाहरूलाई स्रोत, साधनयुक्त गराउन जरुरी रहेको पनि बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालयलाई आगामी दिनमा अझ बढी प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी बहन गर्नसक्ने व्यावसायिक र विशिष्टीकृत बनाउन निर्देशन दिनुभयो । गृहमन्त्री खाँणले आगामी दिनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको बीचमा सुमधुर सम्बन्ध रहनुपर्ने बताउनुभयो । गुहमन्त्री खाँणले बार र बेञ्च तथा स्वतन्त्र कानुनी व्यवसायी र सरकारी वकिलहरूको बीचमा पनि सद्भावपूर्ण वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?