✍️ सुरेशकुमार भट्ट
आजभन्दा झण्डै ७० वर्षअघि गोरखाको गाउँमा थेटर नाचगानको पहिला सुरु र गुरु चित्रे पामका गुरुङ समुदायका टोपमान सुबेदार, उद्वीर जम्दार, लैबरिया जम्दार, हर्कबहादुर, धनबहादुर, मायादेवी र हीरादेवीलगायतको १०/१२ जनाको टिम थियो । शायद तिनै होलान् पहिला गाउँमा थेटर सुरुवात गर्ने भन्ने यो पंक्तिकारको ठम्याइमा परेको छ । दश-बाह्र सालतिरबाट यी लाहुरे परिवारले लाहुरबाट रिटायर्ड भई आएपछि गोरखा पल्टन र नेपाली पल्टनमा गरिएको रमाइलो नाचगानलाई थेटरको रूप दिई सुरु गरे होलान् । हुन त गाउँघरका पूजाआजा जाग्रममा भजन, बालुन, रोदीभाका झ्याउरे रसिया गाउने, बत्ती कुर्ने र रात बिताउने चलन पुरानै हो ।
युगौंदेखि नेपालीका गाउँघर बस्ती बस्तीमा । त्यसैलाई नाचको रूप दिएर थेटर पनि सुरु भयो । त्यही थेटरलाई स्थानीय जनको भाषा भाका बोलीले तिनै गीत नाचलाई टपक्क टिपेर ‘साइली माइली’ भाकामा झट्किलो गीत सुनेर र फुर्तिलो र चुड्किलो नाच हेरेर देखेर ‘साइली माइली’ भाका र नाच पनि ‘साइली माइली’ को नाच भन्ने नाम दिए । हुँदा हुँदा त्यो नाच र गीत महेन्द्र राजाको राज्याभिषेकमा काठमाडौं पुगी प्रदर्शन गरे, विजयी पनि भए र पुरस्कार तक्मा बकस पाए । त्यसपछि राष्ट्रियस्तरमा यो ‘साइली माइली’ को नाम चल्यो २०१६÷०१७ सालतिर यो साइली माइलीको गर्रा दार्जिगिङमा नाचगान गर्न गयो ।
भुरा केटाकेटीदेखि बूढाबूढीसम्म अझ त्यतिखेरका युवा युवतीमा दरौंदीपारि मात्र, सिरान्चोक क्षेत्रमात्र पनि होइन दरौंदीपूर्वका गाउँघरमा समेत धमाधम थेटर नाचका गर्रा तयार गरेर नाचगान गर्न थाले । ‘साइली माइली’ नाचकै प्रभावबाट बचपनदेखिको यो पंक्तिकारले यो प्रभावित बनेको छ ।
त्यताबाट फर्केको केही समयपछि चीनमा नाचगान लिएर यही गर्रा गयो तर यहाँनेर के विचारणीय छ भने राजा महेन्द्रको सवारीमा वा प्रधानमन्त्री बीपी कोइरालाको सवारीमा वा अन्तर्राष्ट्रिय लोकगीत सम्मेलनमा गएका हुन् त्यस्को पंक्तिकारलाई एकिन छैन भएन भुरा बेलाको कुरा भएकाले तर गीत भने २०१७ सालमा चीन जानका लागि हाम्रो घरको बाटो काठमाडौं जान आउँदा बास बसेको बेला ‘भोलि हामी चीनमा जानी हो, पर्सी नेपाल फर्किआउने हो’ भनेर गाएको सुनेकाले बालपनको पंक्तिकारलाई त्यति बेलैदेखि कण्ठै छ । त्येसैले चीन जान लाग्दा गाएका हुन् भन्ने मेरो विश्वास र निक्र्याेल पनि हो । दाजुहरूले कुरा गरेको सुन्दा चीनमा जितेर पुरस्कार तक्मा ल्याएका थिए रे ।
१ः ‘साइली माइली’ र ‘लैबरी’ नाम किन ?
