स्थानीय तहसँग लागूऔषध नियन्त्रणको अभियान चलाउँदै प्रहरी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहसँग मिलेर लागूऔषध नियन्त्रणको अभियान जिल्ला प्रहरी कार्यालयले सुरु गरेको छ । हिमाली जिल्ला जुम्लामा पछिल्लो समय लागूऔषधको सेवन र कारोबार बढ्दै गएपछि यहाँका स्थानीय तहमै गएर लागूऔषध नियन्त्रणको अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रत्येक स्थानीय तहको केन्द्रमा सचेतनामूलक कार्यक्रम गरेर अभियान थालिएको छ । प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, ‘लागूऔषध कारोबार र सेवन गर्नेको संलग्नता बढेको व्यापक जनगुनासो आएपछि हरेक विद्यालय र एसइई दिने विद्यार्थीलाई बढी सचेतना दिने काम भएको छ । यसको नियन्त्रणमा सबै लाग्नुपर्ने देखिएको छ । हरेक पालिकास्तरमै सचेतना फैलाउने अभियान थालिएको छ ।’ स्थानीय तहसँगको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई माध्यम बनाएर कार्यक्रम भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चन्दको भनाइ छ ।

सिंजा गाउँपालिकाबाट लागूऔषध नियन्त्रण अभियान सुरु भएको छ । जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकबीच सो विषयमा छलफल भएको हो । परिवार तथा अभिभावकको हेलचेक्य्राइँ र निगरानी अभावमा किशोरकिशोरी अवस्थाका पुस्ता लागूऔषधको लतमा फस्दै जान थालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा ब्राउन सुगर र चरेसका चारवटा मुद्दा दर्ता भएका छन् । त्यसमा ४० देखि ६० वर्षका दुईजना संलग्न रहेका छन् । प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत अघि बढ्ने गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताउनुभयो । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ब्राउन सुगर र चरेस गरी पाँचवटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा ब्राउन सुगर र चरेस सेवनका घटनामा सातवटा मुद्दा दर्ता भएका छन् ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू लागूऔषधको लतमा फसेको तथ्यांकले देखाएको छ । ब्राउन सुगर जस्ता लागूऔषधको विषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने र लागूऔषध कारोबारीहरूको सञ्जाल तोड्न प्रहरीसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?