एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी

व्यास नगरपालिका-५ चुँदेरका अधिकांश बासिन्दाले खानेपानीकै अभावका कारण बसाईसराई गरेका छन्।

तनहुँका व्यास नगरपालिका-५ चुँदेर गाउँको आँगनमै खानेपानीको धारा पुगेपछि सरसफाई गर्दै महिलाहरू। तस्बिर‍ : आइएनएस-स्वतन्त्र समाचार

हिमालय टाइम्स
Read Time = 11 mins

-नारायण खड्का

तनहुँ । १५ वर्षको कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी सोममाया मगर अहिले ७० वर्ष पुग्नु भएको छ। विवाह गरेर आएको करिव ५३ वर्षसम्म उहाँको दैनिकी एकै नासले चल्यो। बिहान झिसमिसे उज्यालोमै डोकोमा गाग्री बोकेर खानेपानीको व्यवस्थापन गर्नुपर्ने उहाँको दैनिकी अहिले फेरिएको छ।

तनहुँको सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटरको दुरीमा रहेको चुँदेर गाउँमा विवाह गरेर आउनु भएकी सोममाया तीन सन्तान हुर्काउने, घरव्यवहार सम्हालने मात्र नभई घण्टौं समय खर्चिएर खानेपानीको जोहो गर्नुपर्ने बाँध्यता थियो। यो बाँध्यता अहिले फेरिएको छ। ‘खानेपानीको समस्य भएपछि तीन छोरा सुविधाको खोजिमा शहरबजार केन्द्रित भए, श्रीमान् बितेपनि एक्लै यहि बस्दै आएको छु’, उहाँले भन्नुभयो, ‘बुबा आमाले बिवाह गरेर यहि दिनुभयो, दुस्खसुख गरी तीन सन्तान हुर्काए, मलाई कतै जान मन छैन। खानेपानीको दुस्ख थियो त्यो अहिले हटेको छ।’

आँगनमै यसरी खानेपानीको धारा खस्ला भन्ने सपनामा पनि नसोचेको भन्दै सोममाया भन्नुहुन्छ, ‘अब डोकोमा गाग्री बोकेर खानेपानी खोज्न हिड्न पर्दैन होला १ हरेक दिन सुत्नेबेला खानेपानी कै चिन्ता हुन्थ्यो, हिउँद होस् वा बर्खा बिहान ३ नबज्दै उठेर पानीको जोह गर्न हिड्नुपर्थ्यो। अहिले त्यो समस्य हट्यो।’

व्यास नगरपालिका-५ चुँदेरका अधिकांश बासिन्दा खानेपानीकै अभावका कारण बसाईसराई गरेका छन्। यहाँका महिलाहरूको दैनिकी डोकोमा गाग्री बोकेर पानीको खोजीमा भौतारिदै बित्थ्यो। अहिले गाउँका प्रत्येक घरमा धारा जडान गरी आँगनमै पानी आउँदा यस गाउँका महिलाहरूमा खुसीको सिमा छैन। उहाँहरू भन्नुहुन्छ, ‘हाम्रो त जुनि नै फेरिएको जस्तो भएको छ।’ चुँदेरका बासिन्दाले गाउँभन्दा करिव एक घण्टा तल रहेको धारादीगैरा स्थित खोल्सामा रहेको कुँवाको पानी उपभोग गर्दै आएका थिए। हिउँदको समयमा पानीको मुहान सुक्दै जाँदा एकदुई घण्टासम्म पालो कुर्नुपर्ने बाँध्यता थियो।

हिउँदमा पानीको मुहान सुक्दा खोलाको पानी समेत ल्याउन बाँध्य हुने स्थानीय ज्ञानुमाया क्षेत्रीले सुनाउनु भयो। उहाँ भन्नुहुन्छ, ‘गाइवस्तुलाई पनि दिनमन नलाग्ने धमिलो पानी हामीले खाएका छौं। बिहानै खोलाबाट ल्याएको गाग्रीको पानी कति बेला थेग्रिएर संग्लो हुन्छ अनि धितमर्ने गरी खाउला भनि कुरेर बस्नुपथ्र्यो। तर अब भने ती दुस्खका दिन अन्त्य भएको जस्तो लाग्छ।’

यस्तै, घरका महिला मात्रै नभई विद्यालय पढ्ने बालबालिका पनि पानीको व्यवस्थापन नगरी विद्यालय जान नपाउने अवस्थाबाट गुज्रनुपरेको स्थानीय कामना थापा बताउँनुहुन्छ। ‘मेरा दुई छोरा बिहान ४ बजे मसँगै कुँवामा पानी लिन जान्थ्ये’, उहाँले भन्नुभयो, ‘कहिले त चाँडै नै हुन्थ्यो, कहिले पालो कुर्दा कुर्दा ८/९ बजेतिर घर फर्किन्थे म। खाना पकाउन नभ्याएर कति दिन त खाना नखुवाई विद्यालय पठाउनु परेको छ भने कति दिन बिद्यालय पठाउन नै पाएको थिइन।’

गाउँमा पानीकै समस्यका कारण बालबालिकाको पढाई मात्रै होइन सरसफाईमा पनि निकै समस्य झेल्नुपरेको उहाँले बताउनु भयो।यस्तै, खानेपानी समस्यकै कारण गाउँ पनि उजाडिदै गएको स्थानीय दलबहादुर थापाको गुनासो छ। उहाँका अनुसार १६र१७ घरपरिवार खानेपानी अभावकै कारण दमौली, पोखरा लगायत पानीको सुविधा भएको स्थानमा बसाईसराई गरे।

