संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेसँग काँग्रेसको आग्रह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।

सोमवार बसेको काँग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको बैठक अवरोध भएको भन्दै संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपील गरेको हो । प्रतिपक्षले कुनै विषयमा संसदमा आलोचनात्मक रुपमा प्रश्तुत हुनु स्वभाविक भएपनि लामो समयसम्म सदनमा छलफल हुन नसक्नेगरी संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी भएको काँग्रेसको ठहर छ ।

बैठकले सत्तारुढ दलहरुसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने पनि निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारलाई सदनका प्रति जवाफदेही बनाउनुपर्छ । संसद आफैँ जनताकाप्रति उत्तरदायी हुनुपर्दछ । कुनै विषयमा आफ्ना असहमति व्यक्त गर्न सरकार र समग्र राष्ट्रको ध्यान आकृष्ट गर्न प्रतिपक्षले सदनमा आलोचनात्मक रुपले प्रश्तुत हुनु स्वभाविक हो । तर लामो समयसम्म सदनमा छलफल हुन नसक्नेगरी संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी हो । सदन अवरुद्ध भएका कारण एकातिर जनताका सरोकारका विषय सदनमा उठ्न सकेका छैनन् भने अर्कोतर्फ सदनमा विचाराधिन महत्वपूर्ण विधेयक कानून बन्न सकेका छैनन् । सरकारबाट नयाँ विधेयक प्रश्तुत गर्ने, प्रतिनिधि सभामा विषयगत समितिको नेतृत्व चयन गर्ने कार्य अवरुद्ध छ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक सत्तारुढ दलहरुसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग सम्वादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्णय गर्दछ । संघीय संसद नै निस्क्रिय भएको अवस्थाले संसदीय पद्धती प्रति नै जनतामा वितृष्णा उत्पन्न हुने जोखिम भएको हुँदा लामो समयसम्म संसद अवरोध गर्ने कार्यलाई उचित मान्न सकिँदैन । अतः यो बैठक संसदको प्रमुख प्रतिपक्ष दललाई सदनको अवरोध समाप्त गरी सबै विषयमा सदनमा नै छलफल गर्ने वातावरण सुनिश्चित गर्न अपील गर्दछ ।’

काँग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको बताएको छ । यस्ता गैरकानूनी पूर्ण रुपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भएपनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानूनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ । प्रमुख सचेतक लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हालै अवैध ढंगले पैठारी भइ त्रिभुवन विमानस्थलबाट बाहिर निस्किइ पक्राउ गरिएको एक क्विन्टल सुनको विषयमा यो बैठकको ध्यान गम्भिर रुपले आकृष्ट भएको छ । त्रिभुवन विमानस्थलजस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको छ । यस्ता घटना विगतमा पनि भएका छन् । पटक–पटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको छ । यस्ता गैर कानूनी कार्य निस्तेज गर्न पूर्ण रुपले नियन्त्रण हुनुपर्दछ । निस्तेज एवं पूर्ण रुपले नियन्त्रण हुनुपर्दछ । यस्ता कार्यमा संलग्न जोसुकै भएपनि अनुसन्धान, छानवीनको दायराभित्र ल्याइ कानूनी कारबाही गर्नुपर्दछ । यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानवीन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरो लगायत सरकारी निकायहरुले छानबिन, अनुसन्धान गरिरहेको छ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक नेपाल सरकार यस घटना बारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानवीन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गर्दछ ।’

