निर्मला पन्त प्रकरण : अनुसन्धानका लागि डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छन् । यसअघि उनी प्रहरी उपरीक्षक हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।

गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गर्नुभएको थियो। गृहमन्त्रीको सो निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो ।

समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरू रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको छ ।

२०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर जानुभएकी भीमदत्त नगरपालिका-२ की बालिका निर्मलाको शव अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।

गृह मन्त्रालयले विभिन्न टोली बनाएर उक्त घटनाको छानबिन गरेको भए पनि अझैसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन।

कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टको टोलीले निर्मला पन्त बलात्कार र हत्या आरोपमा ४ भदौमा भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई पक्राउ गरी अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, सोही कारण विष्ट आफैँ कारबाहीको भागीदार बन्न पुग्नुभयो ।

दिलीप पक्राउपछि कञ्चनपुर तनावग्रस्त मात्रै बनेन, प्रहरी र स्थानीयवासिबीच निरन्तर झडपको अवस्थासमेत सिर्जना भयो । प्रहरीको गोली लागेर स्थानीय युवा सन्नी खुनाको ज्यानै गयो । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए नमिलेपछि अदालतको आदेशले दिलीप थुनामुक्त भए ।

निर्मला बलात्कार तथा हत्याकाण्डले कञ्चनपुर तनावग्रस्त बनेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति नै बनायो । उक्त समितिले ३० भदौमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन पेस गरेको थियो । सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्टसहित डीएसपी ज्ञानबहादुर सेठी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएका डीएसपी अंगुर जीसीलगायत सात जना प्रहरी निलम्बित भए ।

जसका कारण निर्मला हत्या प्रकरण झन्‌झन् जटिल बन्दै गयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?