सत्ता साझेदार दलको बैठक भोलि बालुवाटारमा बस्ने , यस्ता छन् एजेण्डा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता साझेदार दलको बैठक भोलि बिहीबार बालुवाटारमा बस्ने भएको छ ।

खुमलटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले भोलि बालुवाटारमा बैठक बस्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँकै निवास खुमलटारमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट गर्नुभएको थियो । उहाँहरुबीच करिव साढे २ घण्टा छलफल भएको थियो ।

दुई वर्षपछि ओली प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । यसअघि एउटै पार्टी नेकपामा हुँदा २०७७ पुस ४ गते ओली खुमलटार पुग्नुभएको थियो । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।

दुई नेताबीच आज भएको भेटमा आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ।

खुमलटारमा उहाँहरुबीचकाे छलफल क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’

अध्यक्ष ओलीले भर्खरै सरकार गठन भएको र अब सरकारलाई कसरी अगाडि बढाउने लगायत समसामयिक विषयमा पनि कुरा भएको बताए ।
नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार प्रभु साह,अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन्।

भोलिको बैठकमा सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तयलगायत विषयमा छलफल हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?