दाङका तीनवटा गाउँपालिकाले पाए नदीजन्य पदार्थ उत्खनन्को अनुमति

विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । दाङका तीनवटा गाउँपालिकाले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राभेल उत्खनन्को अनुमति पाएका छन् । वातावरण प्रभाव मूल्यांकन भएका गढवा, राप्ती र राजपुर गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन्को अनुमति पाएका हुन् । गाउँपालिकाले वातावरण प्रभाव मूल्यांकन गरेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिमा सिफारिस गरेका तीनवटा गाउँपालिकालाई अनुमति मिलेको छ । राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिले गढवा, राप्ती र राजपुर गाउँपालिकालाई अनुमति दिएको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।

जिल्ला समन्वय समिति दाङमा वातावरण प्रभाव मूल्यांकन भएर फाइल आएका तीनैवटा पालिकाले अनुमति पाइसकेको जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले जानकारी दिनुभएको छ । ‘तीनवटा पालिकाबाट आइइइ भएर आएको हो । तीनैवटाले चुरेबाट पनि अनुमति पाए,’ उहाले भन्नुभयो, ‘अन्य पालिकाबाट फाइल आएको छैन ।’ स्थानीय तहले वातावरण प्रभाव मूल्यांकन गरेपछि जिल्ला समन्वय समितिले अनुगमन गर्ने र अनुगमनमा नियमसंगत देखेपछि राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिलाई सिफारिस गर्ने प्रावधान छ । राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिले अनुगमन गरेर अनुमति दिएपछि मात्रै ठेक्का टेण्डरमा जाने प्रक्रिया रहेको बताइएको छ ।
राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिले अनुमति दिएको विवरण हेर्दा राजपुर, राप्ती र गढवा गाउँपालिकामा पाँच लाख ३७ हजार ६३३ दशमलब पाँच घनमिटर उत्खनन्को अनुमति छ । जसमा सबैभन्दा धेरै गढवा गाउँपालिकामा तीन लाख ५२ हजार ४२१, त्यसपछि राजपुर गाउँपालिकामा एक लाख तीन हजार ७९४ र राप्ती गाउँपालिकामा ८१ हजार ४१८ घनमिटर नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राभेल उत्खनन्को अनुमति दिइएको छ । नदीजन्य पदार्थ उत्खनन्का लागि २०७७ साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ जारी गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश वित्त व्यवस्थापन ऐन २०७५ को दफा ९९० र प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी ऐन २०७५ को दफा १५ को उपदफा ९५० ले दिएको अधिकार प्रयोग गरी नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ जारी गरेको छ ।

कहाँ कति उत्खनन् ?

जिल्ला समन्वय समिति दाङले दिएको जानकारीअनुसार देउखुरीको राजपुर गाउँपालिकाभित्र एक लाख तीन हजार ७९४ घनमिटर नदीजन्य पदार्थ (ढुंगा, बालुवा, ग्राभेल) उत्खनन्को अनुमति दिइएको छ । जसअनुसार राप्ती नदीको असानी, फोहोरा र खरदरियाबाट निश्चित क्षेत्र तोकेर बढीमा ९० सेन्टिमिटर गहिराइसम्म खन्न मिल्ने गरी ३४ हजार ६६८ घनमिटर ग्राभेल र बालुवा उत्खनन्को अनुमति दिइएको छ । मरारीखोला, मुग्रेठा खोला, गंगदी खोला र झुर्रा खोलाबाट निश्चित क्षेत्र तोकेर २१ हजार घनमिटर ६० सेन्टिमिटरदेखि ९० सेन्टिमिटर गहिराइसम्म उत्खनन्को अनुमति दिइएको छ । त्यसैगरी गुरुङ खोलाको उपल्लो र तल्लो घाट, हरही खोला र राप्ती नदीको निश्चित क्षेत्र तोकेर ६० देखि ९० सेन्टिमिटर गहिराइसम्म खन्न मिल्ने गरी ४८ हजार ९२६ घनमिटर ढुंगा, बालुवा, ग्राभेल उत्खनन्को अनुमति दिइएको छ ।

