म्याग्दीको बेनीमा सार्वजनिक जग्गामा बनेका संचरना डोजर लगाएर भत्काइँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना शुक्रवार (आज) देखि डोजर लगाएर हटाउन सुरु गरेको छ ।

बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । शुक्रवार बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको हो ।

कालीपुल बसपार्कलाई विस्तार र निर्माणका लागि सञ्चालन भएको पूर्वाधार योजनालाई पूर्णता दिन अव्यवस्थित रुपमा रहेको टिकट काउन्टर,सार्वजनिक शौचालय र भवन हटाइएको वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनु भयो ।

उहाँका अनुसार, अव्यवस्थित रुपमा सार्वजनिक जग्गामा सञ्चालित रेष्टुरेण्टलाई समेत एक साताभित्र हटाउने तयारी भएको छ । ‘बसपार्कलाई व्यवस्थित बनाउन यहाँका अव्यवस्थित संरचना हटाइएको हो, रेष्टुरेण्ट सञ्चालकले एक साताभित्र आफैँ खाली गर्छु भनेपछि समय दिएका छौँ’–वडा अध्यक्ष कर्माचार्यले भन्नुभयो । बसपार्कलाई व्यवस्थित बनाउन त्यहाँ रहेका भौतिक संरचना डोजर चलाएर हटाउन थालिएको हो ।

नगरपालिकासंग सार्वजनिक जग्गा भाडामा लिएर बसेकाहरुले सम्झौताको म्याद सकिएको र नगरपालिकाले पटक पटक ताकेता गर्दा समेत अटेर गरेपछि नगरपालिकाले डोजर लिएर अव्यवस्थित संरचना हटाउन सुरु गरेको जनाएको छ । शुक्रवार कालीपुल बसपार्क निर्माणस्थलमा पर्ने यातायात कम्पनीको दुई वटा टिकट काउन्टर, क्लबको भवन, सार्वजनिक शौचालयलगायतका अव्यवस्थित संरचना हटाइसकिएको छ ।
नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको पर्खाल पनि भत्काइएको छ । सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ । भवन निर्माण आसपासका क्षेत्रमा बसपार्क ढलानका लागि संरचना भत्काइएको नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बजारभित्रका अन्य क्षेत्रमा रहेका अव्यवस्थित भौतिक संरचना समेत क्रमिक रुपमा हटाइनेछ । विसं २०७४ मा तयार पारिएको कालीपुल बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार अहिले भौतिक संरचना निर्माण भइरहेको छ । यसका लागि रु २१ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

नगरपालिका कार्यालय अगाडि म्याग्दी नदीमाथि रहेको मोटरेवल पुलको हाँडेभिरतर्फ अतिक्रमण गरेर बनाइएको संरचना हटाएर त्यहाँ पनि जिपपार्क बनाउने तयारी गरेको नगर प्रमुख केसीले जानकारी दिनुभयो । ‘नगरपालिकाले पुल अतिक्रमण गरेर व्यवसाय गरेकासँगको सम्झौताको म्याद यसअघि नै सकिएकाले सो ठाउँ छाड्न पटकपटक पत्राचार गरेकोे छ, दुई बर्षदेखि भाडा पनि लिएका छैनौँ, अब बजेट विनियोजन भएर निर्माण व्यवसायि कार्यक्षेत्रमा परिचालन हुँदासाथ त्यहाँका अव्यवस्थित तवरले बनाइएको संरचना पनि हटाउँछौँ’–मेयर केसीले भन्नुभयो ।

पुल नजिकै भएका अतिक्रमण हटाएर बागलुङ, भकिम्ली र बरञ्जा चल्ने जिप तथा बस पार्किङस्थल बनाउने नगरपालिकाको योजना छ । जिल्ला प्रशासन कार्यालय अगाडिको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँग पनि नगरपालिकाले सम्झौता नवीकरण गरेको छैन ।
त्यहाँ नाली निर्माण संगै पार्किङस्थल बनाउनका लागि व्यवसायीलाई हट्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । बेनी नगरपालिका–८ कालीपुलको पुरानो बजारको एक रोपनीभन्दा बढी अतिक्रमण हटाएर उद्यान बनाइएको छ ।

बेनीको सार्वजनिक जग्गा, पुल, खोल्सा र सडक अतिक्रमण गरेर घर, अस्थायी टहरा बनाएका छन् । नगरपालिकासँग सम्झौता गरी सार्वजनिक जग्गा भाडामा लिएर व्यवसाय गरेका कतिपयले वर्षौंदेखिको वक्यौता तिरेका छैनन् । केहीले सस्तोमा सार्वजनिक जग्गा भाडामा लिएर महङ्गोमा अरुलाई भाडामा लगाउने पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?