सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

यज्ञराज पाण्डे
Read Time = 11 mins

काठमाडौं । सर्वोच्च अदालतले विकिनी किलरका रूपमा कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो । ‘थुनामा बसेका कैदीबाट आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाऊँ’ शोभराजले सर्वोच्चमा निवेदन पेस गरेका थिए । इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठह¥याएर थुनामुक्त गर्नू भनी आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतको आदेशमा निज शोभराजले ७५ प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन पनि खराब नदेखिएको भन्दै उनलाई संविधानअनुसार वृद्धको सुविधा दिनुपर्ने उल्लेख छ । आदेशमा अन्य मुद्दाबाट उनलाई थुनामा राख्नु नपर्ने भए तत्काल कारागारबाट रिहा गर्न र १५ दिनभित्र निजको देशमा डिपोर्ट गर्न पनि भनिएको छ ।

दुई विदेशी पर्यटकको हत्याको अभियोगमा शोभराजलाई २०६० असोज १ गतेदेखि थुनामा राखिएको थियो । भक्तपुर जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तोकिएको कैद सजायअनुसार उनी २०८० असोज १ गतेसम्म जेलमा रहनुपर्ने थियो ।

यस्तो थियो शोभराजको अपराध यात्रा
६ पुस २०३२ मा भक्तपुरको पलाँसेस्थित अरनिको राजमार्गको दक्षिणतर्फ ढलमा अनुहार डढाएको शव फेला परेको थियो । स्थानीय भरत राना मगरको खबरमा पुगेको प्रहरीले त्यहाँ सबै लुगा फुकालिएको र अनुहार चिन्नै नसक्ने शव बरामद गरेको थियो । त्यतिबेला नखुलेको त्यो शवको पहिचान दुई दिनपछि काठमाडौं को मनहरा घटनाबाट खुलेको थियो ।

भक्तपुरमा शव भेटिएको पर्सिपल्ट ८ पुस २०३२ मा बिहान ७ बजे गस्तीमा निस्किएका प्रहरीले मनहरा खोला किनारमा पेट्रोल हाली आगो लगाएको र मुटुमा छुरा रोपेर हत्या गरी फालिएको अवस्थामा एक युवतीको शव फेला पा¥यो । टाउकोदेखि पैतालासम्म डढेको, पूरै शरीरको भाग नांगो र मुटु लक्षित गरी चारपटक छुरी रोपिएको अवस्थामा फेला परेको शवको पहिचान पनि तत्कालै खुल्न सकेको थिएन ।
सोही समयमा धुलिखेल घुम्न गएका झोँछेको ओरियन्टल लजमा बस्ने दुई विदेशी पर्यटक नफर्किएको जानकारी आयो । प्रहरीले त्यही लजमा बस्दै आएका अष्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनलाई मनहरामा शवसँगै भेटिएको झुम्का देखाएर मृतक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिचको पहिचान गरेको थियो ।

कोन्नी धुलिखेल घुम्न गएको सूचनाका आधारमा अनुसन्धानमा खटिएका प्रहरीले भक्तपुरमा विदेशी पुरुषको शव फेला परेको सूचना पायो । र, मृतक कोन्नीका प्रेमी लरेन्ट भएको खुल्यो । कोन्नी र लरेन्ट २८ मंसिर २०३२ देखि ओरियन्टल लजको कोठा नम्बर ९ मा बस्दै आएका थिए ।

प्रहरी अनुसन्धानमा यी दुवैको सम्पर्क होटल सोल्टी ओबराय (अहिले होटल सोल्टी) मा बस्ने भियतनामी नागरिकसँग रहेको सूचना फेला प¥यो । त्यसकै आधारमा प्रहरीले भियतनामी नभई भारतीय-चिनियाँ अनुहारसँग मिल्दोजुल्दो जोडी हेनरिकस विन्ताजा र कुकी हेमकरलाई फेला पारेका थिए ।

त्यही समयमा यहाँको हत्या प्रकृतिसँग मिल्ने गरी केही अघि थाइल्याण्डको बैंककमा पनि एक विदेशी नागरिक मारिएको सूचना नेपाल प्रहरीले पाएको थियो । नशालु पदार्थ खुवाई पेट्रोलियम पदार्थ हालेर आगो लगाएर गरिएको उक्त हत्याको प्रकृति कोन्नी हत्यासँग मेल खान्थ्यो ।

बैंकको हत्यामा सम्भावित हत्याराका रूपमा एलेन गोटियरको नाम आयो । प्रहरीको अनुसन्धानमा गोटियर र सोल्टी ओबरायमा बसेका हेनरिकस विन्ताजा एकैझैँ देखिएपछि दुवैलाई होटलमै निगरानीमा राखियो । र, अनुमति लिएर मात्र होटलबाट बाहिर निस्कन निर्देशन दिइयो । यसको केही समयमै उनीहरू एकाएक होटलमै सामान छाडेर बेपत्ता भए । पछि कुकीको असली परिचय मोनिक लेक्लर्क र हेनरिकस चाहिँ चाल्र्स शोभराज रहेको खुलेको थियो ।