लोकगीतमा जुन रहनी, टेको, बिसाउनी वा गेडो हुन्छ त्यही नामले त्यस गीतलाई पुकारिन्छ । जस्तै कि सबैले गाउने गीतमा सलाजु ‘यानी माया’, बरिलै, निरमाया, निर जले रामसाइली, रेलीमै, लैबरी, साइली माइली, आदि धेरै छन् त्यस्तै रत्यौलीमा हम्काइलो, धुपी, जोगिया, आदि तीजमा बरिलै, होई, है आदि । जुनभाका छोपेर गेडो समातेर गीत गाइयो त्यो गीतको नाम त त्यही भई हाल्यो । त्यो भाका निकाल्ने गाउने जो हो उसलाई समेत त्यही नामले पुकारिन्थ्यो ।
त्यही भएर पूरै गर्रालाई नै ‘साइली माइली’ र लैबरी भाका गाउने हर्कबरादुर गुरुङलाई ‘लैबरी’ भन्ने नाम दिए । जस्तै त्यति बेला सिरान्चोक चित्रे पामका गर्राले सुरु गरेको ‘साइली माइली’ हरेकको जन जिब्रोमा झुण्डियो भिजि हाल्यो । त्यसैले यो गीतको गेडोदेखि छेडोसम्म ‘साइली माइली’ नै रहन गयो । भुरा केटाकेटीदेखि बुढाबुढीसम्म अझ त्यतिखेरका युवा युवतीमा दरौंदीपारि मात्र, सिरान्चोक क्षेत्र मात्र पनि होइन दरौंदीपूर्वका गाउँघरमा समेत धमाधम थेटर नाचका गर्रा तयार गरेर नाचगान गर्न थाले ‘साइली माइली’ नाचकै प्रभावबाट बचपनदेखिको यो पंक्तिकारले यो सब हेर्ने सुन्ने गरिआएकोले नजर अधर र गान कानमा ताजै छ ।
केही सम्झनामा रहेसम्मका पूरा, अधुरा गीतका टुक्का टुक्राहरू केही यहाँका राख्ने जमर्को गरेको छु जुन गोरखाली लोकगाथा सोधखोज र अनुसन्धानको पर्खाइमा छ जसले राष्ट्रिय प्रसारणको रेडियो नेपालमा तीन शसकभन्दा बढी राष्ट्रिीय धुनको रूपमा नेपाली जन मनमा कर्णप्रिय र ‘स्वत्व’ आफ्नोपन पहिचानको रूपमा गर्व गरेका थिए गोरखाली मौलिक लोकगाथा आज त्यही गोरखाको ‘साइली माइली’ लोकगाथा हाम्रो सोध खोजको माथा भएको छ किनकि नेपाली साहित्यको माता नेपाली लोक गाथा नै हो । तमाम गोरखालीमात्र होइन नेपाली लोकगीत गाथा प्रेमी सम्पूर्ण नेपालीलाई त्यही लोकधुन सालघारीबाट माल घारी आयो ए साइककला सारा वन रुझाउने, ए साइला मन केले बुझाउने । यही धुन नेपालको राष्ट्रिय प्रसारणको संघीय लोकधुन बनेर फेरि बजोस् नेपाली जनमनमा स्वाभिमानको कर्णप्रिय धुन पुगोस् ।
२ : गीतको बोल र रहनी
साइली माइली दार्जलिङ घुम्न जाउ २
सबैले भन्छन् दार्जलिङ राम्रो ‘म भन्छु कस्तो छ ?
साइली माइली म भन्छ
झिली र मिली बिजुली बत्ती इन्द्रैपुर जस्तो छ ।
साइली माइली इन्दै्रपुर
३ : लोकगीतको धुन-गीतको लय र भाका
१-सालघारीबाट मालघारी आयो, ए साइककला सारा वन रुझाउनी
तिमी त उठी पल्टनमा जानी, ए साइला केले मन बुझाउनी ?
