सत्ता गठबन्धन फुटाउन कांग्रेस सक्रिय

लोकतान्त्रिक शक्तिलाई जोडेर नयाँ समीकरण बनाउने कठिन प्रयास

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । आफ्नो नेतृत्वको पुरानो गठबन्धन जोगाउन नसकेर सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले एमाले-माओवादी गठबन्धनलाई टुक्र्याउने रणनीति सुरु गरेको छ । वर्तमान गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतमा असफल बनाएर नयाँ गठबन्धन बनाउनका लागि कांग्रेस सक्रिय भएको हो । सत्ता साझेदार दलहरूलाई फुटाउनका लागि कांग्रेसले साना दलहरूलाई जोडेर आफ्नो नेतृत्वमा बहुमत पुर्‍याउने नीति अख्तियार गरेको छ । स्रोतका अनुुसार नयाँ गठबन्धन बनाउने प्रयासमा एकीकृत समाजवादीका नेताहरू सकारात्मक छन् ।

सरकारमै गएको जनमत र प्रधानमन्त्रीमा दाबी पेस गर्दा समर्थन जनाएको नागरिक उन्मुक्तिलाई आफूतिर ल्याउन सकिने नयाँ गठबन्धन बनाउन लागेका कांग्रेस नेताहरू विश्वासमा छन् । यो अवस्थामा राप्रपाले मात्र साथ दियो भने पनि प्रचण्डले विश्वासको मत पाउनुहुने छैन । त्यसका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नेसम्मका प्रयास भएका छन् । कांग्रेस नेताहरूले राप्रपालाई प्रधानमन्त्री अफर नगरिएको दाबी गरे पनि यो राप्रपा नेता तथा सांसद धु्रवबहादुर प्रधानले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताउनुभएको हो । संघीय संसद् भवनमा भएको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा नेता प्रधानले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयोे, ‘राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ । क्षणिक रूपमा निर्णय लिनुहुन्न । यही गठबन्धनलाई विश्वासको मत दिएर अघि बढ्छौँ ।’

कांग्रेसले प्रस्ताव गर्‍यो र राप्रपाले स्वीकार गर्‍यो भने पनि प्रधानमन्त्री बन्न सहज छैन । किनकि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । यदि उहाँले विश्वासको मत नपाएमा नयाँ सरकार गठन संविधानको धारा ७६(३) अनुसार हुन्छ । यसअनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री नियुक्ति हुनुहुनेछ । त्यसैले २०५२/५३ मा जस्तो राप्रपालाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार भयो र संसद्मा बहुमत जुट्यो भने पनि ७६(३) को प्रक्रिया पूरा गरेर ७६(४) मा जानुपर्ने हुन्छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई सुरुदेखि नै समर्थन जनाए पनि राप्रपा र जसपा अहिलेसम्म सरकारमा गएका छैनन् । उनीहरूले सरकारमा जान आफ्नो सर्त प्रस्तुत गर्दै आइरहे पनि प्रमुख प्रतिपक्षी दलसँग पनि निरन्तर संवादमा जोडिरहेका छन् । जसपा र राप्रपालाई सत्ता गठबन्धनबाट बाहिर ल्याएर नयाँ समीकरण बनाउने गरी गृहकार्य अघि बढाएको बुझिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने निर्णय गरे पनि अहिलेसम्म विभिन्न सर्त राख्दै आइरहेको छ ।

राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन (पुस २७ गते) सार्वजनिक बिदा दिनुपर्ने मुख्य सर्तको रूपमा अघि सारेको छ । सरकारमा जान उसले उपप्रधानसहित तीन मन्त्रालय र बागमती प्रदेशको मुख्यमन्त्रीसमेत मागेको छ । यस्तै, जसपाले पनि प्रचण्ड सरकारलाई समर्थन गरे पनि विभिन्न माग राख्दै पर्ख र हेरको अवस्थामा बसिरहेको छ । शक्ति बाँडफाँट उचित ढंगबाट भए मात्रै सरकारमा जाने जसपाका प्रवक्ता मनीष सुमन बताउनुहुन्छ । तर, देउवासँग अध्यक्ष यादवको के विषयमा कुरा भएको आफूलाई जानकारी नभएको बताउनुभयो । जसपा नेता प्रदीप यादवले आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिने दाबी गर्नुभयो । संसद् भवनमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिसकेको छ । राष्ट्रपतिकोमा गएर लिखित रूपमा हस्ताक्षर गरिसकेपछि अब विश्वासको मत दिन्छौँ ।’

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने कांग्रेस अहिलेको समीकरण भत्काउने र नयाँ बनाउने काममा नलागेको बताउनुहुन्छ । ‘शनिबार संसदीय दलको बैठक छ, २६ गते फेरि बैठक गर्छौं र विश्वासको मतबारे हाम्रो धारणा सार्वजनिक गर्छौं’ उहाँले भन्नुभयो ‘अहिलेलाई गठबन्धन भत्काउने र नयाँ बनाउने कुरा छैन ।’

कांग्रेसले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन : उपसभापति खड्का
कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमाले नेतृत्वको वर्तमान सात दलीय गठबन्धन छाडेर आएमा प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव गरेको चर्चा भइरहँदा कांग्रेसले भने त्यसलाई इन्कार गरेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका तर्फबाट कुनै पनि दललाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको जिकिर गर्नुभएको हो । कसैसँग त्यस विषयमा कुनै कुरा नभएको र प्र्रस्ताव नगरिएको जिकिर गर्दै उपसभापति खड्काले भन्नुभयो, ‘नेपाली कांग्रेसले कसैलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको छैन ।’ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको र कांग्रेस वर्तमान गठबन्धन टुटाउनतिर नलागेको जिकिर गर्नुभयो । सभापति देउवाले पछिल्लो समय राजनीतिक छलफललाई तीव्रता दिइरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?