लुम्बिनीको लगातार पाँचौ जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पराजित गर्दै लगातार पाचौं जित हात पारेको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गर्दै विजयी भएको हो । लुम्बिनीले दिएको १५१ रनको लक्ष्य काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रनमा समेटियो ।
काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले सर्वाधिक ३८ रनको योगदान दिनुभयो भने सुनाम गौतमले १८ रन बनाउनुभयो । यस्तै एलेक्स ब्लेकले ११ रन र कमलसिंह ऐरीले अविजित १९ रन बनाउनुभयो ।

लुम्बिनीका लागि हरमित सिंहले तीन तथा किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक/एक विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५० रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे भने लाहिरु मिलन्थाले २५ तथा स्याड्ली भानले २१ रन बनाउनुभयो । कुशल भुर्तेलले १९ रन थप्नुभयो । अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ रन बनाउनुभयो । काठमाडौँका लागि अजमतुल्लाह उमरजाईले दुई तथा अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान एक/एक विकेट लिनुभयो ।

पाँच खेलमा अपराजित रहेको लुम्बिनीले १० अंक जोडेको छ । लुम्बिनी अंक तालिकाको शीर्षस्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाडौं चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

शुक्रबार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्सले फार वेस्ट युनाइटेडलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । त्रिवि मैदानमा १८० रनको लक्ष्य पछ्याएको पोखराले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । पोखराको जितमा आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिनुभयो भने कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रन बनाउनुभयो । त्यस्तै सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रन बनाउनुभयो ।

फार वेस्टका लागि उमर अलि, करण केसी र प्रकाश जैशीले समान दुई/दुई विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८७ रन बनाएको थियोे । फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाउनुभयो । रशिद खानले ३२ तथा हसिम अन्सारी र भिम सार्कीले १७/१७ रन जोड्नुभयो । करण केसीले अविजित १२ रन बनाउनुभयो ।
पोखराका लागि जाहिर खानले तीन तथा तुलबहादुर थापा र अमिर हम्जाले समान दुई/दुई विकेट लिनुभयो । कुशल मल्ल र आरिफ शेखले समान एक÷एक विकेट लिनुभयो । पोखरा ६ खेलमा दुई अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पाँच खेल खेलको फार वेस्ट दुई अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले पाँच लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले दुई लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?