२-कहिलेको झरी कहिलेको बादल घाम छायकका
दुई दिनको जिन्दगानी राम छाया ।
३- लैबरी लैबरी
यो माथिको एक र दुईको गीतको धुन २०१३÷१४ राजा महेन्द्रको राज्यभिषेकदेखि नै राष्ट्रिय पहिचान बनायो । जब जन निर्वाचित दुई तिहाइको सरकार अपदस्थ गरेर राजाको निरंकुश शासनको सुरुवात गरे त्यसको केही समयपश्चात् उनलाई मन परेको यो साइली माइली गीतको लोकप्रिय धुन रेडियो नेपालबाट समाचार अघि बजाउन सुरु गरियो । राजाकै निर्देशनमा यो धुन जनताको मनजितेकाले राखिएको भन्ने पनि खास खुश त्यति खेर कुरा नचलेको होइन भन्थे केही पाका पुस्ता ।
तर, यो धुन २०४७ सालको परिवर्तनसम्म थियो त्यसपछि यो लोकप्रिय धुन रेडियो नेपालबाट हटाइयो र पनि जनतालाई हटाएकोमा मनपरेको थिएन दुखित थिए यो मीठो लोकप्रिय धुन हटाइएकोमा । त्यसैले केही जनगुनासो सुने झैं गरी जिल्ला समाचार अघि केही समय बज्थ्यो त्यो पनि पछि हटाइयो भन्ने जनगुनासो अद्यपि गाउँघरमा सुनिन्छ । फेरि त्यही धुन बजोस् भन्ने चाहना लोकगीत प्रेमीहरूमा अझै छ । त्यसैले सरकारले जनताको चाहना पूरा गर्न फेरि त्यही लोकधुन सुरु गरिदेवस् भन्ने आग्रह गरेका छन् ।
४ः साइली माइलीका प्रवर्तक को हुन् ?
साइली माइली पनि लोकभाका नै हो तर त्यतिखेर यस प्रकारको चुड्किलो झट्किलो गीत नाच र भाका गाउँघरमा त्यत्ति थिएनन् । यसलाई सबैले मीठो र जनजिब्रोमा छिट्टै लिए कर्णप्रिय भयो । तथापि यसको सोचाइ लाहुरेहरूले लाहुरकै छाउनीमा गोरखा पल्टनमै वा पल्टनमै गरेर आएको हो कि भन्ने भान हुन्छ किनकि यसको गायन नित्य र गीतमा लाहुरेहरूकै बाहुल्य लाहुरेकै परिवारको बढी सहभागिता र सक्रियता रहेकाले पनि यो तर्कना गर्न बल मिलेको छ । तथापि तत्कालीन समयका नर्तकी, गायक, गीतकार कोही पनि अहिले हामी पाउन सक्दैनौं । सायद ती नृत्यकलाकारहरू पनि छाउनीमै जन्मिएर हुर्किएर आएका पनि थिए कि ?
किनकि मायादेवी, हिरादेवी उद्वीर जम्दारका परिवारका र हलुकोसँग राम्रो नाच्ने धनबहादुर टोपमानका नातेदार थिए । जे होस् २०२०/०२१ सालसम्म साइली माइली गीत नृत्यको चर्चा चलिरहेकै थियो । टोपमान सुबेदार जिल्ला पञ्चायतको सदस्य थिए त्यसैले समयको फेरबदलसँगै कार्यबाहक सभापति हुँदा गोरखाको टुँडिखेलमा समेत मञ्चन भएको जस्तो लाग्छ किनकि हामी त्यतिखेर शक्ति हाइस्कुलका विद्यार्थी थियौं गीत चाहिँ सुनेकै हो । स्वयम कावा सभापति टोपमान सुबेदारसमेत हातमा टोप लिएर झट्किलो पाराले एकलै नाचेका थिए ।
यसरी बुढो हुँदा पनि आफैँ नाच्ने गाउँने शिकार खेल्ने टोपमान गुरुङ सुबेदार नै यसका प्रमुख थिए भने साथसाधै मेट्रिक सरहको शिक्षा हासिल गरेका उद्वीर सिंह गुरुङ जम्दार नाच्न, गाउन बजाउनमात्र होइन जादू देखाउन र प्रहसनमा पनि पोख्त र उत्तिकै फुर्तिला थिए । उद्वीर जम्दार गोरखा सोल्जर बोर्डका जिल्ला सेक्रेटरी पनि भए । त्यस्तै हर्कबहादुर लैबरी भाकाका गायक हुनाले नामै लैबरिया रहृयो ।
