विश्वबाट दुई तिहाइ हिमनदी लोप हुँदै

Read Time = 2 mins

न्युयोर्क । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउन सकिनेछ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिकरूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् ।

तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् ।

सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीबार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रिनल्याण्ड र अन्टार्कटिकाबाहेक भूमिमा आधारित विश्वका दुई लाख १५ हजार हिमनदीमाथि विगतको भन्दा गहन ढंगले गरिएको अध्ययनले ती नदी लोपको संघारमा पुगेका देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ । रासस÷एपी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?