नदीजन्य पदार्थ बिक्रीमा गोदावरी नगरपालिकाले आर्थिक चलखेल गरेको आरोप

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । गोदावरी नगारपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरण गर्दा आर्थिक चलखेल गरेको आरोप लागेको छ ।

पुस १० बाट नदीजन्य पदार्थ उत्खनन् र बिक्री सुरू गरेको नगरपालिकाले रोयल्टी संकलनमा नक्कली बिल प्रयोग गरेर आर्थिक चलखेल गरेको आरोप लागेको हो ।

सर्वसाधारणलाई आधिकारिक बिल दिने तर क्रसर उद्योगहरूलाई मिलेमतोमा कागजमा बिल दिने गरेको छ । रोयल्टी संकलनमा आर्थिक लाभ लिने नियतले नगरपालिकाले दोहोरो मापदण्ड अपनाएको आरोप स्थानियले लगाएका छन् ।

पटक पटक नदीजन्य पदार्थ संकलन र बिक्रीका लागि बोलपत्र आह्वान गरेपनि कसैले ठेक्का नहाल्दा गोदावरी नगरपालिकाभित्रका तीन वटा नदी खुटिया, गोदावरी र खैरानाबाट नगरपालिका आफैंले नदीजन्य पदार्थ संकलन र बिक्री गर्दै आएको छ ।

नगरपालिकाको प्रमुख आन्तरिक आम्दानीको स्रोत मानिएको नदीजन्य पदार्थ विगत वर्ष ठेक्का मार्फत संकलन र बिक्री हुने गरेको थियो ।

नगरपालिकाले ४ करोड न्यूनतम रकम तोकेर वोलपत्र खोले पनि कसैले टेण्डर नहाँल्दा नगरपालिका आफैंले नदीजन्य पदार्थ उत्खनन् र बिक्री गर्ने निर्णय गरेको हो । तर, खुटीया नदीबाट बिक्री भइरहेको नदीजन्य पदार्थमा सेटिङमा काम भइरहेको गोदावरी नगरपालिका ९ स्याउलेका स्थानीय राजेश साउँदको आरोप छ ।

राजस्व तिरेको बिल बिनानै खुटीया नदीबाट नदीजन्य पदार्थ लग्न दिइरहेका बताउदै उहाँले सादा सेतो पान्नामा नगरपालिकाको छाप हानेर क्रसर उद्योगलाई आफ्नो मुनाफा हुने गरी दैनिक ५ सयदेखि १ हजार ट्याक्टर ढुङ्गा, बालुवा र गिट्टी लग्न दिइएको बताउनुभयाे ।

नगरपालिकाले खाली कागजको पानामा छाप लगाएर उधारोमा नदीजन्य पदार्थ बिक्री गरिरहेको स्थानीयले बताएका छन् । आफ्नालाई सुटुक्क कुपन दिएर राजश्व मार्ने हिसावले काम भइरहेको वडा नम्बर २ का वडा सदस्य हरिराम चौधरीको भनाइ छ ।

उधारोमा कुपन दिएर राजस्व संकलनमा गोदावरी नगरपालिकाले उधारो संस्कार बसाउन खोजेको भन्दै नदी क्षेत्र आसपासका स्थानीय आक्रोसित बनेका छन् । तर, गोदावरी नगरपालिकाले भने आधिकारीक रुपमा बिल नै दिएर नदीजन्य पदार्थ संकलनको काम भइरहेको दाबी गरेको छ । नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरण अनुगमन समितिका संयोजक देवराज भट्टले नदीजन्य पदार्थमा कुनै बदमासी नहुने हिसाबले काम भइरहेको दाबी गरेका छन् ।

“सेतो चिट बाटोको लागि मात्रै प्रयोग गरेको हो । त्यो कुनै नगदी रसिद होइन र त्यो चिट प्रयोग गरी नगद पैसा उठाएका छैनौँ”, उहाँले भन्नुभयाे, “नगरपालिका र क्रसर उद्योग बिच हिसाबकिताबमा सहज होस भनेर प्रयोग गरिएको हो” । भट्टले नगरपालीको लक्ष्य ४ करोड बढी राजस्व संकलन गर्ने लक्ष्य रहेको बताउदै उहाँले यसमा सबैक साथ हुनुपर्ने बताउनुभयाे ।

गोदावरी नगरपालिकाले पुस १० गतेबाट नदीजन्य पदार्थ बिक्री गर्न थालेको हो । नदीजन्य पदार्थको प्रति ट्याक्टर ४ सय ५० रोयल्टी तोकिएको छ । एक दिनमा करिव १ हजार बढी ट्रयाक्टरले खुटीया नदीबाट नदीजन्य पदार्थ ढुवानी गर्ने गरेको स्थानीयल दाबी गरेका छन् ।

एमालेद्वारा गोदावरी नगरपालिकामा प्रदर्शन

नेकपा (एमाले) ले गोदावरी नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै बिरोध जनाएको छ । उसले खुटिया खोलाबाट नदी जन्य पदार्थ नगरपालिकाले मनपरी उठाउन थालिएको बिरोधमा प्रदर्शन गरेको हो ।

नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टको नेत्रित्वमा नगरपालिका पुगेको एमाले नेताहरुको समुहले नगरपालिकाको उक्त कार्य बिरुद्द चर्को नाराबाजी गरेको हो ।

नगर प्रमुखलगायत जनप्रतिनिधिका मान्छेलाई नदीजन्य पदार्थ रोयल्टी नतिरेरै लैजान दिने गरेको उनीहरुको आरोप छ । नगरप्रमुखले आफ्नो निहित स्वार्थमा नदीजन्य पदार्थमा भ्रष्टाचार गरिरहेको नेकपा एमाले गोदावरीले आरोप लगाएको छ । नेकपा एमाले गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले नगर प्रमुखको योजनामा क्रसर उद्योगहरूसँग मिलेमतोमा काम भइरहेको आरोप लगाउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?