२८ वर्षपछि काठमाडौंमै पक्राउ
प्रहरीलाई छक्याउँदै २८ वर्षअघि भागेका शोभराज २ असोज २०६० मा रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परे । उनको पक्राउसँगै यहाँ रहेको २८ वर्ष अघिको हत्या र फर्जी राहदानीको मुद्दा ब्युँतियो । २०६० सालमा दोस्रोपटक नेपाल आउने क्रममा पक्राउ परेका शोभराजविरुद्ध कोन्नीको हत्या र फर्जी राहदानीको अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनायो । लरेन्टको मुद्दा भने मुल्तवीमै रहेको थियो ।

कोन्नी र लरेन्टको हत्याको प्रकृति एकै भएकाले कोन्नीको हत्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट हत्यामा प्रमाणका रूपमा प्रस्तुत गरियो । सुरुमा चाल्र्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए । पछि प्रहरीसँगको बयानका क्रममा उनले कोन्नी र लरेन्ट एकै गेष्टहाउसमा बस्ने गरेको जानकारी दिएका थिए ।

शोभराजलाई कोन्नीको हत्यामा सर्वस्वसहित जन्मकैदको सजाय २०७१ मा भुक्तान भए पनि त्यही समय लरेन्टको हत्याको मुद्दाको कारबाही प्रक्रिया अगाडि बढेको हो । पुनरावेदनले भक्तपुर अदालतकै फैसला सदर गरेसँगै शोभराजको जेल सजाय नौ वर्ष थपिएको हो ।

ज्येष्ठ नागरिकलाई दिएको सुविधाअनुसार शोभराजलाई सर्वोच्चबाट रिहाइ
शोभराजले यसअघि नै सर्वोच्च अदालतमा ज्येष्ठ नागरिकलाई संविधानले दिएको सुविधाअनुसार रिहा हुन पाऊँ भन्दै निवेदन दर्ता गराएका थिए । विदेशी नागरिकको हत्या आरोपमा केन्द्रीय कारागारको गोलघरमा रहेका फ्रान्सेली नागरिक शोभराजका तर्फबाट अधिवक्ता शकुन्तला थापाले १९ कात्तिक २०७५ मा रिट निवेदन दर्ता गराएकी थिइन् ।

अधिवक्ता थापाले शोभराजको खस्कँदो स्वास्थ्य अवस्था तथा ज्येष्ठ नागरिक ऐन २०६३ र कारागार नियमावलीअनुसार रिहा गर्न परमादेशको आदेश माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् । ज्येष्ठ नागरिक ऐन २०६३ को दफा १२ अनुसार ७० वर्ष पूरा भई ७५ ननाघेको कैदीलाई ५० प्रतिशत कैद छुटको व्यवस्था गरेको छ । तर, यो सुविधा नेपाली नागरिकका हकमा मात्र लागू हुन्छ । शोभराज असोज २०८० सालसम्मका लागि कैद भुक्तान गरिरहेका थिए ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको इजलासले शोभराजलाई कारागार ऐन र नियमावलीको प्रावधानअनुसार उमेरहदका कारण रिहा गर्नुपर्ने देखिएकाले तीन महिनाभित्र निर्णय गर्न सरकारलाई १२ फागुन २०७५ मा आदेश गरेको थियो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले २० कात्तिक २०७५ मा शोभराजलाई थुन्नुको कारण माग्दै सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो ।

न्यायाधीशद्वय बालकृष्ण उप्रेती र नारायणप्रसाद शाहको संयुक्त इजलासले भक्तपुरमा २०३२ सालमा हत्या गरिएका क्यानेडियन नागरिक लरेन्ट अर्मान्ड कारियाको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले १ असोज २०७२ मा गरेको सर्वस्वसहित जन्मकैदको फैसलालाई सदर गरेको थियो । भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

दुई वर्षअघि उच्च अदालत (तत्कालीन पुनरावेदन अदालत) पाटनले त्यसअघिको भक्तपुर जिल्ला अदालतको सर्वस्वसहित जन्मकैदको फैसलालाई सदर गरेपछि शोभराज यतिबेलादेखि त्यही सजाय भुक्तानका क्रममा थिए ।

शोभराजले आफ्ना कानुन व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्ने गरेका थिए । सोही मागबमोजिम शोभराजको रिहाइका लागि बन्दी प्रत्यक्षीकरण आदेश बुधबार सर्वोच्च अदालतबाट जारी भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?