मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

गुल्मी । गुल्मीदरबार गाउँपालिकाले मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सहयोग गरेको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीसँग सम्झौतामा गाउँपालिका भित्रका नागरिकहरुको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गर्न शुरु गरिएको हो ।

-याप सर्भेका अनुसार यस गाउँपालिकामा ३१४ जना मोतिया बिन्दुको तत्कालै अप्रेशन गर्नुपर्ने बिरामी छन् । आर्थिक अभाव कारण कोही पनि नागरिकले दृष्टि गुमाउन नपरोस भन्ने उद्देश्य राखेर मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको पालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो । “गाउँपालिकाभित्रका नागरिकहरुको सेवा गर्ने हाम्रो कर्तव्य हो”, अध्यक्ष थापाले भन्नुभयो, “मानव शरीरको आँखा जस्तो संवेदनशिल क्षेत्रमा आर्थिक अभावका कारणले कोही पनि नागरिकहरु दृष्टि गुमाउनु हुँदैन ।”

नागरिकहरुको सेवा पु-याउनुपर्छ भन्ने भावनाले निःशुल्क अप्रशेनको सुरुवात गरेको अध्यक्ष थापाले बताउनुभयो । यसको अधितम सेवा लिन पनि उहाँले आग्रह गर्नुभएको छ । यहाँ आई मोतिया बिन्दुको शल्यक्रिया गर्नसक्ने नागरिकहरुले अन्य ठाउँमा उपचार गरेको आवश्यक कागजात पालिकामा पेस गरे पालिकाले तोकेको मापदण्ड अनुसारको आर्थिक भुक्तानी गरिने समेत उहाँले बताउनुभयो ।

गाउँपालिकाले आफ्ना नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर राखेर मोतियाबिन्दुको अप्रशेन गर्नुपर्ने बिरामीहरुको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाले नेपाल नेत्र ज्योति संघसँग आगामी पाँच वर्षका लागि सम्झौता गरी आफ्ना नागरिकहरुको निःशुल्क मोतियाबिन्दुको अप्रेशन गर्न शुरु गरेको पाण्डेले बताउनुभयो । सम्भौता अनुसार प्रत्येक आँखाको शल्यक्रिया गर्दा ९ हजार रुपियाँ लाग्छ । जसमा ३ हजार रुपियाँ नेत्र ज्योति संघले आफैँले व्यहोर्छ । ६ हजार रुपियाँ गाउँपालिकाले व्यहोर्नेछ । जसअनुसार प्रथम पटक १३ जना नागरिकहरुले निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया गरेका पाण्डेले जानकारी दिनुभयो ।

नेपाल नेत्र ज्याति संघ गुल्मीका सभापति शेरबहादुर थापाले केन्द्र देखि जिल्लातहसम्म हरेक पालिकामा सेवा विस्तार गर्ने नेत्र ज्योति संघको नीति रहेको बताउनुभयो । जिल्लाका तिन वटा पालिकासँग सम्झौता गरी मोतिया विन्दुको निःशुल्क अप्रेशन गर्न शुरु गरिएको बताउनुभयो । अहिले रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका र गुल्मीदरबार गाउँपालिकासँग सम्झौता गरी त्यहाँका नागरिकहरुलाई निःशुल्क मोतिया विन्दुको अप्रशेन गर्न शुरु गरिएको बताउनुभयो । अन्य पालिकाका अध्यक्षहरुसँग पनि छलफल गरेको बताउँदै अध्यक्ष थापाले उनीहरु सकरात्मक रहेको बताउनुभयो ।

नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले स्थानीयतह अहिले साधन र स्रोतले सम्पन्न भएकाले बाँकी रहेका पालिकाहरुले पनि आफ्ना नागरिकहरुको स्वास्थ्यमा पहुँच बढाउनका लागि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । संयोजक पाण्डेले यस कार्यक्रमबाट मूलतः ६० वर्ष माथिका जेष्ठ नागरिकहरु नै लाभांवित हुने बताउनुभयो । नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउनु स्थानीय तहको दायित्व भएको उहाँको भनाइ छ ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्य बस्नेतका अनुसार गुल्मीदरबार गाउँपालिकाका १३ जना, ईश्मा गाउँपालिकाका १९ जना र रेसुङ्गा नगरपालिकाका ५६ जनाको निःशुल्क आँखाको मोतियाबिन्दुको अप्रेशन गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?