उस्तै गरी नाच्नमा धनबहादुर गुरुङ, मायादेवी (होमाया) गुरुङ र हिरादेवी गुरुङलगायत यिनीहरूसँगै १०/१२ जनाको गर्रा थियो । यिनीहरू यति हलुंगोसँग नाच्थे कि पंक्तिकारलाई अहिले पनि पुतली हो कि मान्छे यस्तो फिलिली भन्ने लाग्छ । मैले बचपनमा सुनेका सबै नाम स्मरण हुन सकेनन् तर खोजी जारी छ । साइली माइली नाच लिएर दार्जलिङ जान आउँदा हाम्रोको घरमा बास बसेर गाएको नाचेको गीत स्मरण भएसम्म माथि नै उल्लेख गरिएको छ ।
५ः साइली माइलीको प्रभाव-अन्तर्राष्ट्रिय मानसम्मान, पहिचान र उच्स्थान आर्जन गरिसकेको साइली माइली नृत्य र गानले नेपाली गाउँघर जनमनमा बास नपाउने त कुरै भएन । जुन यति कर्णप्रिय थियो कि बाटो हिँड्ने पनि त्यो लोकधुन सुन्नेबित्तिकै टक्क अडिन्थे र सुनिरहन्थे, बज्न रोकिएपछि गन्तब्यतिर लाग्थे । यो साइली माइली गीत र नाचको प्रभावले गोरखाका गाउँघरमा धेरै ठाउँमा थेटर नाचको लहर चल्यो ।
तिनै लहर चलेको र पटक-पटक साइली माइलीको नाच हेर्ने र चिनजानका गर्रा हुनाका कारण गोरखा मसेलका युवाहरूले सशक्त रूपमा थिएटर नाच जमाए । किनभने गंगाप्रसाद भट्ट/धनप्रसाद भट्टको परिवारमा उनीहरूको परिवारको समेत सम्बन्ध थियो । त्यसैले गंगाप्रसादको घरको चतुर्मासमा समेत टोपमान सुबेदारले साइली माइली नाचका गर्रा लिएर आएका थिए । ‘२०२१ सालअघि दोखि नै गंगाप्रसाद बा हामी टोपमानबीच आउने र जाने भइरहेको हुन्थ्यो जब म केही समय भूमिसुधारमा जागिरे भएँ त्यस बेला झन् हाम्रो सम्बन्ध र उहाँहरूको निकटता रहृयो भन्नुहुन्छ कोशविलास भट्ट ।
प्राय पालैशान्ति नाच्ने गर्दथे, कति गीत साइली माइलीकै र केही भाका छोपेर गाउँथे । २०१८ सालको सुरुतिर त सत्र सालको संसदीय सरकार अपदस्थ गरिएपछि यिनै युवाले पनि थिएटर नाचमा ‘धन्य हरे विश्वेश्वर कोइराला, जेलमा बसी आँशुको बैराला’ भनेर गाउँदै नाच्दै गरे ।
मसेल सपुंग्गेका वीरबहादुर पाण्डे लगायत तत्कालीन युवाहरूमा वेनीप्रसाद पाण्डे, थिरप्रसाद बजगाईं, क्रिष्णबहादुर रावल, झण्डे बराम, फणिदत्त खनाल, हरिलाल घिमिरे, बगाले माइला, चन्द्रबहादुर बराम, गुन्जमान बराम, बस्नेत नाति, डल्ला गुरुङ, चरणबहादुर बस्नेत र केही महिलाहरूले पनि थिएटर नाचको पहिरन र श्रृंगारमा र गायनमा सहयोग गरेका थिए ।
किशोर बयका तीर्थ बजगाई, दयाराम रेग्मी, खीलबहादुर रावल, नेत्रबहादुर रावल, ज्ञानबहादुर रावल वयश्कहरूमा पदमबहादुर पाण्डे, रेग्मी साइला, रमाकान्त रेग्मी, नरहरि रेग्मी, खडानन्द रेग्मी, गंगाप्रसाद घिमिरे, राहुल कान्छा, नरबहादुर बस्नेत, नन्दलाल घिमिरे, लगायतका संलग्न थिए । यीमध्ये कतिपय नृत्यका कोही गायन र कोही प्रहसनमा निपुण थिए । यति मसेलका युवामा भएको प्रतिभा प्रस्फुटन र सांस्कृतिक जागरणको प्रभाव र प्रेरणा साइली माइली नाचगानकै सिराञ्चोक चित्रे पामकै हो भन्नेमा पंक्तिकारलाई विश्वास छ ।
