गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 7 mins

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्लामा १६.८९ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । यस जिल्लामा फल्ने र नफल्ने सुन्तलाको क्षेत्रफल करिब ९९७ हेक्टर रहेको छ । गत वर्ष ५३० हेक्टर उत्पादनशील क्षेत्रफलमा ५९३६ मेट्रिक टन उत्पादन भएको थियो । जसको उत्पादकत्व ११.०२ मेट्रिक टनप्रति हेक्टर रहेको भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष उत्पादनशील ५८८ हेक्टर क्षेत्रफलमा अनुमानित ६ हजार ८३८.४ मेट्रिक टन उत्पादन भएको छ । जसको उत्पादकत्व ११.८० मेट्रिक टनप्रति हेक्टर रहेको छ । यहाँ कुल सुन्तला बगैँचाको क्षेत्रफलको करिब ५९ प्रतिशत बोटहरू फलेका छन् । गत आव २०७८÷७९ मा कृषकहरूको स्वलगानी, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रमार्फत ५५ हेक्टर जग्गामा सुन्तला रोपिएको हो ।

‘गत वर्ष उत्पादन कम भएका कारण यो वर्ष बढेको देखिएको छ ।’ उहाँले भन्नुभयो, ‘उत्पादनशील क्षेत्रफलमा वृद्धि, फल बाक्लो लागेको, बगैँचा व्यवस्थापनमा सचेतना बढ्दै जानु, मौसमअनुकूल हुनु, फल्ने बोटको संख्यामा वृद्धि हुनुका साथै विगत १० वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासकोे कारणले सुन्तला उत्पादनमा वृद्धि भएको हो । ५० प्रतिशतभन्दा बढी सुन्तला बोटमै भए तापनि जिल्ला बाहिर दुई हजार ५९१ मेट्रिक टन निर्यात हुनेछ । अहिले २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला जिल्लामा उत्पादन भएको छ । यसबाट करिब १३ करोड २१ लाख ४१ हजार आम्दानी हुने प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।

सिञ्चाइ, काँटछाँटमा कम मात्र ध्यान पुगेको छ । सिट्रस ग्रिनिङ भन्ने रोगको समस्या पनि ठाउँ–ठाउँमा देखिएको छ । पतेरो, गवारो, लाही, झ्याउ, ऐँजरु, फल कुहाउने औँसालगायत अन्य रोग तथा किराको प्रकोप पनि देखिएको उहाँले बताउनुभयो । समस्याहरू समाधान गर्नका निमित्त विरुवा रोप्नेदेखि फल टिप्ने बेलासम्ममा बगैँचा व्यवस्थापनसम्बन्धी विभिन्न प्रविधिहरू सिफारिस गरिएका छन् तर उक्त प्रविधिहरू थोरै कृषकहरूले मात्र अनुशरण गरेका कारण हाम्रा बगैँचा ह्रास भइरहेको उल्लेख गर्नुभयो ।

सुन्तलाजात फलफूलको दिगो रूपमा बृहत्तर विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका अगौटे तथा पछौटे जातहरू पहिचान गरी तिनको व्यवसायीकरण गर्न लागेको छ । ‘गुणस्तरीय विरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापनमा सुधार गर्ने, सुन्तलाजात फलफूल विरुवाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतिमा कलमी विरुवामा उत्पादन प्रविधिको विस्तार गर्ने, बिजु विरुवा रोपण गर्ने कार्य पूर्णमा रूपमा बन्द गर्ने कार्यक्रम छ ।’ उहाँले भन्नुभयो, ‘बगैँचा व्यवस्थापनमा सुधार जस्तै मलखाद, सिञ्चाइ, काँटछाँट गरी उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम गर्नेछ । प्रभावकारी रूपमा रोग किरा व्यवस्थापन गर्ने, बृहत् उत्पादन क्षेत्र निर्माण गर्दै जाने, फल टिपाइ, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सुधार गर्ने कार्यक्रम रहेको छ ।’

सुन्तलाको अगौटे जातः ओकित्सु वासे र मियागावा वासे भदौदेखि कात्तिकसम्म उत्पादन हुन्छ तथा पछौटे जातः किन्नो जुन भारतबाट पुसदेखि चैतसम्म आयात हुन्छ । उक्त दुई जातहरूको प्रदर्शन गरी व्यावसायिक उत्पादनमा लैजाने, स्थानीय तहका कृषि प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्दै जाने भण्डारीले बताउनुभयो । जिल्लाका प्रायजसो सबै पालिकाहरूमा सुन्तला खेती गरे तापनि सुन्तला उत्पादनको लागि पकेट क्षेत्र रूपमा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गाउँपालिकाको लुम्छा, काउले, शृंगा, रुक्से, हुँगा, पल्लिकोट रेसुंगा नगरपालिकाको भाडगाउँ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले रहेका छन् । त्यस्तै, रुरुक्षेत्र गाउँपालिकाको मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट गुल्मीदरबार गाउँपालिकाको गौडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गाउँपालिकाको अर्बेनीको देउराली, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाको रेमी र हरेवा, मदाने गाउँपालिकाको भनभने रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?