कर्णाली प्रदेशमा एक तिहाइ पुरानै उम्मेदवार

हिमालय टाइम्स
Read Time = 10 mins

सुर्खेत । अघिल्लो प्रदेशसभाका ४० सदस्यमध्ये एक तिहाइ यसपटक पनि उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्यहरूमध्येबाट प्रतिनिधिसभा र प्रदेशसभामा रहेका १४ जनाले मनोनयन दर्ता गराएका हुन् । कर्णाली प्रदेशसभाको सदस्य बन्ने दौडमा नौजना पुराना अनुहार दोहोरिएका छन् भने चारजना निवर्तमान प्रदेशसभा सदस्यले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सुर्खेत–१ ‘क’ मा निवर्तमान प्रदेशसभा सदस्य ठम्मर विष्ट उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा उहाँ माओवादी केन्द्रबाट उम्मेदवार भई निर्वाचित हुनुभएको थियो । नेकपा विभाजनपछि एमाले रोज्नुभएका उहाँलाई अहिले फेरि एमालेले पनि प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ । सुर्खेत-२ ‘क’ मा यामलाल कँडेल उम्मेदवार बन्नुभएको छ । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहनुभएका उहाँ एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुनुहुन्छ । कँडेल ०७४ सालको निर्वाचनमा कर्णालीको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा झर्नुभएको थियो । अघिल्लो कार्यकालमा सो अवसर नपाउनुभएका कँडेल अहिले पनि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ ।

माओवादी केन्द्रले सुर्खेत-२ ‘ख’ मा निवर्तमान प्रदेशसभा सदस्य विन्दमान विष्टलाई नै टिकट दिएको छ । उहाँले उक्त क्षेत्रबाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्नुभएको छ । विष्ट कर्णाली प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

दैलेख-१ ‘क’ बाट ०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य बन्नुभएका धर्मराज रेग्मी यसपटक पनि प्रदेशकै उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उहाँलाई अहिले एमालेले उम्मेदवारका रूपमा अघि बढाएको छ । रेग्मीले पनि नेकपा विघटनपछि एमाले रोज्नुभएको थियो ।

सल्यान प्रदेशसभा ‘ख’ बाट निवर्तमान प्रदेशसभा सदस्य गुलाबजंग शाह यसपटक पनि उम्मेदवार बन्नुभएको छ । हालका मुख्यमन्त्री जीवनबहादुर शाही फेरि प्रदेशसभा सदस्यकै लागि चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । शाही अघिल्लोपटक कांग्रेसबाट कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने एक्ला सदस्य हुनुहुन्छ ।

हुम्ला प्रदेशसभा ‘ख’ को उम्मेदवारका लागि मनोनयन दर्ता गराउनुभएका उहाँलाई अहिले सत्ता गठबन्धनको साथ छ । जुम्लामा निवर्तमान प्रदेशसभा सदस्य पदम रोकाय फेरि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित हुनुभएका रोकाय पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको छ । यसपटक सत्ता गठबन्धनले उहाँलाई जुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवारका रूपमामा अघि बढाएको छ ।

पूर्व-मुख्यमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले यसपटक प्रतिनिधिसभा रोज्नुभएको छ । उहाँ २०७४ सालमा भने प्रदेशमा झर्नुभएको छ । अहिले फेरि प्रतिनिधिसभा सदस्यका लागि उहाँले एकमात्र क्षेत्र रहेको कालीकोटबाट मनोनयन दर्ता गराउनुभएको छ । अघिल्लो निर्वाचनमा हुम्लाबाट प्रदेशसभा सदस्य निर्वाचित एमालेका दल रावल पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।
उहाँ कर्णाली प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुनुहुन्छ । निवर्तमान प्रदेशसभा सदस्य अमरबहादुर थापा यसपटक प्रतिनिधिसभा सदस्यको दौडमा हुनुहुन्छ । उहाँले दैलेख–१ बाट सत्ता गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गराउनुभएको छ । ०७४ सालमा एमालेबाट प्रदेशमा निर्वाचित थापा हाल नेकपा एसमा हुनुहुन्छ ।