त्यसैगरी संसदमा विचाराधिन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न काँग्रेसले सरकार र संसदमा क्रियाशिल सबै दलहरुलाई अपील गरेको छ । संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने सम्बन्धी विधेयक ल्याउन पनि सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसले संसदभित्र विधायनको काममा दत्तचित्त भई प्रभावकारी रुपले लाग्ने निर्णय गरेको लेखकले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘संघीय संसदमा धेरै महत्वपूर्ण विधेयकहरु विचाराधिन छन् । संक्रमणकालिन न्याय सम्बन्धी विधेयक, सम्पती शुद्धीकरण सम्बन्धि विधेयक, भ्रष्टाचार नियन्त्रण गर्ने विषयसँग सम्बन्धित विधेयक लगायत तमाम विधेयक चाँडै पारित गर्नुपर्ने छ । संसदको दुईवटा अधिवेशनबाट हालसम्म न्युन संख्यामा विधेयक पारित भएका छन् । संसदमा विचाराधिन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न यो बैठक सरकार र संसदमा क्रियाशिल सबै दलहरुलाई हार्दिक अपील गर्दछ । सरकारले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने सम्बन्धी विधेयक ल्याउनुपर्दछ । नेपाली काँग्रेस संसदभित्र विधायनको काममा दत्तचित्त भई प्रभावकारी रुपले लाग्ने निर्णय गर्दछ ।’

काँग्रेस संसदीय दलको बैठकले आ.व. २०८०÷८१ को बजेटमा भएका कमी, कमजोरीहरुलाई सुधार गर्दै चालु आ.व.को बजेटलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध गरेको छ । काँग्रेसले संघीय संसदलाई प्रभावकारी बनाएर निरन्तर काम गरिरहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

प्रमुख सचेतक लेखकले भन्नुभयो – ‘आ.व. २०८०÷८१ को बजेट पारित भइसकेको छ । बजेटमा देखा परेको कमी, कमजोरीलाई आगामी दिनमा सुधार गर्ने आवश्यक व्यवस्था मिलाउन पुँजीगत खर्च कम हुने अवस्थालाई उचित ढंगले सम्बोधन गर्न र चालु आ.व.को बजेटलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न यो बैठक सरकारलाई अनुरोध गर्दछ । संसद नेपाली जनताको सार्वभौम र शिर्षस्थ संस्था हो । कानून निर्माण गर्ने, सरकारका काम, कारबाहीमा निरन्तर अनुगमन र निगरानी गरी सरकारलाई सदनकाप्रति जवाफदेही बनाउने, देश र जनताका महत्वपूर्ण एवं समसामयिक विषयमा छलफल गरी राष्ट्र र जनताको सर्वोत्तम हीतमा काम गर्नु संसदको मुख्य काम हो । तसर्थ संसद जति क्रियाशील र प्रभावकारी हुनसक्यो त्यति नै देश र जनताका हीतमा काम हुनसक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफलिभुत हुने भएको हुँदा संसदलाई पूर्ण रुपले प्रभावकारी बनाउनु पर्दछ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक संघीय संसदलाई प्रभावकारी बनाएर निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गर्दछ ।’

काँग्रेस प्रमुख सचेतक लेखकले वर्तमान सत्तारुढ गठबन्धन नेपाली काँग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको बताउनु भयो । उहाँले अहिलेको सन्दर्भमा गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपमा काम गर्न आवश्यक रहेको बताउनु भयो । बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारमा सहभागी दलहरुको गठबन्धन नेपाली काँग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको हो । सोही अनुसार वर्तमान सरकारले निरन्तरता पाएको छ । राष्ट्रको सर्वोत्तम हीतका लागि राजनीतिक स्थिरता आवश्यक छ । गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपमा काम गर्न आवश्यक छ । तसर्थ नेपाली काँग्रेस संसदीय दलको यो बैठक गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गर्दछ ।’

त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले उपभोग्य वस्तुको मूल्यवृद्धि र कालाबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सबै प्रकारका घटनाहरुको स्वतन्त्र रुपमा छानबिन गर्न सरकारसँग माग गरेको छ भने भ्रष्टाचार, अनियमितता र बेथितिको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारलाई अनुरोध गरेको छ । लेखकले सरकारी निकायले दिने सेवा प्रवाह छिटो, छरितो हुनुपर्ने, जग्गाको कित्ताकाटमा देखिएको समस्याको समाधान गर्नुपर्ने लगायत अन्य विभिन्न जनसरोकारका विषयमा पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?