फूल सुकेपछि सहरबाट फूल किनेर माला बनाउँदै गाउँका दिदीबहिनी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । तिहारका लागि भनेर खेतबारीमा रोपेको फूल तिहार अघि नै फुलेर सुकेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा फूलको अभाव भएको छ ।

यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु खेतबारीमा नै सुकेका छन् । म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुकेपछि दाजुभाइलाई भाइ टीकाका दिन लगाइदिने मालाको लागि दिदीबहिनीहरुले सहरबाट फूल किनेर गाउँमा लैजान थालेका छन् ।

तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ । यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बेनी नगरपालिका-२ की लक्ष्मी सापकोटाले बताउनुभयो ।

यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उहाँले बताउनुभयो । पछिल्लो समय फूलको खपत बढ्दै गएको छ तर,उत्पादित फूल तिहार अघि नै फुलेर सुकेपछि फूलको अभाव भएको सापकोटाको भनाइ छ । म्याग्दीमा व्यवसायिकरुपमा फूल खेती कमै मात्रमा हुने गरेको छ । घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीयवासी चिन्तित छन् ।

सामान्यतया तीनदेखि चार महिना अवधिमात्रै रहने सयपत्री फूल यस वर्ष अत्यधिक वर्षाका कारण पुष्पखेतीमा असर परेको भए पनि जोगिएका फूल राम्रै फुलेका थिए तर यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको मालिका गाउँपालिका-६ की टिका पुनले बताउनुभयो । उहाँका अनुसार कात्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन् ।

एउटा मालाका लागि आवश्यक पर्ने फूल बजारमा रु एक सयदेखि एक सय पचास रुपैयाँमा विक्री हुने गरेको सोमबार (आज) विहान बेनी बजारमा फूल विक्री गर्न आउनुभएकी कमला कार्कीले बताउनुभयो ।

रु छ सयमा पाँचवटा माला किनेर माइती घर जाँदै गर्नुभएकी मंगला गाउँपालिका-३ की विमला जैसीले घरमा भएको फूल सुकेर कामै नलाग्ने भएपछि बजारबाट किन्नुपरेको बताउनुभयो ।

हराउँदै गए मखमली र सयपत्री फूल

गाउँघरबाट तिहारका लागि अति महत्वपूर्ण मानिने मखमली र सयपत्री फूल लोप हुँदै गएका छन् ।

तिहारलाई लक्षित गरी छिमेकी मुलुक भारतबाट करोडौं रुपैयाँको मखमली र सयपत्री फूल आयात गरिन्छ । तर, नेपालका ग्रामीण भेगहरुमा मखमली र सयपत्री फूलको प्रशस्तै व्यवसायिक सम्भावना रहेको भए पनि परम्परागत खेती पद्दती छोड्न नचाहँदा यो फूल लोपोन्मुख अवस्थामा पुगेको हो ।

हिजोआज गाउँघरबाट मखमली मात्र होइन सयपत्री फूल समेत लोप हुँदै गएको छ । गाउँघरमा मखमली र सयपत्री फूल हराउँदै जान थालेको मालिका गाउँपालिका-६ की रश्मी सिउथानीले बताउनुभयो । दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीहरूका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको भए पनि अहिले यो फूल गाउँघरमा पाइनै छाडेको उहाँको भनाइ छ ।

“तिहार आउँदा मखमली फूलको झल्को आइहाल्छ, केही वर्ष अघिसम्म त गाउँघरमा दुई/चारवटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त न मखमली देखिन्छ न सयपत्री नै,कस्तो खल्लो महशुस हुँदोरहेछ” सिउथानीले भन्नुभयो “अरु ज्ति रंगीन फूलहरु भए पनि तिहार आउँदा मखमली र सयपत्री फूललाई विर्सन नसकिदोरहेछ ।”

तिहारको भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइनाका साथै तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।

सयपत्री र मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा ध्यान भने कसैको गएको पाइँदैन । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ ।

नझर्ने, नओइलाउने र वर्षौँ पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर मानिन्छ । मखमली फूल नोपालीहरूका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

पछिल्ला वर्षका तिहारमा सयपत्री र मखमली फूलको माला देखिनै छाडेको छ । यसको ठाउँमा प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै गइरहेको छ । तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउन पुगेको हो । बाहिरबाट भित्रिएका प्लाष्टिकका कृत्रिम मालामा उपभोक्ताको आकर्षण पनि उत्तिकै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?