उहाँले भन्नुभयो, ‘करिव एक वर्षदेखि गाउँमा विद्युतीय लिफ्टिङ्ग प्रविधिबाट खानेपानी उपलब्ध भएपछि बसाईसराई गरी अन्यत्र गएकाहरूपनि गाउँ फर्कन थालेका छन्।’अमेरिका स्थित रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाई, व्यास नगरपालिका लगायतको सहयोगमा रोटरी क्लब अफ दमौलीले निर्माण गरिदिएको चुँदेर खानेपानी आयोजनाले चुँदेरका बासिन्दाको दैनिकीमा परिवर्तन ल्याएको छ।

२०७७ पुस २२ गतेबाट निर्माण थालिएको सो खानेपानी आयोजनाले करिब डेढ वर्षदेखि चुँदेरको ६८ घर परिवारलाई पानी उपलब्ध गराएको रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्ष दामोदर भण्डारीले बताउनु भयो। उहाँका अनुसार ८८ लाख ३१ हजार ७५३ रुपैयाँको लागतमा उक्त योजना सम्पन्न गरिएको हो। करिब ८४५ मिटरको दुरीमा रहेको पधेरी खोलाको मुहानबाट लिफ्ट प्रविधिबाट पानी ल्याएर ३ वटा ट्याक्कीमा संकलन गरी गाउँमा वितरण गरिएको छ।

एक घण्टामा १० हजार लिटर पानी संकलन गरी अहिले चुँदेर गाउँ, क्षेत्री गाउँ, धापथुम्की गरी तीन गाउँका बसिन्दालाई खानेपानी वितरण गर्न थालिएको छ। दुईरतीन घण्टा लगाएर पानीको जोहो गर्न हिड्ने चुदेरबासीको अहिले घर आँगनमै पानीको धारा खसेको छ। खानेपानी मात्र होइन अहिले गाईवस्तुलाई खुवाउनका साथै करेसा बारीमा प्रयोग गर्न समेत प्रसस्त पानी उपलब्ध भएको छ।

स्थानीय १८ वर्षीय सुमन पौडेलले खानेपानी अभावका कारण पढाइमा समेत असर परेको सुनाउनुहुन्छ। उहाँले भन्नुभयो, ‘अहिले पानीको जोहो गर्न जानुपर्ने समयमा पढ्न पाएको छु। बर्खाको बेला असुरिक्षत धमिलो पानी पिउन बाँध्य थियौं, अहिले डब्बल फिल्टर पानी पिउन पाएका छौं।’ रोटरी अभियानबाट प्रत्येक घरमा खानेपानीको धारा जडन गरिएको छ। अहिले गाउँलेले कसरी आर्थिक उन्नतिका काम गर्न सकिन्छ भन्ने सोच्न थालेका छन्। सबै याम सुनसान र सुख्खा हुने हाम्रा बारीमा अहिले हरियाली देखिने गरेको स्थानीय दिलमाया थापा बताउँनुहुन्छ। उहाँले भन्नुभयो, ‘पानी खुवाउन समस्या हुँदा पशु पालन समेत नगरेका हामीले अहिले व्यवसायिक रुपमै पशुपालन गर्न थालेका छौं। सरसफाईमा पनि सहज भएको छ।’

पानीको सहज उपलब्धता भएसँगै स्थानीयहरूले आर्थिकउपार्जनको पाटोमा लाग्ने योजना बनाएका छन्। मगर कला संस्कृतिको सँगम स्थल, सफा र स्वच्छ वातावरण, प्राकृतिक सुन्दरताको अधिकत्तम उपयोग गरी स्थानीयले गाउँमै हामेस्टे सञ्चालनको योजना समेत बनाएका छन्। रोटरी अभियानमा जोडिएका रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईका निवर्तमान अध्यक्ष डा। अर्जुन अर्यालले चुँदेरको सामाजिक, आर्थिक र सांस्कृतिक बिकासको लागि निरन्तर सहकार्य र समन्वय गर्न तयार रहेको बताउनु भयो। रोटरीले जागरण अभियान सुरुवात गरेकाले चुँदेरलाई समृद्ध र आत्मनिर्भर गाउँको रुपमा बिकास गर्न निरन्तर सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो। साथै रोटरीको सहयोग बमोजिम स्थानीयले पनि उत्तिकै सक्रियता देखाएर अभियान सफल बनाउन लागि परेको उहाँको भनाई छ।

पर्यटकीय सम्भावना बोकेको, मगरहरूको कला संस्कृतिमा पनि धनी गाउँ भएकाले चुदेरलाई नमुना बस्तीको रुपमा बिकास गर्न आफु पनि लागि परेको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताउनु भयो। उहाँले भन्नुभयो, ‘सहरी कोलाहलबाट अलिक टाढा शान्त ठाउँमा भएकाले यो गाउँको छुटटै महिमा छ, यसको मौलिकतामा आँच नआउने गरी यहाँको सभ्यतालाई जीवन्त राखी हामी बिकास गर्ने अभियानमा छौ।’चुँदेर गाउँलाई रोटरी क्लबले कोर कम्युनिटी भिलेजको रुपमा बिकास गर्ने योजना अगाडि सारेको पर्यटनविद् हरिसिं गुरुङल बताउनु भयो।

रोटरीले उक्त अभियान अन्तर्गत त्यस ठाउँको कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटनलाई जोडेर चुँदेर एकीकृत बिकास कार्यक्रम सुरु गर्ने योजना अगाडि ल्याएको छ। पर्यटनविद् गुरुङले भन्नुभयो, ‘५० वर्ष अघिसम्म १५० भन्दा बढी घरधुरी रहेको चुँदेर क्षेत्रमा खानेपानी अभावकै कारण गाउँ उजाडिदै गएको रहेछ। अब कोही विस्थापित नहोस् भन्ने उद्देश्यले पुनः जागरण अभियान थालिएको छ।’

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?