हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठेको छः मुख्यसचिव बैरागी

Read Time = 4 mins

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको एभिएशन मिट २०२२ कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय हवाई उडान हेर्ने निकायहरु फरक हुनुपर्छ भन्ने विषयमा धेरै बहस भएपनि निस्कर्षमा नपुगेको बताउनु भयो ।

मुख्यसचिव बैरागीले नियमन निकाय नियम,कानूनको पालना भए, नभएको हेर्ने महत्वपूर्ण खम्बा भएको बताउनु भयो । उहाँले उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्ति र आर्थिक स्रोत आवश्यक पर्ने बताउनु भयो ।

उहाँले नेपालमा हवाई उड्डयन क्षेत्रमा बनेका पूर्वाधार दीर्घकालिन सोचको साथ बनाएको बताउनु भयो । मुख्यसचिव बैरागीले नेपालमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल चल्न सकेन भनेर चिन्ता लिन नहुने भन्दै दीर्घकालिन सोचका साथ बनाएकाले भविष्यमा राम्रो हुने बताउनु भयो ।

उहाँले निजगढ विमानस्थलको विषयमा धेरै बहस भएपनि निस्कर्षमा पुग्न नसकेकाले छिटै टुङ्गो लगाएर जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको हवाई उड्डयन क्षेत्रमा धेरै उल्लेख्य प्रगति भएको बताउनु भयो ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले हवाई इन्धनको मूल्य तत्कालै समायोजन गर्नुपर्ने बताउनु भयो ।

महानिर्देशक अधिकारीले नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकाले हवाई भाडा महँगिएको बताउनु भयो ।

उहाँले अहिले निगमले हवाई इन्धनमा ७८ रूपैयाँ नाफा लिँदै आएको बताउनु भयो । महानिर्देशक अधिकारीले हुम्ला, जुम्ला, सिमिकोटमा हवाई यात्राका लागि १ रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको बताउँदै यस्तो बेलामा एलपी ग्यासमा छुट दिएर हवाई यात्रुलाई मारमा पार्न नहुने जिकिर गर्नुभयो ।

उहाँले नेपालको हवाई नीति विमानस्थलहरुको नम्बर बढाउने तर जहाजको नम्बर बढाउनेतर्फ भने ध्यान नगएको बताउनु भयो । उहाँले हवाई क्षेत्रको विकास सरकारको हवाई नीतिको कारण हुन नसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?