त्यसैगरी राप्ती गाउँपालिकाभित्र राप्ती नदीमा ८१ हजार ४१८ दशमलब पाँच घनमिटर नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्को अनुमति दिइएको छ । जसअनुसार राप्ती नदीको तीन सिमाना बगर क्षेत्रबाट १५ हजार १२०, कठाहाघाट बगर क्षेत्रबाट १८ हजार ७३८ खुरुरियाघाट बगर क्षेत्रबाट ११ हजार ८२६, बगरापुर घाट बगर क्षेत्रबाट पाँच हजार १९७ दशमलब पाँच घनमिटर बढीमा एक मिटर गहिराइसम्म खन्न पाउने गरी निश्चित स्थान तोकेर अनुमति दिइएको छ । वसन्तपुरघाट बगर क्षेत्रबाट निश्चित ठाउँ तोकेर बढीमा ८० सेन्टिमिटर गहिराइसम्म उत्खनन् गर्न मिल्ने गरी ३० हजार ६१८ घनमिटरको अनुमति दिइएको छ ।

त्यस्तै, सबैभन्दा बढी उत्खनन् गर्ने अनुमति पाएको गढवा गाउँपालिकाभित्र राप्ती नदी र रङसिङ खोलामा गरी जम्मा तीन लाख ५२ हजार ४२१ घनमिटर नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन्को अनुमति दिइएको छ । जसमा राप्ती नदी क्षेत्रबाट तीन लाख २२ हजार ४२१ र रङसिङ खोलाबाट ३० हजार घनमिटर उत्खनन्को अनुमति दिइएको छ । गढवामा राप्ती नदीबाट रतनपुर बगर क्षेत्रबाट बढीमा ९० सेन्टिमिटर गहिराइसम्म उत्खनन् गर्न पाउने गरी निश्चित क्षेत्र तोकेर १७ हजार ४४२ घनमिटर उत्खनन्को अनुमति दिइएको छ ।

खडकपुर बगर क्षेत्र १ मा ८० सेन्टिमिटर गहिराइसम्म खन्न पाउने गरी निश्चित क्षेत्र तोकेर १० हजार एक सय आठ र खडकपुर बगर क्षेत्र २ बाट ९० सेन्टिमिटर गहिराइसम्म उत्खनन् गर्न पाउने गरी ६ हजार २७७ घनमिटरको उत्खनन् अनुमति दिइएको छ । धरमपुरघाट बगर क्षेत्रलाई चार तहमा बाँडेर निश्चित क्षेत्र तोकी ९५ सेन्टिमिटर गहिराइसम्म एकमा ११ हजार ७९९, दुईमा नौ हजार ७९८, तीनमा एक मिटर गहिराइसम्म उत्खनन् गर्न पाउने गरी निश्चित क्षेत्र तोकेर चार हजार ९७६ र चारमा ९० सेन्टिमिटर गहिराइसम्म उत्खनन् गर्न पाउने गरी ६ हजार ५२८ घनमिटर उत्खनन्को अनुमति दिइएको छ । झारबैरा घाटको बगर क्षेत्र १ मा आठ हजार १६० र बगर क्षेत्र दुईमा चार हजार पाँच सय घनमिटर बढीमा ८५ सेन्टिमिटर गहिराइसम्म उत्खनन् गर्न मिल्ने गरी अनुमति दिइएको छ ।

त्यसैगरी रङसिङ राप्ती दोभानदेखि मलमला घाटसम्म ७० सेन्टिमिटर गहिराइसम्म उत्खनन् गर्न पाउने गरी ५७ हजार ४५६ घनमिटर, मलमला घाटदेखि बनघुस्री घाटसम्म ६५ सेन्टिमिटर गहिराइसम्म खन्न पाउने गरी ४१ हजार ३९४ घनमिटर, माथिल्लो बडहरादेखि तल्लो बडहरासम्म ८० सेन्टिमिटर गहिराइसम्म उत्खनन् गर्न पाउने गरी ५३ हजार ३५८ घनमिटर, पत्रिंगादेखि जेठानगाउँसम्म ७० सेन्टिमिटर गहिराइसम्म पाउने गरी ३६ हजार ६५० र पचहियादेखि महदेवा पुल माथिसम्म ६५ सेन्टिमिटर गहिराइसम्म खन्न पाउने गरी ५४ हजार ५४ घनमिटर उत्खनन्को अनुमति दिइएको छ । रङसिङ खोलामा निश्चित क्षेत्र तोकेर ८० सेन्टिमिटर गहिराइसम्म उत्खनन् गर्न पाउने गरी ३० हजार घनमिटर उत्खनन्को अनुमति दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?