वडामै पुगेर सेवा प्रवाह

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको एक स्थानीय तहले एक हप्ताको समय छुट्याएर नागरिकको सहजताका लागि वडामै पुगेर सेवा प्रवाह गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले एकीकृत घुम्ती सेवा मार्फत वडामै पुगेर विभिन्न सेवा प्रवाह गरेको हो ।

वडामै आएर पालिकाले सेवा प्रवाह गरेकोप्रति स्थानीयहरु निकै खुसी देखिएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा नम्बर–१ का स्थानीय दिलबहादुर कुमालले बताउनुभयो । “गाउँपालिकामा जान आउन समयसँगै धेरै खर्च समेत हुन्छ ।” उहाँले भन्नुभयो, “पालिकाले आफ्नै गाउँघरमा आएर सेवा प्रवाह गर्दा पैसा र समय दुबैको बचत भएको छ ।”

गाउँपालिकाले वडामै पुगेर विभिन्न आठ शिर्षकमा कुल तीन हजार ३८३ सेवा प्रवाह गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । पुस ८ गतेदेखि १४ गतेसम्म गाउँपालिकाका सात वटै वडामा पुगेर सेवा प्रवाह गरिएको छ । उपभोक्ता समितिका पदाधिकारीसँग ६८२ स्थानमा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

त्यस्तै, यस आर्थिक वर्षमा सञ्चालन हुने ११८ योजनाको सम्झौता गरिएको छ । दश वटा नयाँ व्यवसाय दर्ता र १७७ वटा व्यवसायको नवीकरण गरिएको छ । २७७ कृषकले ल्याएको माटो परीक्षण गरिएको छ । पशुपन्छी औषधी वितरण तथा परामर्श ८०७, जेष्ठ नागरिक परिचय पत्र वितरण ५९६ गरिएको छ । स्वास्थ्य परीक्षण तथा औषधी वितरण ७१६ गरिएको छ ।

पालिकाको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनतालाई स्थानिय सरकार हाम्रो सरकार हो भन्ने भावना जागृत गराउन वडा तहमै पुगेर यो सेवा प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । सुशासन कायम राख्दै प्रभावकारी रूपमा जनताले अनुभूत गर्नेगरी सेवा प्रवाहको व्यवस्था मिलाउन गाउँपालिकाले जनतासँग गाउँपालिका र जनतासँग अध्यक्ष कार्यक्रम समेत सञ्चालन गरेको छ ।

जनतालाई केन्द्रमा राखेर आफुहरुले सेवा प्रवाह गर्दै आएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो । स्थानीय सरकार नागरिकको नजिकको सरकार हो भन्ने मान्यता स्थापित गर्नको लागि समेत यसरी वडास्तरमा एकीकृत घुम्ती सेवा संचालन गरिएको अध्यक्ष थापाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?