पहिलो कार्यकालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित प्रकाश ज्वाला यसपटक प्रतिनिधिसभातर्फ उम्मेदवार बन्नुभएको छ । सल्यानबाट निर्वाचित उहाँले एमाले विभाजनपछि नेकपा एस रोज्नुभएको थियो । उहाँ कर्णाली सरकारका पूर्वमन्त्रीसमेत हुनुहुन्छ । ज्वाला यसअघि पनि प्रतिनिधिसभाको सांसद भइसक्नुभएको छ । अहिले उहाँलाई सत्ता गठबन्धनको साथ छ । नेकपा एमालेले सुरुमा एकल सिफारिस गरेर उम्मेदवार बनाएको डोल्पाकी बदमी क्वारी बोहोरालाई अन्तिममा टिकट नदिएपछि प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

कर्णाली प्रदेशसभाका ४० मध्ये २७ जना निवर्तमान सदस्यले यसपालि टिकट नै पाएनन् । पहिलो कार्यकालमा कर्णालीको सभामुख बन्नुभएका राजबहादुर शाही र उपसभामुख पुष्पा घर्तीसहित मन्त्री बनिसकेका कतिपयले यसपटक उम्मेदवार बन्ने अवसर नै नपाएका हुन् । घर्ती माओवादी केन्द्रबाट समानुपातिकतर्फ सिफारिस भए पनि बन्दसूचीमा पर्नुभएन ।

अमृता शाहीलाई कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गरे पनि उहाँले अन्तिममा टिकट पाउनुभएन । प्रदेशसभा सदस्य करवीर शाही, कृष्ण शाह, कौशिलावती खत्री, खड्कबहादुर खत्री, गणेशप्रसाद सिंह, गोपाल शर्मा, चन्द्रबहादुर शाही, झोवा विक, दानसिंह परियार र दिनबन्धु श्रेष्ठले पनि टिकट पाउनुभएन ।

एमालेका खड्कबहादुर खत्री उम्मेदवारका लागि निर्वाचन क्षेत्रबाट एकल सिफारिस भए पनि अन्तिममा पार्टीले उहाँलाई टिकट दिएन । खत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, निवर्तमान प्रदेशसभा सदस्य देवी ओली, नरेश भण्डारी, पद्मा खड्का, मिनासिंह रखाल, यज्ञबहादुर बुढाक्षेत्री, राजु नेपाली, रातो कामी, विमला केसी, सीता नेपाली, सुशील थापा, हिमबहादुर शाही, शोसिला शाही र नन्दसिंह बुढाले पनि यसपालि उम्मेदवार बन्ने अवसर पाउनुभएन । दलहरूले समानुपातिकतर्फ पनि पुरानालाई भन्दा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् ।

कर्णालीमा अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका पाँचजना यसपटक पनि सोही पदको दौडमा छन् । पार्टीले उनीहरूलाई दोहो¥याएर प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको हो । एमालेले सुर्खेतमा प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्रमध्ये एउटामा निवर्तमान प्रतिनिधिसभा सदस्यलाई नै उम्मेदवारका लागि मनोनयन दर्ता गराएको छ ।

सुर्खेत-१ मा ध्रुवकुमार शाहीले अहिले पनि टिकट पाउनुभएको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजय भोग्नुभएका पूर्णबहादुर खड्कालाई सुर्खेत-१ र हृदयराम थानीलाई सुर्खेत-२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । एमालेले दैलेख-१ बाट प्रतिनिधिसभा सदस्यका लागि यसपालि पनि निवर्तमान प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मालाई उम्मेदवार बन्ने मौका दिएको छ ।

डोल्पाबाट धनबहादुर बुढाले फेरि पनि प्रतिनिधिसभाको टिकट पाउनुभएको छ । जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतलाई यसपालि पनि प्रतिनिधिसभाको टिकट दिइएको छ । ०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचन हुनुभएका बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्यमा पनि विजयी हुनुभएको थियो । यसपटक पनि उहाँ सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको हो । रुकुम–पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मालाई नै प्रतिनिधिसभाको टिकट दिइएको छ । उहाँ ०६४ सालको संविधानसभा सदस्यको निर्वाचनयता लगातार उम्मेदवार बनेर संसद्को प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?