घोराही उपमहानगरपालिकाद्वारा वर्षे रणनीतिको मस्यौदा तयार

हिमालय टाइम्स
Read Time = 5 mins

दाङ । दाङको घोराही उपमहानगरपालिकाले आर्थिक विकासका लागि २० वर्षे रणनीतिको मस्यौदा तयार पारेको छ । उपमहानगरपालिकाले विभिन्न क्षेत्रका विज्ञहरूको सहभागितामा उक्त मस्यौदा तयार पारेको हो । घोराही उपमहानगरपालिका र जिआइजेडद्वारा सञ्चालित स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको संयुक्त पहलमा पालिकालाई आर्थिक विकासको नीति, योजना र कार्यक्रम तयार पार्ने मुख्य उद्देश्यका साथ २० वर्षे आर्थिक विकास रणनीति तयार पारिएको उपमहानगरपालिका रोजगार तथा उद्यम विकास शाखाका प्रमुख ईश्वर पाण्डेयले जानकारी दिनुभयो । समृद्ध घोराही र सुखी नागरिक बनाउने उपमहानगरपालिकाको लक्ष्य पूरा गर्न विभिन्न सम्भावित व्यवसायको पहिचान गरिएको छ । विज्ञ टोलीले कृषिमा तरकारीलाई प्रमुख क्षेत्रका रूपमा पहिचान गरेको छ ।

त्यसपछि कुखुरा पालन, माहुरी पालन, पर्यटन, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिको पहिचान गरेको छ । यी क्षेत्रहरूको एकीकृत विकास गर्न नागरिकहरूमा कार्यक्रम सञ्चालन गर्ने गरी रणनीतिक र क्रियाकलपाहरूसमेत तयार पारिएको छ । जसअनुसार कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आर्थिक वृद्धिदर बढाउने र त्यसका लागि असल कृषि अभ्यास अवलम्बन गरी उत्पादन वृद्धि गर्ने, यान्त्रिकीकरण र उन्नत प्रविधि अवलम्बन गर्ने, स्थानीय कच्चा पदार्थमा आधारित कृषि तथा पशुजन्य उद्योगको प्रवद्र्धन गर्ने, वैज्ञानिक भूउपयोग नीतिको अवलम्बन गर्ने, सिँचाइको प्रबन्ध गर्ने, सडक सञ्जाललाई बलियो र भरपर्दो बनाउने, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी पर्यटन पूर्वाधार विकास र प्रचार गर्ने, बहुपक्षीय लगानी प्रवद्र्धन गरी प्राविधिक एवं प्राज्ञिक शिक्षा स्वास्थ्य क्षेत्रको हब बनाउने, जलवायु परिवर्तन अनुकूलन योजना र प्राकृतिक विपद् व्यवस्थापन गर्ने, सामाजिक समावेशी र लैंगिक समता प्रवद्र्धन गर्ने, प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्ने, प्रभावकारी नीति नियमको तर्जुमा र सुशासनको प्रत्याभूति गर्ने, सहकारी तथा वित्तीय संस्थाहरूको लगानी वृद्धि गर्ने, औद्योगिक क्षेत्रको स्थापनासँगै साना उद्योग र उद्यमशीलताको विकास र विस्तार गर्ने, सार्वजनिक निजी क्षेत्र साझेदारीमार्फत् लगानी प्रवद्र्धन गर्ने रणनीतिहरू तयार पारी त्यसका क्रियाकलाप र काम गर्ने निकायको समेत पहिचान गरेर रणनीति तयार भएको हो ।

मस्यौदामाथि छलफल गर्दै नगरप्रमुख नरुलाल चौधरीले आर्थिक विकासबिना अन्य विकास सम्भव नभएको बताउनुभयो । त्यसका लागि योजनाबद्धरूपले घोराही उपमहानगरपालिका विकासको काममा लागिपरेको जानकारी दिनुभयो । भौतिक पूर्वाधारहरूले मात्रै विकास नहुने भएकाले आर्थिकरूपमा नागरिकहरूलाई सक्षम बनाउनु अहिलेको आवश्यकता भएकोमा उहाँले जोड दिनुभयो । अहिले तयार भएको रणनीतिअनुसार नै अब उपमहानगरले योजना, बजेट र कार्यक्रम तय गर्ने पनि जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले नगरको आर्थिक विकासको आधार तयार भएको र अब सोही रणनीतिलाई आधार बनाएर आर्थिक गतिविधिहरू सञ्चालन हुने बताउनुभयो । जिआइजेडका सल्लाहकार दुर्गा रेग्मी र परामर्शदाता बद्रीप्रसाद बस्ताकोटीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?