उमेशलाल श्रेष्ठ प्यानलद्वारा उम्मेदवारी घोषणा

Read Time = 8 mins

काठमाडौं । सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र भन्ने नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । सोमबार ललितपुरमा आयोजित उम्मेदवारी सभामा वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, जिल्ला तथा नगरमा उपाध्यक्षका लागि दिनेश श्रेष्ठ, वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षका लागि भरतराज आचार्यले सयुक्तरूपमा उम्मेदवारी घोषणा गर्नुभएको हो । समूहले आफ्ना सदस्यका उम्मेदवारसमेत घोषणा गरेको छ ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले आफ्नो समूहले विनासर्त व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संकटमा गएको अर्थतन्त्र सुधारका लागि कप्तानी गर्ने र आर्थिक काँचुली फेर्न लागि निःस्वार्थ काम गर्ने उहाँले बताउनुभयो । वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘म फोटो खिच्नका लागि मात्रै महासंघमा जान लागेको होइन, समस्या समाधानका लागि जान लागेको हुँ ।’ उहाँले कोरोनापछि बैंकहरूले आँखा चिम्लेर लगानी गर्दा तरलताको समस्या आएको भन्दैै समस्या समाधानका लागि टेबलटक गर्नुपर्ने बताउनुभयो । आफू निडर स्वभावको रहेको र सरकारसँग निडरताका साथ प्रस्तुत हुने भन्दै उहाँले लाटो, बहिरो महासंघ नबनाउनका लागि आफूलाई भोट गर्न आग्रह गर्नुभयो । महासंघमा बोल्न सक्ने, देख्न सक्ने र सुन्नसक्ने नेतृत्वको आवश्यकता रहेको र आफू यी कुरामा सधैँ तयार रहेको उहाँको भनाइ थियो ।

आफ्नो पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि राजनीतिमा नआई सधैँ व्यावसायिकतालाई नै महत्व दिँदै आएको भन्दै उहाँले राजनीति नभई व्यवसायलाई जीविकोपार्जनको माध्यम बनाउनुपर्ने आफ्नो मन्याता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरा पिता पुष्पलालले देशको राजनीतिक परिवर्तनका लागि योगदान दिनुभयो । म उमेशलालले निजी क्षेत्रको प्रवद्र्धनमार्फत समृद्ध अर्थतन्त्र निर्माण गर्ने अठोट गरेको छु । साथीहरूले यो टिम उमेशलालको टिम होइन, निजी क्षेत्रको भरोसाको टिम हो, व्यवसायीका पीरमर्का र समस्या बोकेर हिँड्ने टिम हो भन्नुभएको छ । हाम्रो टिमप्रति भरोसा गर्नुभएको छ ।’ श्रेष्ठको प्यानलबाट जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएसटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

कार्यक्रममा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार, सदस्य सुमितकुमार केडिया, अम्बिकाप्रसाद पौडेल, महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ लगायतका श्रेष्ठ र श्रेष्ठ नेतृत्वको टिमले सबै उद्योगी व्यवसायीमा उत्साह जगाएको भन्दै टिमको जितले महासंघ र निजी थपले छलाङ मार्ने विश्वास व्यक्त गर्नुभएको थियो । निवर्तमान अध्यक्ष गणेश लाठले मधेश प्रदेशका १५ मध्ये १३ भोट उमेशलाल श्रेष्ठ समूहलाई आउने ठोकुवासमेत गर्नुभयो । उम्मेवारी घोषणा कार्यक्रममा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, विनोदबहादुर श्रेष्ठ, पूर्वउपाध्यक्ष किशोर प्रधान लगायतका महासंघका पूर्वपदाधिकारीको सहभागिता थियो ।

उक्त टिमले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघलाई गौरव गर्न लायक बनाउने, आर्थिक समृद्धि र सरकारसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै संगठनलाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न बलियो आधार स्थापित गर्ने, परदर्शिता, जवाफदेहिता र नैतिक आचरण, सुशासन र महासंघ संरचना सुदृढ बनाउने, निर्णय प्रक्रियामा विविधिता र समावेशिताको सिद्धान्त अंगीकार गर्ने, महासंघबाट हुने निर्णय र कार्य सम्पादन अनुगमन, मूल्यांकनका लागि संयन्त्र स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

त्यस्तै, महासंघ संदस्यबीचको समन्वयलाई प्राथमिकतामा राखेर सामूहिक निर्णय प्रक्रियामा गराइने, महासंघको कार्यसम्पादन एवम प्राथमिकता चयन सामूहिक प्रक्रियामा गर्ने, वित्तीय स्थायित्वका लागि सरोकारवाला सरकारी निकायबीच निरन्तर लविङ गर्ने, निजी क्षेत्रको बृद्धि र विकासलाई समर्थन गर्ने नीतिगत सुधारहरूमा प्रवद्र्धन गर्ने, महासंघको भिजन, मिसन र आगामी पाँच वर्षका लागि रणनीतिक योजना तय गर्ने र जवाफदेहिता बढाउन प्रतिबद्ध रहने उल्लेख छ ।

त्यसैगरी नीति निर्माणमा निजी क्षेत्रका विचार र हितलाई ध्यानमा राख्न सरकारी निकायमा निरन्तर सहकार्य गर्ने, विज्ञसँग साथ लिएर सरकारको बजेट र मौद्रिक नीतिमा उपयुक्त सुझाव, सल्लाह दिने, उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न कठिन बनाएका ऐन, कानुन नियमहरू अविलम्ब संसोधनका लागि पहल गर्ने, आर्थिक ऐन तथा नीतिले निजी क्षेत्रका पार्ने प्रभावबारे अध्ययन अनुसन्धान गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको छ । यही चैत २८ र २९ गते हुने महासंघको चुनावमा हालसम्म तीनवटा प्यानल खडा भएका छन् । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईको प्यानल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?