प्रधानमन्त्री कप छनोटमा बैतडीको पहिलो जित

हिमालय टाइम्स
Read Time = 3 mins

बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो । खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको अछामको पारी नौ दशमलब चार ओभरमा १६ रनमा समेटियो । बलिङतर्फ बैतडीका लागि निर्मला भण्डारीले चार तथा कप्तान रितु कनौजिया र पिंकी बोहराले दुई–दुई विकेट हात पार्नुभयो ।

त्यसअघि कैलालीको फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय छ रन बनायो । कप्तान रितु कनौजियाले ४१, ममता बोहराले अविजित १९ र निर्मला भण्डारीले अविजित ११ रन बनाउनुभयो । बलिङतर्फ अछामकी रविना साउद, अस्मिता औजी र कविता सुनारले एक-एक विकेट लिनुभयो । उक्त खेलको प्लेयर अफ द म्याच बैतडीकी कप्तान रितु कनौजिया घोषित हुनुभयो ।

यसअघि बैतडी कञ्चनपुरसँग पराजित भएको थियो । बैतडीले अर्को खेल बुधबार डोटीसँग खेल्नेछ । प्रतियोगितामा सहभागी सात टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ ।

उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा हुने तय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?