प्रहसनमा थीरप्रसाद बजगाईको पोके नाच- ‘तेर्सो हाँगो रेलिमाई चरीले टेकेको, कति राम्रो रेलिमाई पोकेले नाचेको’ भन्ने गीतको बोल थियो नृत्यको हाउभाउले नै दर्शक मुर्छा परेर हाँस्थे । अर्को प्रहसन प्रस्तुतकर्ता पोख्त फणिदत्त खनाल थिए । उनका नृत्य हाउभाउ र मुखको चाल अनि बहुरूपी बोली र हाँसोले दर्शक लठै हुन्थे । उनको पालो कहिले आउला भनेर दर्शकहरू पर्खिरहेका हुन्थे । विचित्रको प्रतिभा थियो यी खनाल कान्छा फणिदत्तमा । अर्का रमाकान्त रेग्मी उमेर पनि अरूभन्दा अलि पाको हुनुहुन्थ्यो जो कलकत्तातिर नोकरी गर्नुहुन्थ्यो प्राय हिउँदमै उहााँ घर आउनुहुन्थ्यो ।
उहाँका गाउँमा आएपछि र थेटरमा देखिनु भएपछि सबै रमाउन थाल्थ्यौँ । आज बूढाले कति के रमाइला गाना गाउने हुन् कि हँसाउने हुन् वा जादू देखाउने हुन् ? भनेर हामी भुरा जता रेग्मी साइला उतै हाम्रा पाइला हुन्थे । उहाँ बंगलमा राम्रो बोल्ने गाउने गर्नुहुन्थ्यो । एउटा गाना बचपनमा उहाँबाट थेटरमा सुनेको– ‘हकका हकका इचुक दाना बिचुक दाना दानै उपर दाना, छोकडा उपर छोकडी नाचे ऐशा है दिवाना ।’ गजबको हाउभाउ गर्नुहुन्थ्यो । अनि कुनै बेला मुखबाट आगो उकेल्नु हुन्थ्यो । अनि कहिले जादू पनि देखाउनुहुन्थ्यो । ऊहाँ साह्रै रमाइलो मान्छे हुनुहुन्थ्यो, त्यति साह्रै नाके स्वर त होइन तर नाकेश्वरले गाउने र बोल्ने गर्दा मुर्छै पारिदिनुहुन्थ्यो हँसाएर दर्शकलाई ।
त्यस्तै नाच्नमा प्रायः पालैशान्ति नाच्ने गर्दथे कति गीत साइली माइलीकै र केही भाका छोपेर गाउँथे । २०१८ सालको सुरुतिर त सत्र सालको संसदीय सरकार अपदस्थ गरिएपछि यिनै युवाले पनि थिएटर नाचमा ‘धन्य हरे विश्वेश्वर कोइराला, जेलमा बसी आँशुको बैराला’ भनेर गाउँदै नाच्दै गरे ।
गला र कला खुलेपछि मात्र थाहा हुन्छ त्यसैले चित्रे पामबाट सुरु भएको लोकगीत र नृत्यले अन्तर्राष्ट्रिय भ्रमण र प्रदर्शनको अवसर पायो । मानसम्मान र इनाम पायो, गोरखाली मौलिक लोकगीत गाथाको पहिचान गरायो । तब त भन्छन् भाषा, कला, संस्कृति र सभ्यता एकै ठाउँमा मात्र सीमित हुँदैन, यो विश्वको एक कुनाबाट अर्को कुनामा ढिलो चाँडो पुगेकै हुन्छ भने झैँ पुग्यो र आफ्नो सुमधुरता गुञ्जायो । त्यही लोकधुन २०४६ सालको परिवर्तनपछि रेडियो नेपालको समाचार अघिबाट हटाइयो तर नेपाली जनमनमा भिजेको लोकगीत र कर्णप्रिय संगीत लोकधुन पुनः राखियोस् भन्ने जनआवाज साथ यो पंक्तिकार साग्रह अनुरोध गर्दछ । फेरि बजोस् त्यही लोकधुन गोरखाली धुन राष्ट्रिय धुन । गीतका पंक्ति यस्तै यस्तै हुन् :
सालघारीबाट मालघारी आयो ए साइला सारा वन रुझाउनी
तिमी छौ स्वदेश म त छु परदेश ए साइला मन केले बुझाउनी ? ।
हाल अमेरिका
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच