नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीले खेलाडीहरूलाई शुभकामना दिँदै भन्नुभएको छ, ‘एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनबमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीहरूलाई हौसला बढाउन खेल मैदान पुग्नुभएको थियो । साथै, जितपश्चात् उहाँले सम्पूर्ण खेलाडीहरूलाई बधाई दिनुहुँदै जितको खुसी साट्नुभएको थियो ।

यस्तै, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो । उहाँले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

त्यसबाहेक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले विजेता नेपाली टिमका खेलाडीहरूलाई शुभकामना दिनुहुँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरूलाई खुसी तुल्याएको जनाउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ ।

यस्तै, सभामुख देवराज घिमिरेले शुभकामना दिँदै खेलको अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यावसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गर्नुभएको छ ।

‘नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ सभामुख घिमिरेले जारी गर्नुभएको शुभकामनामा भनिएको छ, ‘अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उचो बनाएको छ भने नेपाली क्रिकेटको व्यावसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु, खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदछु ।’

उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?