खुल्ला सीमा व्यवस्थित नहुँदा स्वदेशी उत्पादनको बजारीकरणमा समस्या भएको गुनासो

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

रुपन्देही । मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीयबासी तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरुको भनाई छ ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, सिद्धार्थनगर–९, रुपन्देही) र उद्योग व्यापार संगठन, रुपन्देही मर्चवार सम्पर्क कार्यालयले कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको स्थानीय बजार प्रवद्र्धनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्ने सहभागीहरुले स्थानीय बजार प्रवद्र्धनका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै स्थानीय सन्तराम कोइरीले स्वदेशमा उत्पादन भएका कुखुराले बजार नपाएको गुनासो गर्नु भयो। उहाँले भन्नुभयोे, ‘भारतमा सस्तो मूल्यमा कुखुरा पाइने भएकाले उपभोक्ताहरु भारत जाने गरेका छन्, सीमा वारीका व्यवसायी मर्कामा परेका छन् ।’

त्यस्तै स्थानीय सुर्यनारायण यादवले खुल्ला सीमाका कारण स्वदेशी बजार सुनसान भएको बताउनु भयो । उहाले स्वदेशमा उत्पादन लागत बढी हुँदा सामानको मूल्य समेत यहाँ बढी नै रहेको बताउनु भयो।उहाले स्थानीयस्तरमा उत्पादित सामानको बजारीकरणमा समस्या रहेको बताउनु भयो ।

कृषक अशोककुमार तिवारीले किसानलाई मल र सिंचाईको व्यवस्था नभएसम्म विकास हुन नसक्ने बताउनु भयो । उहाँले कृषकले उत्पादन गरेर वस्तुको मूल्य कृषकले नै तोक्न पाउनुपर्ने माग गर्नु भयोे । उहाँले भन्नुभयो ‘किसानको विकास नभएसम्म मुलुकको विकास हुन सक्दैन । ’
स्थानीय अर्जुन हरिजनले चप्पल उद्योग सञ्चालन गर्दै आएको भए पनि विक्री वितरणमा समस्या आएपछि उद्योग नै बन्द गर्नुपरेको वताउनु भयो । उहा्ँले उद्योग बन्द भएपछि ऋणको किस्ता, ब्याज तिर्न समस्या भएको गुनासो गर्नुभयोे । उहाँले भन्नुभयोे, ‘अनुदान पाउनुपर्ने व्यक्तिसमक्ष पुगेको छ कि छैन अनुगमन गर्नु आवश्यक छ ।’

मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले दर्ता प्रक्रियामा नआएका व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने वताउनु भयो । उहाँले स्थानीय सरकारले स्थानीय उत्पादन भएका सामान खरीद गर्नुपर्ने माग गर्नुभयो । उहाँले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । मर्चवार क्षेत्रमा होटल, किराना लगायत व्यवसाय बन्द भएकाले त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाकोे भनाइ थियो ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले किसानले समयमा मल र बिउ नपाएको बताउनु भयो । उहाँले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको र सीमापारीबाट ल्याउँदा किसानले अनेकौ हैरानी खेप्नुपरेको वताउनु भयो । उहाँले भन्नुभयोे, ‘स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक छ । ’अध्यक्ष ज्ञवालीले किसानको जीवनस्तर माथि उकास्न सके मात्र अर्थतन्त्र मजबुत हुने बताउनु भयो ।

ज्ञवालीले स्थानीय उत्पादन खरीद गरेर स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।, ‘सबै व्यवसायलाई करको दायरामा ल्याउनुपर्छ, स्थानीय सरकारले सहज रुपमा दर्ता तथा नविकरण गर्नुपर्छ । ’अध्यक्षको भनाई छ।

खुल्ला सीमा व्यवस्थित नभएका कारण व्यवसाय प्रबद्र्धन हुन नसकेकाले सीमालाई व्यवस्थित गर्नुपर्ने ज्ञवालीको भनाई छ । बैंक ब्याजदर बढेका कारण विगतमा पनि आन्दोलन गरेको र अब हुने आन्दोलनमा मर्चवार क्षेत्रका व्यवसायी पनि सहभागी हुनुपर्ने बताउनु भयो ।, ‘चर्को बैंक ब्याजदरका कारण उद्योग व्यवसाय धरासायी भएका छन्, अब नयाँ सरकार बनेपछि चर्को बैंक ब्याजदरविरुद्ध पुनः आन्दोलन गर्छौं ।’
कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले कृषिप्रधान क्षेत्र मर्चवारमा आउनुपर्ने मल समेत घटिरहेको गुनासो गर्नु भयो । उहाँले किसानले समयमै मल नपाएको बताउनु भयो । उहाँले मर्चवार क्षेत्रमा रहेका पालिकाहरुले साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।, ‘साझा एजेण्डा बनाएर अघि बढे मर्चवार क्षेत्रको आवाज एकैपटक सम्बन्धित निकायमा पुग्छ । ’ प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भन्नुभयो।
कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष संजयकुमार सैनीले कृषिप्रधान देश भनिए पनि किसानको धेरै समस्या रहेको बताउनु भयो। कृषिको लागि आवश्यक रहेको ट्रयाक्टरको भन्सार शुल्क बढ्दा कृषक मारमा परेको गुनासो गर्नुभयो ।
मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले कृषि, शिक्षा र स्वास्थ्यमा आफूले जोड दिएको बताउनु भयो । उहाले कृषकलाई गाउँपालिकाबाट सक्दो सहयोग गरिएको बताउनु भयो । उहाँले भन्नुभयोे,‘ निजी क्षेत्रलाई जिम्मेवारी दिए कृषकले सहज रुपमा मल पाउन सक्थे । ’किसानलाई सिंचाईको व्यवस्था नहुनु दुःखद भएको बताउनु भयो।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भारतबाट ल्याएर सामान विक्री गर्नुपर्ने व्यवसायीको बाध्यता रहेको वताउनु भयो। उहाले भन्नुभयो ‘मर्चवार क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि छुट्टै नीति बनाउनुपर्छ । ’ किसानले मल समयमा नपाउँदा उत्पादनमा समेत समस्या आएको बताउनु भयो । अध्यक्ष त्रिपाठीले स्थानीय बजार प्रवद्र्धनमा स्थानीय तहबाट भूमिका निर्वाह गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले मर्चवार क्षेत्रमा पर्ने चार वटा पालिकाको भेला गरेर समस्या समाधानका लागि सम्बन्धित निकायमा डेलिगेशन समेत जानुपर्ने बताउनु भयो । उहाले भन्नुभयोे, ‘समस्या समाधानका लागि बाध्यात्मक स्थिति सिर्जना गर्नुपर्छ, निराशा कुरा मात्र गरेर हुँदैन, आशावादी हुनुपर्छ । ’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?