काठमाडौं । नेपाली डकुमेन्ट्री फिल्म उद्योगमा शिखरमा पुग्ने र सफलता हासिल गर्ने थोरै मानिसमध्ये एक नाम हो, लव प्याकुरेल । विगत दुई दशकदेखि नेपाली डकुमेन्ट्री फिल्मको क्षेत्रमा काम गर्दै आउनुभएका प्याकुरेलले एक सयभन्दा बढी काल्पनिक र गैरकाल्पनिक फिल्ममा काम गरिसक्नु भएको छ ।
उहाँले बनाएका एक दर्जनभन्दा बढी डकुमेन्ट्री फिल्म सफलताको शिखरमा छन् । तीमध्ये ‘पञ्चायतको घाउ’ निकै चर्चामा आएको डकुमेन्ट्री हो, जसलाई प्याकुरेलले सम्पादन, निर्देशन र निर्माण गर्नुभएको थियो ।
विसं २०६५ सालमा आयोजित ‘राष्ट्रिय-नुवाकोट डकुमेन्ट्री फिल्म फेष्टिभल’मा प्रथम पुरस्कार जितेको ‘पञ्चायतको घाउ’ पछि प्याकुरेलले दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रफी र अवार्ड जित्नुभएको छ । उहाँले विसं २०७९ सालमा सामाजिक रूपान्तरणका लागि नागरिक समाजले प्रदान गरेको ‘विशेष नागरिक अवार्ड’ पनि जित्नुभएको थियो । डकुमेन्ट्री फिल्मका सम्पादक/मेकर प्याकुरेलले शिखर सम्मान (२०७५), स्वर्णीम सम्मान (२०७६), महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिभा सम्मान (२०७७), राष्ट्रिय मानार्थ सम्मान (२०७८) प्राप्त गर्नुभएको छ ।
लव प्याकुरेलको अबको योजना नेपालको गौरवशाली इतिहासमा आधारित डकुमेन्ट्री फिल्म बनाउने रहेको छ । उहाँले बनाएका एक दर्जनभन्दा बढी डकुमेन्ट्री फिल्म सफलताको शिखरमा छन् ।
‘डकुमेन्ट्री फिल्म निर्माण एउटा प्रशोधित कार्य हो र यो गहिरो अनुसन्धानपछि विषय छनोट, छायांकन र त्यसपछि दृश्य सम्पादन गरी कथा, सिन वा विचार सिर्जना गर्ने शैली हो’, प्याकुरेल भन्नुहुन्छ । उहाँको विशेष सीप, कला र ज्ञान सम्पादन क्षेत्रमा छ । सम्पादन एक इनडोर काम हो र यो भिडियो शटहरू हेरफेर र पुनः व्यवस्थित गर्ने प्रक्रिया हो, जसमा प्याकुरेल सिद्धहस्त हुनुहुन्छ ।
‘पोष्ट-उत्पादन प्रक्रियाको मुख्य कार्य विभिन्न संकलन सामग्रीमार्फत एक सिंहावलोकनलाई पूर्ण संरचना दिनु हो,’ प्याकुरेल भन्नुहुन्छ, ‘एउटा सम्पादकमा श्रव्य-दृश्य रचनाको सारांश बुझ्ने ज्ञान, नाटकीय सीप, प्रवाह बुझ्ने सामान्य ज्ञान र सफ्टवेयर उपकरण र प्रक्रियाहरूको प्रयोगको ज्ञान हुनु अनिवार्य छ ।’
नेपाली डकुमेन्ट्री फिल्मले ६ दशकको यो अवधिमा धेरै सुधार गरेको छ । सम्भावना बढ्दै गएको छ, प्रविधिको प्रयोग बढिरहेको छ, दक्ष जनशक्तिको उपलब्धता बढिरहेको छ र व्यापारिक वातावरण विस्तार भइरहेको छ । परिणाम धेरै सन्तोषजनक छन् र अपेक्षा बढ्दै छन् ।
विषयवस्तुको उपलब्ध र नयाँ फिल्म मेकरको उदयका कारण नेपाली डकुमेन्ट्री फिल्म विश्वमै लोकप्रिय बन्दै गएको छ । प्याकुरेल भन्नुहुन्छ, ‘एरिक भ्यालीको ‘क्याराभान’देखि लिएर हरि थापाको ‘शेर्पाः द टु हिरोज अफ माउण्ट एभरेष्ट’ र गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरू’सम्म आइपुग्दा विश्वमा नेपाली डकुमेन्ट्री फिल्मले पहिचान बनाउन सफल भएका छन् ।’ अहिले विषयवस्तुप्रतिको आकर्षणका कारण विदेशी फिल्मकर्मी पनि नेपालतर्फ आकर्षित भएका छन् । नेपाली डकुमेन्ट्रीको सीमा बढ्दै गएको छ ।
उहाँ डकुमेन्ट्रीमा सामाजिक जीवन र मानवता खोज्ने मेकर पनि हुनुहुन्छ । उहाँले बनाएका ‘ओडारका मान्छेहरू’, ‘उसलाई फाँसी दिनुपर्छ’, ‘वर्गसत्ता’, ‘निलो आकाश’ जस्ता डकुमेन्ट्री फिल्मले यो देखाउँछ । उहाँले सम्पादन गरेका ‘झिल्को’, ‘आशाको दियो’, ‘सपना’, ‘प्रायश्चित’, ‘बिर्सिइएका महिलाहरू’, ‘शेर्पाः सगरमाथाका वास्तविक नायकहरू’, ‘बिहाइन्ड द हर्ड’, ‘हेलर अफ हुम्ला’, ‘महान् भिक्षु’, ‘सगरमाथाको प्रतिबिम्ब’, ‘नीजामतीः अण्डर फायर’, ‘मकैको बिहे’, ‘हिमालयमा हेलिकप्टर उद्धारकर्ताहरू’, ‘राउटेः अन्तिम घुमन्ते जाति’, ‘गोरु पर्व’लगायत दर्जनौं डकुमेन्ट्री फिल्महरू लोकप्रिय छन् ।
प्याकुरेलले नेपालमा रैखिक सम्पादन प्रणालीबाट वर्तमान डिजिटल सम्पादन टेक्नोलोजीको संक्रमणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उहाँ डकुमेन्ट्री फिल्मको माध्यमबाट स्वदेशी र विदेशीबीच आपसी एकता, सहयोग र सद्भावको एक मैत्रीपूर्ण समझदारी विकास गर्न प्रतिबद्ध छन् ।
प्याकुरेलको अबको योजना नेपालको गौरवशाली इतिहासमा आधारित डकुमेन्ट्री फिल्म बनाउने रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘युद्धकिल्ला’ नामक डकुमेन्ट्री बनाउने योजनामा छु । जहाँ वीर नेपाली योद्धाहरू आन्तरिक र बाहृय शक्तिविरुद्ध लडे, जहाँ नेपाली योद्धाहरूको रगत बग्यो, जहाँ योद्धाहरूले बाहृय शक्तिसँग युद्ध जितेका थिए । ती लडाइँहरू, जुन नेपाली विद्यार्थीहरूले कागजको टुक्रामा मात्र पढ्छन्, उनीहरूले कसरी लडे र देशलाई विदेशी सेनाबाट बचाए, म उनीहरूलाई देखाउनेछु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच