आपराधिक घटनामा मानवीय संवेदना

हिमालय टाइम्स
Read Time = 6 mins

आपराधिक घटना बेलाबखतमा हुने गर्छन् र हुँदै आएका छन् । अपराध जात, धर्म, वर्ग, वर्ण, लिंग, आस्था आदिभन्दा परको कुरा हो । यी माथि भनिएका कुराले मात्रा र संख्यामा फरक भने पार्छ नै । पुरुष वर्गबाट महिलामाथि गरिने एउटा जघन्य अपराध हो बलात्कार । महिलाबाट पुरुष बलात्कृत हुने सम्भावना हुँदैन तर यौनजन्य दुरुत्साहन भने हुनसक्छन्/भएका पनि छन् । यिनलाई अपवाद मानिन्छ । नेपालमा यस्ता घटना भएका छन्, कानुनको माग गरेर रिट परेका छन् तर अदालतले यी अपवाद हुन् । अपवादलाई लिएर कानुन बनाउनु आवश्यक छैन भनेर फैसला गरेको छ । कानुन निर्माताले कानुन निर्माण गर्दा विज्ञानसम्मत कुरालाई समेटेका हुन्छन् ।

लोग्ने मानिस माहिलाबाट बलात्कृत हुनेअवस्था आयो भने भयभीत अवस्थामा उसमा उत्तेजना नहुने र उसलाई महिलाले बलात्कार गर्न नसक्ने अवस्था सिर्जना हुन्छ । माथि भनिएझैँ यौनजन्य दुरुत्साहन चाहिँ महिलाबाट पुरुषमाथि पनि हुनसक्छ तर यस अवस्थाको कल्पना गरेर कानुन बनाइएको छैन । हालै एकजना युवतीले सामाजिक सञ्जालमा आफूमाथि बलात्कार भएको सन्दर्भको स्ट्याटस राखेर सबैको ध्यान आकर्षित गरेकी छन् । उनीमाथि सबैको सहानुभूति छ तर यो घटना निकै पुरानो भएका कारण सजाय दिलाउने निकाय असजिलो अवस्थामा छन् । यस विषयमा संघीय संसदमा समेत चर्चा चलेको छ । प्रहरी प्रशासनले पनि चासो राखेको छ, सजाय गर्ने÷गराउने उपायको खोजीमा तिनीहरू छन् ।

ज्यान मारेको लगायत अपराधमा अपराधीको जीउज्यान रहेसम्म उजुरी लाग्ने कानुनी प्रवधान छ तर बलात्कारमा हदम्यादको उल्लेख भएका कारण आठ वर्षअगाडिको यस घटनामा भने सजाय दिलाउन सजिलो छैन । यसमा हदम्याद समाप्त भयो भनेर छोडिदिने हो भने बलात्कारी प्रोत्साहित हुन्छ । यही घटनाको अपराधीलाई सजाय हुनेगरी कानुन संशोधन गर्दा त्यो पश्चातदर्शी कानुन ठहरिन जान्छ । यसरी हेर्दा बलात्कारका घटनामा हदम्याद हटाउनुपर्ने देखिन आउँछ, अहिलेको माग पनि त्यही छ । तर, उता अर्को प्रश्न छ । जुन युवतीले आपूm बलात्कृत भएको आरोप कुनै युवकमाथि लगाइरहेकी छन् उनले किन अहिलेसम्म यो विषय उठाइनन् भन्ने हो । यसबाट ‘मन मिल्दा मिठु मन नमिल्दा मि टु’ भन्ने भनाइ पुष्टि भएको हो कि जस्तो देखिएको छ ।

कुनै–कुनै अपराध त लुकाउनुपर्ने हुन्छ । सोह्र वर्षमा बलात्कृत भएकी युवतीको चौबीस वर्षको उमेरसम्म विवाह भएर छोराछोरीसमेत भइसको हुनसक्छ । यस्तो अवस्थामा बलात्कार भएकै रहेछ भने पनि लुकाउनुपर्ने हुन्छ । त्यसैले न्याय माग्नेले समयमै माग्नुपर्छ भन्ने कानुनी मान्यता हो । यसैगरी न्याय दिने निकायले पनि न्याय छिटो दिनुपर्छ । ‘ढिलो न्याय दिनु न्याय नदिनुसरह हो’ भन्ने कानुनी मान्यता छ । यस्ता मामिलामा अदालतले सकेसम्म छिटो न्याय दिने प्रयत्न गर्छ । पञ्चायत कालमा चार तहका अदालत थिए । न्याय छिटो दिनुपर्छ भन्ने मान्यताले प्रजातन्त्र आएपछि अदालत वा न्यायपालिकालाई तीन तह गरियो । बलात्कार चोरी, डकैती र हत्याभन्दा फरक खालको अपराध हो ।

यो मानवीय संवेदनासँग जोडिएको हुन्छ । अपराधीले अपराध गर्दा सकेसम्म कुनै दसी प्रमाण छोड्दैन लुकाउन खोज्छ तर बलात्कारमा बलात्कृत महिला आफैं दसी प्रमाण हो । ऊ समाजसामु नबोल्ने खालकी रहिछे भने बलात्कारी ढुक्क हुन्छ तर समाजसामु भण्डाफोर गर्छे भन्ने लागेमा बलात्कारीले उसको हत्यासमेत गर्छ । समाजमा यही भइरहेको छ । जे होस् यी पीडित महिलाले न्याय पाउनुपर्छ अपराधीले सजाउय पाउनुपर्छ तर पीडितले ढिलो न्याय मागेका कारण यसमा लुकेको केही रहस्य भए त्यसमाथि राम्ररी खोज अनुसन्धान हुनु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?